राजनीतिक संकटका बीचमा घरमै नगद थुपार्ने क्रम बढ्यो, महिना दिनमै साढे ११ अर्ब रुपैयाँ हातमा






काठमाडौं। महिना दिनमै ११ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बराबरका नेपाली नोट सर्वसाधारणको हातहातमा पुगेको छ। नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानीलाई प्रबर्द्धन गरिरहेका बेला पछिल्लो समय उल्टो हातहातमा पुग्ने नोटको संख्या बढेको छ।

राष्ट्र बैंकको अनुमानमा, पछिल्लो राजनीति अस्थिरताले मान्छेहरुमा आफैले पैसा बोक्नु पर्छ भन्ने भएर चलनचल्तिमा जाने नोट बढेको हो। यसबाहेक लकडाउन र निषेधाज्ञामा बैंक खुल्दैन भन्ने अनुमानका आधारमा पनि सिरानीमै पैसा थुपार्ने क्रम बढेको छ।

दुई वर्षमै चलनचल्तीमा जाने नोट (मूल्य) दोब्बरले बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको असार मसान्तसम्मको विवरण अनुसार, सर्वधारणको हातमा ६ खर्ब ६९ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरका नोट छन्।

२०७६ चैत ११ गतेदेखिको लकडाउनपछि चलनचल्तीमा नगदको प्रयोग व्यापक भएर गएको छ। जबकी नेपाल राष्ट्र बैंकले लकडाउनपछि अनलाइन बैंकिङ तथा भुक्तानीलाई जोड दिँदै आएको छ।

०७६ चैत (पहिलो पटकको लकडाउन) मा यस्तो नोट ५ खर्ब ३३ अर्ब २० करोड रुपैयाँ चलनचल्तीमा थिए। पछिल्लो २४ महिनामा एक खर्ब ७० अर्ब ६६ करोड १६ लाख रुपैयाँभन्दा बढी नोट चलनचल्तीमा गएका छन्। 

बजारमा अधिक नोट चलनचल्तीमा जानुले मूल्यवृद्धिमा दबाब पुग्छ भने अनौपचारिक कारोबारले बढावा पाएको पुष्टि गर्छ। 

'दसैंतिहारमा बढ्नु सामान्य कुरा हो (दक्षिणा तथा कारोबारका लागि अलि बढी सटही हुन्छ) तर अन्य बेलामा पनि बढेको छ यसपाली,' राष्ट्र बैंक अनुसन्धान विभागमा लामो समय बसेका डा. गुणाकर भट्ट भन्छन्, 'अनिश्चयका कारणले पनि नोट आफैंसँग राख्ने बढेका हुन सक्छन्।'

सामान्यत: चलनचल्तीमा नोट तीन कारणले बढी प्रवाह हुन्छ- रेमिटेन्स सटही, सरकारी खर्च र बैंक ऋण विस्तार उच्च।

'कोभिडकै समयमा पनि विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स बढेको छ। यो चाँडो चाँडो जनताको हातमा जान्छ,' राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भने, 'रेमिटेन्स डलरका रूपमा आउँछ। त्यो सटही गरेर नेपाली रुपैयाँ दिनुपर्छ। यही कारणले पनि चलनचल्तीमा जाने नोट बढेको हुनसक्छ।'

राष्ट्र बैंकको तथ्यांकअनुसार, २०७६ चैतमा लकडाउन हुँदा रेमिटेन्स ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ भित्रिएको थियो। यसपालीको चैतमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ। जेठसम्म ८ खर्ब ७० अर्ब ९४ करोड भित्रिइसकेको छ।

सरकारी कारणले पनि बजारमा नोटको प्रवाह बढी हुन्छ। जस्तो सरकारले असुलेको करलाई खर्च गर्योी भने त्यो पैसा सर्वसाधारणको हातमा पुग्छ। असार महिनामा सरकारी खर्च तुलनात्मक रुपमा उच्च हुन्छ। एक सातामा एक खर्ब २३ अर्ब रुपैयाँ खर्च भएको थियो।

सरकारले कर संकलन गर्दा भने सर्वसाधारणसँग भएको पैसा खोसिन्छ। त्यो बेला चलनचल्तीको नोट घट्छ। सरकारले आन्तरिक ऋण उठाइरहेको छ। असारमा बाहेक कर संकलनको तुलनामा खर्चको अनुपात निक्कै कम हुने गरेको। 

अर्को कारण ऋण विस्तार हो। बैंकहरुले निक्षेप संकलन गरेभन्दा कम ऋण दिए भने नोट चलनचल्तीमा घट्छ। निक्षेपको तुलनामा बढी ऋण दिए भने सर्वसाधारणको हातमा बढी पैसा जान्छ। 

चालु वर्ष बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको तुलनामा ऋण बिस्तार उच्च गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले ८९८ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन्। 

बढ्दो नगद कारोबारले पछिल्लो समय अनौपचारिक बजार मौलाएको पुष्टि गर्ने अर्थशास्त्रीहरुको भनाइ छ।

'कोभिडका कारण अलिकति पैसा आफैंसँग राख्ने चलन बढेको होला,' राष्ट्र बैंकको अनुसन्धान विभाग बसेका थापाले भने, 'यसले अनौपचारिक कारोबार बिस्तार भएको पनि तस्वीर दिन्छ।'

चलनचल्तीको नोटमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग भएको पैसालाई गणना गरिँदैन। यसभित्र आमसर्वसाधारण, व्यापारी, व्यवसायीलगायतसँग भएको नगद पैसा पर्छ।

राष्ट्र बैंक अनुसन्धान विभागका केही अधिकारीहरुले अनिश्चय बढेसँगै मान्छेहरु सुरक्षित भएर बस्न बैंकभन्दा नगद कारोबारमै विश्वास गर्न थालेको देखिएको बताउँछन्। 'हामीले सर्वे वा अनुसन्धान त गरेको छैन तर यसरी छोटो समयमा उच्च दरले चलनचल्तीमा पैसा जानुले राम्रो संकेत भने गर्दैन,' ती अधिकारीले भने।

उनको बुझाइमा, सरकार परिवर्तन हुने बेलामा वा चरम राजनीतिक संकटका बेलामा पैसा थुपार्ने क्रम बढ्ने गरेको छ। यो विगतदेखिकै प्रबृत्ति हो। अनिश्चयका बीचमा अस्वभाविकरूपमा भएका नाफालाई प्रणालीमा लैजान नमिलेर आफैंसँग राखिएको पनि हुनसक्छ।

अनलाइन कारोबारले बिस्तारै व्यापकता पाइरहेका बेला चलनचल्तीको नोट बढ्नुलाई सामान्य रूपमा हेर्न नमिल्ने उनीहरुको बुझाइ छ। 

त्यसैले ठूला दरका नोटलाई निश्चित समयपछि फिर्ता गर्ने नियमित प्रचलन बनाउनु पर्ने ती अधिकारीको भनाइ छ। राष्ट्र बैंकका अनुसार, मोबाइल बैंकिङ ग्राहक एक करोड ३५ लाख ९१ हजार पुगिसकेका छन्। यो हरेक महिना बढिरहेको छ।

'ठूला दरका नोटका बारेमा हामीले सल्लाह पनि दिइरहेका हुन्छौं तर यो राजनीतिक निर्णय भएकाले कसैले आँट गर्दैन,' ती अधिकारीले भने, 'नियमित तालिका बनाएर ५०० र १००० दरका पुराना नोटलाई सटही गर्ने व्यवस्था गर्दा बजारमा नोट थुपार्ने अलिकति भए पनि हच्किने थिए।'


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell