महाकालीमा बनिरहेको चार लेन पुलको डिजाइन बदलिँदै, ढुंगा अभाव भएपछि डिजाइन नै फेरियो

बिजमाण्डू
२०७८ कात्तिक २४ गते ११:४३ | Nov 10, 2021

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ ।

Tata
GBIME
Nepal Life

पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो ।

पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुंगाको बाँध लगाउने भनिएको थियो। स्थानीयले ढुंगा व्यवस्थापनमा विरोध गरेका कारण सट्टामा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए।

सबइञ्जिनियर अवस्थीले भने- ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौं, अब परिवर्तन भएर आएपछि मात्रै पुलको कामहरु अघि बढ्नेछ।’

निर्माणको जिम्मा पाएको कुमार सीएफइसी जेभीले भने ढुंगा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षति गरेको जनाएको छ। कम्पनीले भनेको समयमा ढुंगा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुंगा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सीएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले बताए।

इञ्जिनियर पाण्डेयले भने, ‘कम्पनीले भनेको समयमा ढुंगा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुंगा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ। हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौं, त्यो भएन भने ५/७ महिना लाग्न सक्छ, यदि समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्न सक्छ।’

निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुंगा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुंगा आवश्यक पर्छन्।

आयोजनाकाअनुसार निर्माणस्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुंगा संकलन गर्ने भन्ने भएपनि स्थानीयको विरोधका बीच ढुंगा व्यवस्थापन गर्न नसकिएको हो।

बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति गरेको छ। २०७४ मा ३ अर्ब २७ करोड ठेक्का सम्झौता निर्माण शुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो।