मुद्दतीको ब्याज ११.६७% पुग्यो, बचतकै पनि ८.१ प्रतिशत, ‘राष्ट्र बैंक ऋण निरुत्साहनको पक्षमा’

बिजमाण्डू
२०७८ कात्तिक १ गते १२:१७ | Oct 18, 2021
मुद्दतीको ब्याज ११.६७% पुग्यो, बचतकै पनि ८.१ प्रतिशत, ‘राष्ट्र बैंक ऋण निरुत्साहनको पक्षमा’


काठमाडौं। असोजमै मुद्दती निक्षेपको ब्याज दर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कात्तिकमा बजारलाई 'प्यानिक' बनाउने गरी ब्याज निर्धारण नगर्न आग्रह गरेका थिए।

Tata
GBIME
Nepal Life

दसैंअघि नै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले असोजकै ब्याजलाई कात्तिकमा पनि निरन्तरता दिने सूचना प्रकाशित गर्‍यो।

दसैं बिदा सकिएलगत्तै आइतबार बैंकर्स संघको बैठक बस्यो- ब्याज दरकै विषयमा। बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको चाहनाका बारेमा थोरै कुरा राखे। उनले ब्याज बढाएकै भरमा निक्षेप नआउने पनि सम्झाए। 

तर ब्याज दर के कति गर्ने भनेर कसैले पनि त्यहाँ कुराकानी गरेनन्। भद्र सहमति गर्नेतिर पनि कोही अग्रसर भएनन्। आइतबारसम्म सात बैंकले ब्याज दर प्रकाशित गरिसकेका थिए। केहीले घटाएरै प्रकाशितसमेत गरेका थिए।

सोमबार भने अवस्था फरक देखियो। ब्याज प्रतिस्पर्धामा अग्रस्थानमा देखियो- हिमालयन बैंक। बैंकले एक महिनामै मुद्दतीको ब्याज दर ३.१७ प्रतिशत बिन्दुले वृद्धि गरेर ११.६७ प्रतिशत पुर्‍याएको छ। 

बैंक बचत %  मुद्दति % बैंक बचत %  मुद्दति %
सनराइज बैंक 5.07 9 नेपाल बंगलादेश बैंक 5.28 10.28
प्राइम बैंक 4.76-5.76 9.76 माछापुच्छ्रे बैंक 5-6.25 9.85
एनएमबि बैंक 4.57-6.57 9.57 एभरेष्ट बैंक 3.61-4 8.61
सानिमा बैंक 3.51-4 8.51 कृषि विकास बैंक 4.0-6.0 9
ग्लोबल आइएमइ बैंक 4.5 9.5 एनआइसी एसिया बैंक 6.1-8.1 11.1
नबिल बैंक 4.26-6.26 9.26 नेपाल एसबीआइ बैंक 4.56 9.56
नेपाल क्रेडिट एण्ड कमर्स बैंक 5.55-6 10.55 सिभिल बैंक 5.61-5.71 10.61
सेञ्चुरी बैंक 5.25-7.25 9.99 कुमारी बैंक 5.31-7.31 10.31
हिमालयन बैंक 6.67-7.67 11.67 प्रभु बैंक 3.25-5 8.25
सिद्धार्थ बैंक 5.3-6.3 10.3 राष्ट्रिय बाणिज्य बैंक 3.55-5.05 8.55
नेपाल इन्भेष्टमेन्ट बैंक 4.02 9.02 नेपाल बैंक 3.05-4.55 8.05
लक्ष्मी बैंक 6.05-7.5 11.05 सिटिजन्स बैंक 4.76-5.06 9.26
बैंक अफ काठमाण्डू 5.07-6.57 10.07 स्ट्यान्डर्ड चार्टर्ड बैंक 2.5-4 7.5
मेगा बैंक 4.77-5.77 9.27      

हिमालयनलाई एनआइसी एसियाले पछ्याएको छ। बैंकले ८.६ प्रतिशतको ब्याजलाई ११.१ प्रतिशत पुर्‍याएको छ। यसपछि लक्ष्मी बैंकले ९ प्रतिशतको ब्याजलाई ११.०५ प्रतिशत पुर्‍याएको छ।

बचतको ब्याज पनि ८.१ प्रतिशत पुगेको छ। सबैभन्दा बढी बचतको ब्याज एनआइसी एसियाले बढाएको छ। 

कात्तिकमा १० प्रतिशतभन्दा माथि ब्याज पुर्‍याउनेमा एनसीसी, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, सिभिल बैंक र कुमारी बैंक छन्।

असोजमा आक्रामक रहेको सनराइज बैंकले ब्याज दर घटाएको छ। सनराइजले १०.०७ प्रतिशतको मुद्दतीको ब्याज ९ प्रतिशतमा झारेको छ। नबिल, नेपाल इन्भेष्टमेन्ट, प्रभु, चार्टर्डजस्ता बैंकले पुरानै ब्याजलाई निरन्तरता दिएका छन्। सानिमा बैंकले ९.५१ प्रतिशतको ब्याजलाई ८.५१ प्रतिशतमा झारेको छ। सरकारी बैंकहरुले पनि ब्याज बढाएका छन्।

किन बढ्यो ब्याज?
बैंकहरुले ब्याज बढाउनुको मुख्य कारक कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी) लागू गर्नुलाई मानेका छन्। तर, यसमा सत्यता कम देखिएको छ।

बैंकहरुले अस्वाभाविक रूपमा बढाएको ऋणका कारण तरलता अभाव भएर ब्याज बढाउनु परेको हो। यसमा सीडी रेसियो थोरै जोडिएर आउँछ। नयाँ नियम अनुसार ऋण बढाउन निक्षेप वृद्धि गर्नैपर्छ।

नयाँ निक्षेप खासै बढ्न सकेको छैन। त्यही भएर उनीहरुले आफ्नो निक्षेप जोगाउन र अर्को बैंकको खोस्नका लागि ब्याज बढाएका हुन्। असोजको तुलनामा कात्तिकमा बढी ब्याज बढाउने बैंकहरु कि त तरलताको चरम अभावमा थिए कि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगेको थियो।

'भएको निक्षेप जोगाउनु पर्ने दबाबमा बैंकहरु परेको देखिएको छ,' एक बैंकरले भने, 'एकै दिन ब्याज प्रकाशित गर्नु पर्ने व्यवस्था छ (मसान्तको दिनमा। यसपाली दसैं बिदाका कारण राष्ट्र बैंकले एक दिन बढी दिएको थियो) त्यसैले अर्को बैंकले कति दिँदैछ भन्ने अनुमान लगाउन गाह्रो छ।' यही कारण अन्तिम दिन ब्याज प्रकाशित गरेका बैंकमध्ये अधिकांशले बढाएका हुन्।

चालु आर्थिक वर्षयता निक्षेप ५३ अर्ब ९५ करोडले बढेको छ। ऋण भने २ खर्ब ६२ अर्ब ४७ करोडले वृद्धि भइसकेको छ। यो कारण अहिले तरलता अभाव चर्किएको हो। बैंकहरुले कतिसम्म गरेका छन् भने पछि निक्षेप खोजौंला अहिले ऋण दिँदै गर्छु भनेर राष्ट्र बैंकको सापटी चलाएर पनि व्यापार बढाइरहेका छन्। 

राष्ट्र बैंकको चाहना
राष्ट्र बैंक बजारलाई 'प्यानिक' बनाउने गरी ब्याज प्रकाशित नहोस् (खासगरी ठूलो हल्लाखल्ला नहोस्) भन्ने चाहन्छ। तर उ ऋणको ब्याज दर वृद्धि हुनुपर्ने पक्षमा छ।

निक्षेपको ब्याज बढेपछि ऋणको पनि स्वतः वृद्धि हुन्छ। नयाँ ऋण स्वतः महँगो पर्न जान्छ भने पुरानो ऋणको पनि ब्याज बढ्न थाल्छ। यसले थप ऋण निरुत्साहित हुन्छ भन्ने बुझाइ राष्ट्र बैंकको छ।

राष्ट्र बैंक सबैभन्दा बढी आत्तिएको उच्च आयातका कारण बढ्दो शोधनान्तर घाटासँग हो। साउनमा घाटा ३८ अर्ब ७५ करोड पुगेको छ। एक खर्ब ५० अर्बको आयात हुँदा घाटा यसरी चुलिएको हो। भदौमा एक खर्ब ६० अर्बको आयात भएको छ। रेमिटेन्समा पनि सुधार छैन। त्यही भएर भदौमा शोधनान्तर घाटा अझ चुलिने देखिएको छ। 

ऋणका कारण आयात बढेको र ब्याज वृद्धिसँगै ऋण लिने निरुत्साहित भएर आयात कम हुने अनुमान राष्ट्र बैंकको छ। त्यही भएर पनि राष्ट्र बैंकले ब्याज वृद्धिलाई असामान्य रूपमा लिएको छैन। 'यत्ति हो ब्याज बढ्यो भनेर हल्लाखल्ला नहोस् भन्ने चाहना छ,' स्रोतको दाबी छ।