बलम्बुमा १२८ मिटर फ्लाई ओभर निर्माण प्रक्रिया अघि बढ्यो  ८ महिनामा निर्माण सक्ने लक्ष्य

बिजमाण्डू
२०७८ कात्तिक २ गते १८:०७ | Oct 19, 2021
बलम्बुमा १२८ मिटर फ्लाई ओभर निर्माण प्रक्रिया अघि बढ्यो  ८ महिनामा निर्माण सक्ने लक्ष्य

काठमाडौं। नागढुंगा – नौविसे सुरुङमार्ग आयोजनाले बलम्बुमा फ्लाई ओभर निर्माण प्रक्रिया अघि बढाउने भएको छ। आयोजनाले फ्लाइ ओभर निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरेर मूल्य निर्धारण गर्न सिफारिस गरेको छ।

Tata
GBIME

जिल्ला प्रशासन कार्यालयले जग्गाको  दररेट निर्धारण गर्नुपर्छ। एक साताभित्रै दररेट निर्धारण हुने जानकारी पाएको नागढुंगा – नौविसे सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले बताए। उनका अनुसार करिव १२ रोपनी जग्गा र पक्की तथा टहरा गरी ५७ वटा संरचना अधिग्रहण गर्नुपर्नेछ।

 फ्लाई ओभर पृथ्वी राजमार्गको सेन्ट्रल दुई लेनबाट उठाएर निर्माण हुनेछ। चार लेनको दुई लेन फ्लाई ओभरका लागि प्रयोग हुने भएपछि आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो। सोही कारण धेरै जग्गा अधिग्रहण गर्नुपरेको हो।

मुआब्जाका लागि मात्रै १ अर्ब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मुआब्जा वितरणका लागि डेढ करोड रुपैयाँ विनियोजन भएको छ। 'हाम्रो  समस्या नै जग्गा अधिग्रहण र स्रोत सुनिश्चितता  हो। ऋण सहयोगमा निर्माण भैरहेको भएपनि मुआब्जा आन्तरिक स्रोतबाटै गर्नुपर्छ। हामीले सडक विभागलाई जानकारी गराइसकेका छौ',उनले भने,' अब अर्थमा उक्त प्रस्ताव जान्छ।'

मुआब्जाको दररेट निर्धारण भए एक महिनामै वितरण सक्ने दाबी शाक्यले गरे। 'विवाद धेरै छैन। उनीहरु सकारात्मक नै छन्। निर्धारण भए बुझ्न धेरै तयार छन्', उनले भने,'हामीले फाउण्डेसनका लागि जग्गा पायौ भने काम सुरु गर्दै गर्न पाउँछौ।'

 पृथ्वी राजमार्गबाट सुरुङमार्गको पोर्टलतिर जान फ्लाई ओभर निर्माण गर्न लागिएको हो। सुरुङमार्गको पोर्टलतिर जाँदा राजमार्गमा जाम हुन सक्ने भन्दै फ्लाई ओभर निर्माण गर्न लागिएको हो। दुई लेनको फ्लाईओभर १२८ मिटरको लामो हुनेछ।

एउटा लेन ३.५ मिटरको हुनेछ। १२८ मिटर फ्लाई ओभरबाट करिव तीन किमी पहुच (एक्सेस) सडक मार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ। अहिले पहुँचमार्ग निर्माण भैरहेको छ। ८ महिनामा फ्लाई ओभर निर्माण सक्ने लक्ष्य छ। लक्ष्य अनुसार निर्माण गर्न सकिए नेपालकै पहिलो फ्लाई ओभर हुने शाक्यले दाबी गरे। अहिले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माणका लागि वोलपत्र आव्हान भएको छ।

दुई बर्षमा सक्ने गरि इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्क्सन (इपिसी) मोडलमा निर्माण गर्न लागिएको हो। ४५५ मिटरको फ्लाई ओभर निर्माणका लागि आवेदन दिएका ९ कम्पनीको मुल्याङकन भैरहेको छ। दर्जन बढी फ्लाई ओभर निर्माण गर्ने भनिएको भएपनि  अहिलेसम्म नेपालमा फ्लाई ओभर निर्माण भएको छैन। 

बलम्बुमा निर्माण हुने फ्लाइओभर आयोजनाको मुख्य निर्माण कम्पनी हाज्मा/आन्दो कर्पोरेशन लिमिटेडले नै निर्माण गर्नेछ। नागढुंगा – नौविसे सुरुङमार्ग आयोजना जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको छ।

जापान सरकारको करिव १६ अर्ब रुपैयाँ र नेपाल सरकारको आन्तरिक स्रोतबाट करिव ६ अर्ब रुपैयाँ  खर्चेर निर्माण गर्न लागिएको छ। जसको २२ प्रतिशत काम सकिएको छ। काठमाडौं र धादिङ दुवैतिरको पोर्टलबाट काम चलिरहेको छ।

काठमाडौंतिर ओभरपास र धादिङतिर अण्डरपास समेत तयार भैसकेको छ। सुरुङमार्ग चन्द्रागिरी नगरपालिकाको टुटीपाखाबाट धुनीबेसी नगरपालिकाको सिस्नेखोलामा निस्कन्छ। जसको लम्बाइ २.७ किमीको हुनेछ।