नेपालको रैथाने परिकार बिदेशी बजारमा चिनाउँदै सेफ प्रेम, भन्छन्– ‘सेफ डाक्टर जस्तै हुन्’

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ असोज २८ गते १७:४० | Oct 14, 2021
नेपालको रैथाने परिकार बिदेशी बजारमा चिनाउँदै सेफ प्रेम, भन्छन्– ‘सेफ डाक्टर जस्तै हुन्’

काठमाडौं। नेपाली रैथाने परिकारको विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नका लागि यतिबेला सेफ प्रेमलाल घिसीङ देशभरका खानाहरुको मेनु तयार गर्दैछन्। दुई वर्ष अघिदेखि उनले थालेको यो अभियान गत साता दुई वर्ष पूरा भएको छ। 

Tata
GBIME
Nepal Life

तामाङ समुदायको रैथाने परिकारसँग सम्बन्धित ४८ वटा मेनु सहितको किताब' 'तामाङ मौलिक खानपान तथा पेय पदार्थ' विमोचन गरेलगत्तै देशभरका रैथाने परिकारको प्रवर्द्धनको हुटहुटी जागेको उनी बताउँछन्।

तामाङ समुदायमा दैनिक प्रयोग हुने परिकारको मेनु तयार हुँदा उनले राम्रो प्रतिक्रिया पाए। त्यसपछि उनलाई अब अन्य धेरै समुदायका मौलिक परिकारहरुलाई सबैमाझ लैजान पर्छ भन्ने सोच बन्यो।

'हाम्रो देशभित्र त धेरै समुदायहरु छन्। करिब एक सय २८ वटा जातीहरु छन् ती सबैको आफ्नै मौलिक परिकार छ। त्यतिमात्र नभएर भौगोलिक हिसाबमा पनि बिबिध परिकार छन्। त्यसैले म ती सबै  रैथाने परिकारहरु विश्वबजारमा लैजानुपर्छ भनेर लागेको हुँ,' सेफ प्रेमले सुनाए। 

तिनै खानाका रेसिपी संकलन गर्न सेफ प्रेमले एक सय एक दिन लगाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा गरे। त्यसक्रममा बिभिन्न समुदाय तथा जातजातिको घरमा पुगेर भान्छामै बसेर उनले खाए। ती घरका बुढापाका र आमाहरुसँग परिकारबारे सिके जाने। रहेक परिकारमा प्रयोग भएका सामाग्री र पकाउने तरिका संकलन गरेर उनले आफ्नो अनुभवसहितको किताब तयार पारिरहेका छन्। 

उनका अनुसार '८४ व्यञ्जन' मा छ सय परिकारका मेनु तयार हुनेछ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान र होटल एसोसिएसन अफ नेपाल हानसँगको सहकार्यमा आफूले तयार गरेको मेनु देशभरका होटल र रेष्टुरेण्टमा राखिने छ।

'अझै धेरै काम गर्न बाँकी नै छ। चाँडै नेपाली खानाले विश्वबजार लिनेछ,' उनी दाबी गर्छन्। यो दाबीका पछाडि सेफ सन्तोष शाहले नेपाली खानालाई एउटा उचाईमा पुर्‍याइसकेको र आफ्नो किताबले पनि विश्वभर नेपाली खानाको प्रवर्द्धन हुने बताउँछन्। 

पर्यटकलाई भुगोल अनुसारको खाना पस्किनुपर्छ
रैथाले परिकारको प्रवर्द्धनका लागि नेपाल घुम्ने आन्तरिक र बाह्य पर्यटकलाई भुगोल अनुसारको परिकार खुवाउनुपर्ने उनको भनाई छ।

'अन्नपूर्ण सर्किट घुम्न जाने मान्छेले बाटोमा पिज्जा र बर्गर खाँदैन। खाए पनि खुवाउनु हुँदैन। त्यो बेसक्याम्प जाने बाटोमा स्थानिय परिकार के पाइन्छ त्यो खुवाउनुपर्छ,' उनले भने,'किनभने पर्यटकले अन्नपुर्ण बेसक्याम्पको अल्टिच्युडसँग जुध्नुपर्छ। त्यहाँको हावापानीसँग जुध्ने क्षमता दिने भनेको त्यहीँको स्थानिय परिकार हो। जबसम्म हामीले गन्तब्य अनुसारको रैथाने परिकार दिँदैनौँ तबसम्म हाम्रो रैथाने परिकारको प्रवर्द्धन हुन सक्दैन।' पर्यटक र गन्तब्य अनुसारको परिकारका लागि फुड टुरिजम्को नक्सा समेत सार्वजनिक गर्ने उनको योजना छ। 

सेफ भान्से मात्र नभइ पहिलो डाक्टर भएको उनी बताउँछन्। 'हरेक मान्छेको पहिलो डाक्टर नै सेफ हो। प्रत्येकको जीवनको पहिलो डाक्टर भनेकै आमा हो नी! सेफ भनेको आमा हुन्। खाना खुवाउने बेलामा सन्चो बिसन्चो बिचार गरेर कुन बिराममा कुन खाना ठिक हुन्छ भनेर खुवाउने आमा जस्तै हो सेफ पनि,' उनले तर्क गरे- 'सेफले पनि आफ्नो पाहुनालाई सबै कुरा सोधेर खाना तयार गरेको हुन्छ। उहाँलाई प्रेसर सुगर के छ भनेर सोधेर सर्भ गरिन्छ। सेफहरुले पनि पाहुनाको स्वास्थ्यलाई ख्याल गरेर खाना बनाउनुपर्छ। अनिमात्र पेशाको इज्जत जोगिन्छ।'

थान्कादेखि सेफसम्म
शैलुंग गाउँपालिका दुधपोखरीका सेफ प्रेम एसएलसीपछि सन् २००७ मा काठमाडौं आएका हुन्। प्लस टु पढ्ने खर्च जुटाउन उनले थान्का लेख्ने काम गर्थे। तर थान्का लेखन सिपमा उत्कृष्ट हुन नसकिरहेको अनुभव गर्दै उनले पत्रकारिता पनि गरे।

स्नातकसम्म पत्रकारिता पढेका प्रेम आर्थिक रुपमा बलियो हुनकै लागि फरक पेशातर्फ मोडिए। 'आर्थिक रुपमा मजबुत नभइ इच्छा चाहना सफल नहुने रहेछ। त्यसबेला पत्रकारिता गर्दा जिविका धान्न गाह्रो परेर म अर्को पेशातर्फ मोडिन बाध्य भएँ,'उनले भने।

घर खर्च व्यवस्थापनकै लागि बिदेशतिर जाने सोच बनाए प्रेमले। सन् २०११ मा बिदेश जान कस्सिएका उनले सीपका लागि सेफको तालिम लिन पुगे । सिटीइभीटीमा लिएको त्यही तीन महिने तालिम नै उनको जीवनको टर्निङ पोइन्ट भएको थियो। त्यहाँ उनले उत्कृष्ट अंक ल्याएर पास हुन सके।  

उनी सम्झिँन्छन् -'गाउँघरमा सबैभन्दा मिठो खानेकुरा मेरी आमाले बनाउनुहुन्थ्यो। घरमा म कान्छो छोरो। दुईजना दिदीको बिहे भइसकेपछि भान्साको काममा आमालाई सघाउने मै हुन्थेँ। आमाले पकाउनु हुने परिकार सबै याद छ। परिकार तयार पार्ने पस्कनेसम्म मेरो रुची थियो। त्यही कारण प्रशिक्षण लिन पनि मलाई खासै गाह्रो भएन।'

भक्तपुरको सिटी गाउँमा इन्टर्न सुरु गरेका उनको भेट भयो गेट (ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन) कलेजका सिइओ खेम लकाईं सँग। दुवैजना दोलखावासी भएकाले उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै गयो। 

लकाईले प्रेमलाई अष्ट्रेलियाको 'सेफ' कोर्स गर्न हौसला दिए। यो एक वर्षे कोर्स पुरा गर्न त्यसबेला ६० हजार डलर पर्थ्यो। कलेजमा यो कोर्षको साढे तीन लाख रुपैयाँ थियो। 'त्यतिखेर मसँग पैसा थिएन। खेम सरले मलाई उहाँको सानेपास्थित साव्रे रेष्टुरेण्टमा काम गर्दै गर्नुस्। पारिश्रामिकको केहि अंश कट्टा गर्दै जाउँला तर पढ्न नछोड्नुहोस् भनेर प्रोत्साहन गर्नुभयो। यो उधारो शिक्षामार्फत खाना पकाउने तरिका, खानाको बारे धेरै कुरा सिक्ने मौका पाएँ,'उनले संघर्षका दिन सम्झिँए। 

कोर्ष सकेपछि उनले आफ्नो विदेश जाने योजनालाई किनारा लगाए  होटलमा काम गरे। त्यसै क्रममा अमेरिकी दूतावासका  एक्जेक्युटिभ सेफ मदन श्रेष्ठसँग उनको भेट भयो। तीन महिनासम्म उनले श्रेष्ठसँग थप प्रशिक्षण लिए। त्योसँगै उनले विभिन्न देशका सेफहरुसँग सिक्दै आफ्नो क्षमता विस्तार गर्दै गए।  

'मैले लकाई सरको रेष्टुरेण्टमा काम गर्दा उहाँले हरेक दिन काठमाडौंको विभिन्न रेष्टुरेण्टमा गएर खान भन्नुहुन्थ्यो। त्यो सबै खर्च रेष्टुरेण्टले नै व्यहोर्थ्यो। मलाई केही नयाँ कुरा सिकेर आउनका लागि यो अवसर दिइएको थियो। यस्तो अवसर पाउन मुस्किल छ,'- उनी भन्छन्। 
होटल अन्नपूर्णमा काम गरेपछि उनले गोल्डेन गेट कलेजले विएचएम प्रशिक्षकका रुपमा दुई वर्ष काम गरे। कलेज पढाउन सुरु गरेसँगै उनले नयाँ रेष्टुरेण्टका जनशक्तिलाई तालिम दिने र नयाँ मेनु तयार गर्ने काममा संलग्न रहन थाले। 

विभिन्न मुलुकको खाना पकाउन सिकेपनि सेफ प्रेमलाई भने नेपाली खानानै प्यारो लाग्दो रहेछ। जाडो मौसममा पानी परेको बेला आफ्नो समुदायमा तयार हुने भाते जाँड र मकै भटमासलाई औषधी भन्छन् उनी। 

रैथाने खानाले दिने सन्तुष्टिबारे सेफ प्रेमले सुनाए-'जाँड भन्नेवित्तिकै मात्ने गरी खाने होइन। अहिले पो मान्छेहरुले जाँड मात्नैका लागि खाने भन्छन्। ठूला ठूला होटलमा काम गरिसकेको छु। अनेक किसिमका परिकार खान्छु । तर अहिले पनि भातसँग खसीको मासुको झोल खाँदा निकै आनन्द आउँछ। मेरो आत्मा खुसी हुन्छ।'