४१ अर्बको बजेट रोकिँदा उड्डयन आयोजनाहरु प्रभावित, पटक पटक बैठक तर जुटेन संशोधनमा सहमति

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ कात्तिक २६ गते १६:५३ | Nov 12, 2021
४१ अर्बको बजेट रोकिँदा उड्डयन आयोजनाहरु प्रभावित, पटक पटक बैठक तर जुटेन संशोधनमा सहमति

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ५ जनाको सानो मन्त्रिपरिषद् बनाउँदासम्म नागरिक उड्डयन प्राधिकरण(क्यान) विभागीय मन्त्री नियुक्तिको पर्खाइमा थियो। मन्त्रालयको नेतृत्व प्रेमबहादुर आलेले पाएको पनि एक महिना बित्यो। अब भने क्यानका अधिकारीहरुको छटपटी बढेको छ।

Tata
GBIME
Nepal Life

तीन महिनादेखि बजेट पास नहुँदा नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत रहेका विभिन्न कामहरु प्रभावित भएका छन्। कर्मचारीको पारिश्रमिकदेखि निर्माणाधीन आयोजनाका क्षमता विस्तारका कामहरु प्रभावित भएको प्राधिकरण स्रोतले जनाएको छ।

साउनदेखि वृद्धि भएको कर्मचारी पारिश्रमिकको व्यवस्थापनदेखि हाल निर्माणाधीन आयोजनाले उल्लेख्य रूपमा गति लिन नसकेको एक उच्च पदाधिकारीले बताए। 'बढेको तलब पास हुन सकेको छैन। साउनदेखि अवकाश हुने कर्मचारीले पनि त्यो सुविधा नपाएको अवस्था छ। समयमा बजेट पास नभएकै कारण नयाँ कामका लागि टेण्डर गर्न पनि पाइएको छैन,' उनले भने।

छिटो पूरा गर्ने लक्ष्य निर्धारण गरिएका आयोजनाहरु बजेट अभावकै कारण प्रभावित भएको उनले बताए। 'यही वर्ष सक्ने योजना रहेको कार्यक्रम सम्पन्न हुन अर्को वर्ष लाग्ने भएको छ। एक त सबै पुराना योजना बाँकी छन्। पुराना योजनाको पनि पैसा दिन सकिएको छैन,' उनले भने।

बजेट पास नभएकै कारण ठूला आयोजनाहरुको हिसाब फरफारक ढिला हुने भएको छ। बजेट पास नहुँदा सिनामंगलमा निर्माणाधीन प्राधिकरणको आफ्नै भवन निर्माता कम्पनीलाई दिनुपर्ने करिब १० करोड रुपैयाँ १० प्रतिशत पेनाल्टी गाभिएको उनले बताए। सानो ठिमीस्थित  तालिम केन्द्र क्षमता विस्तारको कामलाई थप एक वर्ष लाग्ने उनको प्रक्षेपण छ। 'बजेट नआइ टेण्डर निकाल्न पाइएन। त्यसो हुँदा यो काम पनि सम्पन्न हुन अर्को वर्ष सम्म लाग्ने देखिएको छ,' उनले भने।

उनका अनुसार प्राधिकरणको करिब ४१ अर्ब रुपैयाँ बराबरको बजेट पास हुन बाँकी छ। ११ सय जनाको दरबन्दी रहेको प्राधिकरणमा नौ सय जना कर्मचारी कार्यरत छन्। चालु वर्ष करिब ३० जना कर्मचारीको अवकाश हुँदैछ। सेवानिवृत्त पाँच कर्मचारीको पेन्सन र उपदानको हिसाब गर्न पनि बजेट रोकिएकाले थाती रहेको उनले बताए। 

बजेट पासका लागि प्राधिकरणको संचालक समितिले यस अघि पाँचवटा बैठक गरिसकेको छ। प्रत्येक बैठकमा बजेटका योजनामा खर्चलाई लिएर संशोधनको सवाल उठेका छन्। तर संशोधन गराउनुको साटो पदाधिकारीहरु पहिल्यै बनाइएको बजेट नै पारित गराउने पक्षमा हुँदा मतमतान्तर हुँदै बैठक निष्कर्षविहीन हुने गरेको छ। त्यसैले बैठक बसे पनि संशोधन र परिमार्जन गर्ने भन्दाभन्दै अहिलेसम्म पास हुन नसकेको उनले बताए।

आले विभागीय मन्त्री नियुक्त भएसँगै यतिखेर धनगढी, डोटी, डडेलधुरा, महेन्द्रनगर, रुकुम लगायतका विमानस्थल विस्तार गर्ने योजना छ। तर बजेट पास नभएकाले क्यानका अधिकारीहरु चुपचाप छन्।