भदौमा थपिए ४० हजार बढी फाइबर इन्टरनेट ग्राहक, शीर्ष ५ आइएसपीहरुले नै थपे झण्डै ३४ हजार



२०७८ कात्तिक १९ गते १२:१५
भदौमा थपिए ४० हजार बढी फाइबर इन्टरनेट ग्राहक, शीर्ष ५ आइएसपीहरुले नै थपे झण्डै ३४ हजार


काठमाडौं। एकैमहिना नेपालभर फाइबर इन्टरनेट ग्राहक ४० हजारभन्दा बढी थपिएका छन्। नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार साउनमा १४ लाख ९४ हजार ९३८ फाइबर इन्टरनेट प्रयोगकर्ता रहेकोमा भदौमा ४० हजारले बढेर १५ लाख ३४ हजार ९६० पुगेको छ। शीर्ष पाँच इन्टरनेट सेवा प्रदायकहरुले ३३ हजार ७२५ फाइबर इन्टरनेट ग्राहक थप्न सफल भएका छन्। 

Tata
GBIME

उक्त अवधिमा सबैभन्दा धेरै फाइबर इन्टरनेट प्रयोगकर्ता थप्नेमा वर्ल्डलिंक रहेको छ। साउनमा पाँच लाख २९ हजार २५१ रहेको फाइबर इन्टरनेट प्रयोगकर्ता भदौमा १२ हजार ३१९ ले बढेर पाँच लाख ४१ हजार ५७० पुगेको प्राधिकरणले जनाएको छ। 

वर्ल्डलिंक पछि धेरै फाइबर इन्टरनेट ग्राहक थप्नेमा सुबिसु छ। साउनमा एक लाख ९३ हजार ७२५ फाइबर इन्टरनेट रहेको सुबिसुले भदौमा आठ हजार ४६७ ग्राहक थपेर दुई लाख दुई हजार १९२ पुर्‍याएको प्राधिकरणले जनाएको छ।

तेस्रो बढी फाइबर इन्टरनेट ग्राहक थप्नेमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ। साउनमा एक लाख ३१ हजार ५३२ फाइबर इन्टरनेट ग्राहक रहेको टेलिकमले भदौमा आठ हजार ९३ ग्राहक थपेर एक लाख ३९ हजार ६२५ पुर्‍याएको छ। त्यसैगरी, टेलिकम पछि फाइबर इन्टरनेट ग्राहक थप्नेमा भायनेट छ। 

भायनेटसँग साउनमा एक लाख ५६ हजार ९५३ फाइबर इन्टरनेट ग्राहक रहेकोमा भदौमा तीन हजार ६५४ थपेर एक लाख ६० हजार ६०७ पुर्‍याएको प्राधिकरणले जनाएको छ। भायनेटपछि क्लासिक टेकले भदौमा एक हजार १९२ फाइबर इन्टरनेट ग्राहक थपेको छ। 

साउनमा क्लासिक टेकसँग एक लाख ५८ हजार १६७ फाइबर इन्टरनेट ग्राहक थिए। भदौमा क्लासिक टेकसँग एक लाख ५९ हजार ३५९ फाइबर इन्टरनेट ग्राहक पुगेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ४४ वटा कम्पनीहरुले वायरलेस, केबल र फाइबर इन्टरनेट सेवा दिइरहेका छन्। साउनमा ४३ हजार २८६ वायरलेस इन्टरनेट प्रयोगकर्ता रहेकोमा भदौमा घटेर ४२ हजार ९२० पुगेको प्राधिकरणले जनाएको छ। 

वायरलेस इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी नेपाल टेलिकमकै छ। भदौमा टेलिकमको वायरलेस इन्टरनेट ग्राहक १८ हजार ५६३ रहेका छन्। सुबिसुसँग पनि १० हजार ५१५ वायरलेस इन्टरनेट प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी, केबल इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने गिरावट आएको छ। साउनमा एक लाख ७३ हजार २२१ केबल इन्टरनेट प्रयोगकर्ता रहेको देशैभरी भदौमा आठ हजार ४०१ ले घटेर एक लाख ६४ हजार ८२० पुगेको प्राधिकरणले जनाएको छ। 

केबल इन्टरनेटमा ठूलो ग्राहक हिस्सा पनि टेलिकमसँगै छ। टेलिकमले गत भदौसम्म एक लाख ३५ हजार ५७५ ग्राहकहरुलाई केबल इन्टरनेट सेवा दिइरहेको प्राधिकरणले जनाएको छ। साउनमा टेलिकमसँग एक लाख ४२ हजार १३९ केबल इन्टरनेट ग्राहक थिए। यस्तै, सुबिसुसँग साउनमा २३ हजार ६०७ केबल इन्टरनेट ग्राहक रहेकोमा भदौमा घटेर २१ हजार ६१५ पुगेको छ। 

पछिल्लो समय केबल इन्टरनेट प्रयोगकर्ताहरु फाइबर इन्टरनेट तर्फ आकर्षित भइरहेकाले केबल इन्टरनेट ग्राहकहरुको संख्या निरन्तर घट्दै गएको देखिन्छ। 

केबल तथा फाइबर तार नपुगेका वा भौगोलिक रुपमा विकट क्षेत्रहरुमा अझै पनि प्रयोगकर्ताहरुले वायरलेट इन्टरनेट प्रयोग गरिरहेकाले त्यसको औचित्य कायमै रहेको प्राधिकरणले जनाएको छ। पछिल्लो समय आएका इन्टरनेट सेवा प्रदायकहरुले वायरलेस र केबल इन्टरनेटलाई फेज आउट गर्दै फाइबर इन्टरनेटमा मात्रै केन्द्रित भएर सेवा सुरु गरिरहेका छन्। 

साउनमा वायरलेस, केबल र फाइबर प्रयोगकर्ताको संख्या १७ लाख ११ हजार ४४५ रहेकोमा भदौमा बढेर १७ लाख ४२ हजार ७०० पुगेको प्राधिकरणले जनाएको छ।


Sunrise Bank