आजबाट सञ्चालनमा ‘नमस्ते पे’, एनटीसी र राष्ट्रिय बाणिज्य बैंकको लगानी, ४० करोड रुपैयाँ पुँजी

बिजमाण्डू
२०७८ भदौ २९ गते ०८:२५ | Sep 14, 2021
आजबाट सञ्चालनमा ‘नमस्ते पे’, एनटीसी र राष्ट्रिय बाणिज्य बैंकको लगानी, ४० करोड रुपैयाँ पुँजी


काठमाडौं। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा स्थापना भएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मंगलबारबाट व्यवसायिक सञ्चालन हुने भएको छ। 

Tata
GBIME
Nepal Life

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट नमस्ते पे प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन हुन लागेको जानकारी दिएका छन्। 

कोरोना महामारीका कारण नमस्ते पेको परीक्षणदेखि व्यवसायिक सञ्चालनको मिति पटकपटक धकेलिँदै आएको थियो। नेपाल राष्ट्र बैंकले नमस्ते पेलाई २०७७ चैत ३ गते अनुमति दिएको थियो। राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। कम्पनीमा टेलिकमको ६२ प्रतिशत (२५ करोड ८८ लाख रुपैयाँ) र वाणिज्य बैंकको ३८ प्रतिशत (१५ करोड ११ लाख रुपैयाँ) लगानी रहेको छ। 

नमस्ते पेको वित्तीय सुविधालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने रणनीति टेलिकमको छ। टेलिकमले साझेदारी गरी स्थापना गरेको फिनटेक कम्पनी नमस्ते पे लगानी विविधिकरणका हिसाबले टेलिकमका लागि नयाँ क्षेत्रसमेत हो।

२०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता गरेका थिए। नमस्ते पे सरकारीस्तरबाट सञ्चालन हुने पहिलो भुक्तानी सेवा प्रदायक हो। नमस्ते पेको सबै सेटलमेन्ट वाणिज्य बैंकले गर्नेछ।

नमस्ते पे प्रयोग गरेर टेलिकमका ग्राहकहरुले ब्यालेन्सबाटै विभिन्न युटिलिटीसहित अन्य प्रकारका भुक्तानी गर्न सक्ने बताइएको छ। त्यसैगरी, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच यसअघि नै डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ।

यस्तै, नमस्ते पेले अन्य विभिन्न प्रकारका भुक्तानीहरुलाई आफ्नो प्रणालीमा समावेश गरेको बुझिएको छ।