सीआरआर कायम गर्ने पैसा नभएपछि बैंकहरुले राष्ट्र बैंकसँग सापटी लिँदै, फेरि बढ्न थाल्यो एसएलएफ



२०७८ मंसिर २ गते १७:२१

काठमाडौं। नयाँ ब्याज दर लागू भएका दिन बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग लिने स्थायी तरलता सुविधा (एसएलएफ) आधाले घटाएको भोलिपल्ट अर्थात बिहीबार पुनः बढाएका छन्। बैंक तथा वित्तीय संस्थाहरुको नयाँ ब्याज दर बुधबारबाट लागू भएको हो।

Tata
GBIME

बुधबार १९ अर्ब सात करोड एसएलएफ चलाएका बैंक तथा वित्तीय संस्थाले बिहीबार ३१ अर्ब एक करोड ३५ लाख रुपैयाँ चलाएका हुन्।

पाँच दिनयता एसएलएफ सापटी घट्दै गए पनि बिहीबार पुन: बढेको हो। यद्यपि पाँच दिनअघिको अवस्थामा भने पुगेको छैन। आइतबार ४८ अर्ब १५ करोड उठाएको वित्तीय क्षेत्रले सोमबार ४० अर्ब ६८ करोड लिएको थियो। मंगलबार ३५ अर्ब ९९ करोड लिएको थियो भने बुधबार १९ अर्ब सात करोडमा झरेको थियो।

सात दिन अवधिको एसएलएफको ब्याज दर ५ प्रतिशत हुन्छ। अन्तर बैंकमा समेत सापटी पाउन छाडेपछि बैंकहरुले एसएलएफ लिन्छन्। अन्तर-बैंकमा भन्दा एसएलएफको ब्याज माथि हुन्छ।

बैंकहरुले अनिवार्य तरलता अनुपात कायम गर्न एसएलएफ लिएका हुन। कुल निक्षेपको ३ प्रतिशत राष्ट्र बैंकमा अनिवार्य तरलता अनुपातका रूपमा राख्नु पर्छ। बैंकहरुले आएजति निक्षेप ऋण दिने हुँदा यो अनुपात कायम गर्न सकिरहेका छैनन्। त्यसो हुँदा राष्ट्र बैंकसँग ५ प्रतिशतमा ऋण लिएर सित्तैमा राष्ट्र बैंकमा सीआरआर बापत राख्न थालेका हुन्।


Sunrise Bank