भूकम्पको बेला साल्ट ट्रेडिङले आयात गरेको २५ करोडको जस्ता वीरगंजमा नष्ट हुँदै, कसैले किनेनन्

बिजमाण्डू
२०७८ साउन ६ गते १५:४२ | Jul 21, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। साल्ट ट्रेडिङ कर्पोरेसन केन्द्रीय कार्यालय काठमाडौंले आयात गरेको करिब २५ करोड रुपैयाँको जस्ता पाता वीरगंजमा खेर गइरहेको छ ।

६ वर्ष पहिला भूकम्प पीडितलाई वितरण गर्न भारतबाट आयात गरिएको जस्ता पाता वीरगंजस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको यार्डमा थन्केर नष्ट हुने  अवस्थामा पुगेको हो ।

खुल्ला चौरमै घामपानीमा विगत ६ वर्षदेखि थन्किएर राख्दा करिब ५० हजार बन्डलको जस्ता पाता नष्ट हुन लागेको साल्ट ट्रेडिङ कम्पनीका अधिकारीहरुले बताएका छन् ।

कर्पोरेसनको केन्द्रीय कार्यालयले गत २०७२ वैशाखको भुकम्पपछि साउनमा भारतको कोलकाताबाट खरिद गरी ल्याएको जस्ता लिलामीको सूचना केन्द्रीय कार्यालयबाटै पटक पटक प्रकाशित समेत गरी सकेको छ । तर हालसम्म ठेकदारले उक्त जस्ता पाता खरिद नगरेको बताइएको छ ।

एक अधिकारीका अनुसार भूकम्पपछि उक्त जस्तापाता बिक्री गर्न शुरुमा सरकारले अनुमति दिइएन, पछि दुई पटक टेण्डर आह्वान गर्दा पनि कसैले सकारेनन् ।

भारतको कोलकातास्थित जिन्दल कम्पनीबाट उक्त जस्ता खरिद गरी ल्याएको थियो । एउटा बन्डलमा न्युनतम ३ सय ५६ थान जस्ता छ । एउटै बन्डलको मूल्य न्युनतम ३ लाख ७५ हजार रुपैयाँ परेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंजले परिसर खाली गराउन र जस्ता पाता लैजान कर्पोरेसनलाई पटकपटक पत्राचार गर्दा समेत कुनै टुंगो नलगाएको  बताएको छ ।

कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहाले खाद्य व्यापार एवं  साल्ट ट्रेडिङ एउटै मन्त्रालय अन्तर्गतको रहेकाले जस्ता यहाँ भण्डारण गर्न  अनलोड गरिएको बताए ।