ग्राइन्डिङ युनिट मात्रै भएका सिमेन्ट उद्योग धमाधम बन्द हुन थाले, १० अर्ब रुपैयाँ लगानी जोखिममा

बिजमाण्डू
२०७८ मंसिर १४ गते १२:१८ | Nov 30, 2021
ग्राइन्डिङ युनिट मात्रै भएका सिमेन्ट उद्योग धमाधम बन्द हुन थाले, १० अर्ब रुपैयाँ लगानी जोखिममा


वीरगंज। वीरगंज-पथलैया औद्योगिक करिडोरका सिमेन्ट उद्योगहरु बन्द हुन थालेका छन्। वीरगंज-कलैया सडकखण्डमा रहेको कृष्णा सिमेन्ट तीन वर्षअघिदेखि बन्द छ।

Tata
GBIME
Nepal Life

क्याल समूहको छातापिपराको स्टार सिमेन्ट, क्लिंकर उत्पादन गर्ने पुरानो प्रविधिको शालिमार समूहको यूनिटेक सिमेन्ट पनि बन्द छ।ग्राइन्डिङ युनिट मात्रै भएका सिमेन्ट उद्योग धमाधम बन्द हुन थालेका हुन्। अरु उद्योगसँग क्लिंकर किनेर सिमेन्ट उत्पादन गर्दा प्रतिस्पर्धा गर्न नसकेर ती उद्योग बन्द भएका हुन्।

'अहिले क्लिंकरसहितका ठूला सिमेन्ट उद्योग धेरै आइसके। ती उद्योगबाट उत्पादित सिमेन्ट बजारमा सहजै सस्तोमा पाइन्छ,' एक सिमेन्ट उद्योगका संचालकले भने, 'ग्राइन्डिङ मात्रै भएका उद्योगको भविष्य सकियो। ती उद्योगले बजार पाउन पनि कठिन छ।'

ती उद्योगीका अनुसार उत्पादित सिमेन्ट बिक्री हुन छाडेपछि उद्योग संचालन गरेर थप नोक्सानीमा जाने भएकाले बन्द गर्नु उत्तम विकल्प हो। पछिल्लो पाँच वर्षको अवधिमा क्लिंकरसहितका ठूला लगानीका सिमेन्ट उद्योगले बजारमा एकछत्र राज गरिरहेका छन्।

 चिनियाँ संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सौर्य सिमेन्ट, घोराही सिमेन्टले साना ग्राइन्डिङ उद्योगको बजार खोसिदिइसकेका छन्। क्लिंकरसहितका उद्योगले ग्राइन्डिङ भन्दा बोरामै सय रुपैयाँभन्दा सस्तोमा सिमेन्ट बजारमा बिक्री गरिरहेका छन्।

ग्राइन्डिङ मात्रै भएका सिमेन्ट उद्योगले त्यही ठूला उद्योगबाट क्लिंकर किनिरहेका छन्। वीरगंज करिडोरमा रहेका १३ वटा सिमेन्ट उद्योगमध्ये केही बन्द भइसकेका छन् भने केही आंशिक रूपमा चलिरहेका छन्। संचालनमा रहेका उद्योगको पनि क्लिंकरसहितको अर्को उद्योग रहेकाले चलिरहेका हुन्।

ती उद्योगीका अनुसार वीरगंज ‍करिडोरमा रहेका ग्राइन्डिङ युनिट भएका उद्योगको १० अर्ब लगानी जोखिममा परेको छ। ती उद्योगमा ५० करोडदेखि एक अर्ब लगानी छ। देशभर ग्राइन्डिङ युनिट मात्रै भएका उद्योग ३० वटा छन्।

चलेका पनि ६० प्रतिशत मात्रै उत्पादन

शुभश्री जगदम्बा सिमेन्ट मात्रै उत्पादन क्षमताको ६० प्रतिशत क्षमतामा उत्पादन गरिहेको छ। शुभश्री जगदम्बा सिमेन्टको वीरगंज करिडोरको छातापिपराको उद्योगको क्षमता प्रतिदिन २७ सय टन र भैरहवाको उद्योगको दैनिक क्षमता १७ सय टन अर्थात ४४ सय टन कुल क्षमता रहेको छ।

यो दुवै युनिटबाट दैनिक २६ सय ४० टन मात्रै सिमेन्ट उत्पादन भएको छ। यो उद्योगमा न्यौपाने समूहको लगानी छ। समूहको लगानीमा क्लिंकरसहितको सर्वोत्तम सिमेन्ट पनि छ।

उद्योगका अपरेशनका भाइस प्रेसिडेन्ट सन्तोष सिंहका अनुसार नेपालमा खपत हुने अनुपातमा धेरै सिमेन्ट उद्योग सञ्चालनमा आएपछि प्रतिस्पर्धा बढदै गएको छ। नेपालमा वार्षिक १ करोड २० लाख टन बजार रहेकोमा दुई करोड टन सिमेन्ट उत्पादन गर्ने उद्योगलाई अनुमति दिएकाले समस्या भएको उनले बताए। ग्राइन्डिङ युनिट मात्रै भएका उद्योग समस्यामा पर्न थालेको उनको भणाइ छ।

वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं शालिमार समूहका अध्यक्ष अशोक वैद्यले अस्वस्थ प्रतिस्पर्धाका कारण वीरगंज कोरिडोरको सिमेन्ट उद्योगको लगानी संकटमा परेको बताए। उनले शालिमार समूहको क्लिंकर उत्पादन गर्ने यूनिटेक सिमेन्ट केही वर्ष अघिदेखि बन्द गरिसकेको र शालिमार सिमेन्ट पनि कम क्षमतामा मात्र चलिरहेको बताए।

उनले ठूलो लगानीमा क्लिंकर युनिटसहितको विशाल उद्योग आएपछि ग्राइन्डिङ मात्रै भएको उद्योग संकटमा परहेको बताए। ‘हामीले क्लिंकर खरिद गरी सिमेन्ट बनाउनु पर्छ। उनीहरुले आफैं क्लिंकर र सिमेन्ट उत्पादन गर्छन्,’ उनले भने, ‘जसले गर्दा साना उद्योगको सिमेन्टको दाम बोरामा ३० रुपैयाँदेखि ४० रुपैयाँ महँगो पर्छ। ग्राइण्डिङ युनिटको सिमेन्ट उद्योगको लागत खर्च बढी तर उत्पादन कम हुन्छ।'

तर ठूलो उद्योगले भर्टिकल रोलिङ मिल्स(भीआरएम) प्रविधिबाट कम लागतमा बढी सिमेन्ट उत्पादन गर्ने भएकाले ग्राइन्डिङ युनिटले प्रतिस्पर्धा गर्न नसकेको बताए। वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले आफूसँग क्लिंकर नहुने उद्योगले टिक्न कठिन रहेको बताए।

वीरगंजमा रहेका अरु उद्योग आरएमसी सिमेन्ट, एडभान्स, शालिमार सिमेन्ट, विश्वकर्मा सिमेन्ट पनि आंशिकरूपमा मात्रै सञ्चालनमा छन्। त्यसैगरी कलश, ओम इन्टरनेशनल, अम्बे, नारायणी, रिलायन्स पनि क्षमताको ५० प्रतिशत मात्रै सञ्चालनमा छन्।