सेयर बजारको अपवार्ड ट्रेन्डमा ब्रेक, सूचक ३२ अंकले घट्दा कारोबार पनि एक अर्बबढीले खुम्चियो

२०७८ मंसिर २ गते १५:३४
सेयर बजारको अपवार्ड ट्रेन्डमा ब्रेक, सूचक ३२ अंकले घट्दा कारोबार पनि एक अर्बबढीले खुम्चियो


काठमाडौं। लगातार तीन दिन उकालो लाग्दै २८०१ विन्दुसम्म पुगेको सेयर बजार बिहीबार चौथो दिनमा करिब ३२ अंकले घटेको छ। यससँगै बजार सूचक नेप्से २७६९ विन्दुमा आइपुगेको छ।

Tata
GBIME

यसअघि पछिल्लो सात कारोबार दिनमा सुरुका चार दिन १८० अंकले खुम्चिएको सेयर बजारमा तीन कारोबार दिन बजार हरियो बन्दा ११२ अंकले सुधार आएको थियो। 

बिहीबार सूचकमा ३२ अंकको संकुचन आउँदा कारोबार रकम पनि सवा एक अर्बभन्दा धेरैले खुम्चिएको छ। १७ अंकले बजार बढेको बुधबार सात अर्ब ३८ करोड रुपैयाँ हाराहारीको सेयर किनबेच भएको थियो। बिहीबार भने ६ अर्ब २७ करोड १८ लाखभन्दा थोरै बढीको मात्र कारोबार भएको हो।

१.१६ प्रतिशतले बजार घट्दा १६० कम्पनीको सेयरका लगानीकर्ताले बुधबारको तुलनामा नेटवर्थ गुमाएका छन्। २२ कम्पनीका लगानीकर्ताले मात्र कमाएका हुन्। यस क्रममा मानुसी लघुवित्त र तेह्रथुम पावरको मात्र सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। यद्पि, अधिकांश कम्पनी सेयर मूल्य घट्दा समेत कुनै पनि कम्पनीको सेयर मूल्य ५.०३% भन्दा धेरैले तल ओर्लिएन, जबकि बुधबार झन्डै साढे ७ प्रतिशत हाराहारीसम्म मूल्य घटेको थियो। आज पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। 

यीबाहेक म्युचुअल फन्ड र ऋणपत्रहरुको एकाइ समेत गरी कुल २२४ कम्पनीको स्क्रिपको बिहीबार कारोबार भएको हो। सेयर खरिद बिक्री भने ७० हजार ३७ वटा करोबारबाट ९८ लाख ६३ हजार कित्ता हाराहारी भएको छ। कारोबार संख्या र किनबेच भएको सेयर कित्ता समेत दुवै बुधबारको भन्दा आज कम भएको हो।


Sunrise Bank