बदनाम मात्रै छैनन् स्थानीय सरकार, लम्कीचुहा नगरपालिकाको सबै वडाका मुख्य सडक कालोपत्रे

बिजमाण्डू
२०७८ कात्तिक ६ गते १३:४६ | Oct 23, 2021

काठमाडौं। पछिल्लो समय भ्रष्टाचार र फजुल खर्चका कारण स्थानीय सरकारको चौतर्फी आलोचना मात्रै भएको सुनिन्छ। तर कुनै स्थानीय सरकारले भने लोभलाग्दो काम गरेर पनि देखाएका छन्।

Tata
GBIME
Nepal Life

राम्रो काम गर्ने सीमित स्थानीय तह मध्ये एक हो कैलालीको लम्कीचुहा नगरपालिका। पूर्वी कैलालीको प्रतिनिधित्व गर्ने यस नगरपालिकाका मेयर हुन् महादेव बजगाईं।

बजागाइँ अहिले कैलालीका लागि उदाहरणीय प्रतिनिधि बनेका छन्। यो नगरले पहिलो वर्षदेखिनै योजनाबद्ध रुपमा काम सुरु गरेको थियो। हरेक वर्ष ५/७ किलोमिटरका दरले स्थानीय सडक पिच गर्ने योजना बनाएर काम गर्दा लगभग सबै वडाका मुख्य सडकहरु गरेर ४० किलोमिटर सडक पिच गर्न सम्भव भएको नगरपालिकाकी उपप्रमुख टिका थापाले बताइन्।

कच्चीबाटोहरु मात्रै रहेको लम्किचुहामा सुरुको वर्ष ग्राभेल गर्ने र त्यसपछि क्रमैसँग पिच गर्ने योजना बनाएर काम गर्दा ४० देखि ५० किलोमिटर सडक पिच गर्न सम्भव भएको थापाले बताइन्।

नगरपालिका भित्रका अधिकांस मुख्य सडकहरु  कम्तीमा ४/५ किलोमिटर भन्दा बढी पिच गर्न सकिएको वडा नम्बर १० का वडा अध्यक्ष हर्कबहादुर कठरियाले बताए।

 १५ शैयाको अस्पताल सञ्चालन, ५० शैयाको अर्को अस्पताल पनि बन्दै 
नगरपालिकाले १५ शैयाको नगर अस्पताल ३ वर्ष भन्दा कम अवधिमै निर्माण सम्पन्न गरेको थियो। त्यस्तै चार तलाको आफ्नै प्रशासकीय भवन पनि नगरपालिकाले २/३ वर्ष भित्रै निर्माण समपन्न गरेको उपमेयर थापाले बताईन्।

१५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको नगरपालिकाले ५० शैयाको अर्को अस्पताल बनाइरहेको छ। तर कैलालीकै अन्य धेरै स्थानीय तहहरुले भने नगरपालिका र वडा कार्यालयका भवन समेत बनाउन सकेका छैनन्।

कैलालीका अधिकांस स्थानीय तहहरु भाडाकै घरमा बसिरहँदा नगरपालिकाले भने आफ्नै भवन बनाइसकेको थियो। स्कुल कलेजका लागि समेत भवन निर्माण गरेर हस्तान्तरण गरेको नगरपालिकाले पूर्वाधार निर्माणका कामहरु समय भन्दा अगावै सम्पन्न गरेर उदाहरणीय काम गरेको अन्य नगरपालिकाका स्थानीयहरु पनि बताउँछन्।