अर्थमन्त्री हुँदा विष्णु पौडेलले शिलान्यास गरेको औद्योगिक क्षेत्रमा सुकुम्बासीको रजगज

बिजमाण्डू
२०७८ भदौ २९ गते १७:०६ | Sep 14, 2021
अर्थमन्त्री हुँदा विष्णु पौडेलले शिलान्यास गरेको औद्योगिक क्षेत्रमा सुकुम्बासीको रजगज

बुटवल। रुपन्देहीको मोतीपुरबाट जग्गा मिलाइदिने भन्दै अवैध रुपमा पैसा असुल गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्‍यो। केही दिनअघि बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा मिलाइदिने भन्दै स्थानीयसँग पैसा असुल गरिरहेका गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले ‘उजीरसिंह नगर नयाँ वस्ती विकास परिषद् बुटवल रुपन्देही'को नाममा फर्जी बिल बनाएर स्थानीयसँग दुई/दुई सय रुपैयाँ उठाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरी प्रवक्ता थापाका अनुसार स्याङ्जाका सोनु थापा, रुरु – १ गुल्मीका गोविन्द विक, मदाने गुल्मीका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थीलाई पक्राउ गरिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैबिच रुपन्देहीको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ। बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा पर्ने औद्योगिक करिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चित कालका लागि निषेधाज्ञा लगाएको जनाएको छ। 

बुटवल–१७ का वडाध्यक्ष सन्तबहादुर रानाले सुकुम्बासीका नाममा ओद्योगिक क्षेत्रको जग्गा अघिल्ला वर्षहरुदेखि नै अतिक्रमण भइरहेको जनाए । 

'रातिमा प्रशासनले गस्ती गरेर साध्य नै नहुने अवस्थामा पुगेको थियो। तिनाउदेखि पश्चिमका उकास क्षेत्रमा बाहिरी मानिसहरु आएर जग्गा कब्जा गरिरहेका थिए,' उनले भने, 'जग्गा मिलाइदिने भनेर पैसा उठाउने गिरोह नै यहाँ सक्रिय छन्।' 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरेको हो। 

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नं १७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं १७, उत्तर तर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ । 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औद्योगिक क्षेत्रको जग्गामा अवैध रुपमा अतिक्रमण हुने जोखिम बढेकाले निषेधाज्ञा जारी गरिएको बताए । 

‘निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ,' उनले भने। जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।

मोतीपुरको ९ सय ४६ विगाहा क्षेत्रफलमा फैलिएको जग्गामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ओद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाएको छ। स्थानीयको विरोध र ढुंगामुढाका बिच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।