कोभिड संकट नटर्दै अक्सिजन उद्योगहरु बन्दतर्फ, अर्बौं लगानीका प्लान्ट बिक्रीमा चढाए उद्योगीले

सरला सुवेदी/बिजमाण्डू
२०७८ असार १६ गते १९:३४ | Jun 30, 2021
कोभिड संकट नटर्दै अक्सिजन उद्योगहरु बन्दतर्फ, अर्बौं लगानीका प्लान्ट बिक्रीमा चढाए उद्योगीले

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले अस्पताललाई नै अक्सिजन प्लान्ट राख्न बाध्यकारी व्यवस्था गरेपछि अक्सिजन उद्योगको भविष्य संकटमा पर्ने देखिएको छ।

कोभिड संक्रमणको दोस्रो लहर तीव्र हुन थालेसँगै सरकारले नयाँ अक्सिजन प्लान्ट स्थापनालाई सुविधाका साथै कम्तीमा सय वेेड भएका निजी तथा सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो। यो निर्णयसँगै अक्सिजन उद्योग संकटमा पर्ने देखिएको हो। 

सरकारले नयाँ अक्सिजन उद्योग स्थापनाका लागि आवश्यक प्लान्ट तथा उपकरणको आयातमा भन्सार छुट दिएको छ। लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने व्यवस्था पनि गरेको छ।अहिले बैंकहरुको आधार दर ७ प्रतिशत हाराहारी छ।

सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा उल्लेख गरेको थियो। पुनर्कर्जाको ब्याज दर एक प्रतिशत छ।

यससँगै प्रायः पुराना अक्सिजन प्लान्टहरु बिक्री गर्ने सोचमा उद्योगीहरु पुगेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए।

अर्कोतर्फ, अधिकांश मध्यम तथा ठूला अस्पतालले आफ्नै प्लान्ट राखेपछि  अक्सिजन उद्योगको उत्पादनको माग तथा व्यापार सुक्ने देखिएकाले पनि उद्योगीहरुले यो व्यवसायबाट बाहिरिने मनशाय बनाएको बुझिएको छ।

कोरोनाको दोस्रो लहरमा अक्सिजन सपोर्ट चाहिने संक्रमितको संख्या ह्वात्तै बढेसँगै देशैभर अक्सिजनको चरम अभाव भएको थियो। संक्रमितलाई चाहिने अक्सिजन अभाव भएपछि उद्योग धन्दादेखि जलविद्युत आयोजनाहरुमा प्रयोग भइरहेका अक्सिजनका सिलिण्डरहरु पनि अस्पताललाई जिम्मा लगाइएको थियो। सरकारले निर्देशन दिएकै आधारमा निजी क्षेत्रबाट संचालित अक्सिजन उद्योगहरुको व्यापार तत्कालै ठप्प नहुने भएपनि अस्पतालहरुले प्‍लान्ट राख्दै  जाँदा र सहुलियत सुविधा लिएर खुल्ने नयाँ प्लान्टले भने प्रतिस्पर्धामा चुनौति सिर्जना गर्ने देखेर अक्सिजन बजारका पुराना खेलाडीहरु यसबाट बाहिरिन खोजेका हुन् ।

अर्कोतर्फ, अहिले कोभिड संक्रमणका कारण अक्सिजनको अतिरिक्त माग सिर्जना भएको भएपनि महामारी साम्य भएपछि अस्पतालका नयाँ-पुराना प्लान्टहरुले नै नियमित माग पूरा गर्ने सम्भावना रहेकाले बजारको मागको तुलनामा 'ओभर क्यापासिटी' को अवस्थामा बस्दा व्यवसायिक जोखिमको आकलनमा पनि त्यसअघि नै यसबाट बाहिरिने सोच अक्सिजन उद्योगीहरुले बनाएका हुन्।

कोभिड संक्रमण घटेपछि अक्सिजनको मागमा कमि आइसकेको अक्सिजन व्‍यवसायीहरुको भनाइ छ। यसकारण आगामी दिनमा अहिले संचालन भइरहेका उद्योगहरु धरासायी हुने अवस्थामा रहेको उनीहरु बताउँछन्। 

बिक्रीमा चढ्न थाले अक्सिजन उद्योग

व्यवसायीहरुले उत्पादन गर्ने अक्सिजन ग्यासको बजार नहुने भन्दै काठमाडौं उपत्यकाका साथै बाहिरका समेत अक्सिजन उद्योगहरु धमाधम बिक्रीमा चढाउन थालेका छन्।  जसमा संघका अध्यक्ष शारडा आफैं पनि प्लान्ट बिक्रीको लाइनमा देखिएका छन् । 

शारडाका दुई अक्सिजन उद्योग छन् – विनायक र कान्तिपुर । उनी भन्छन्, 'म आफ्नै अक्सिजन प्लान्ट  बिक्री गर्न खोज्दै छु। खरिदकर्ता कोही आए संचालन भइरहेकै उद्योग बिक्री गर्न तयार छु ।' दुईमध्ये कान्तिपुर अक्सिजन उद्योग बिक्रीका लागि राखेका छन्।

'अस्पतालहरुले आफैं प्लान्ट राख्ने भएपछि उद्योगहरुसँग अक्सिजन किन्दैनन्। अनि हामीले उत्पादन गरेको अक्सिजन कहाँ लगेर बिक्री गर्ने? उत्पादन भएको अक्सिजन बिक्री नहुने अवस्था आएपछि उद्योग बन्द गरेर बस्नुको विकल्प हुँदैन,' शारडाले भने।

गत  वैशाख र जेठमा कोभिड संक्रमित दर उच्च हुँदा अक्सिजनको माग दैनिक ९ हजार टनभन्दा बढी थियो। त्यतिबेला अस्पतालमा गएको सिलिण्डर फिर्ता नहुँदा पनि अक्सिजन अभाव भएको थियो। अस्पतालहरुमा दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग रहेको त्यो बेला आपूर्ति भने सात हजार दुई सयवटा थियो।

त्यतिबेला चरम अभाव देखिएकैले सरकारले अस्पतालहरुमै अक्सिजन प्लान्ट जडान गर्न भनेको हो। यो कदमले हाल संचालनमा रहेका उद्योगहरु विस्थापित हुने अवस्था सिर्जना गरेको उद्योगीहरुको दुखेसो छ। 

 संघका महासचिव नारायणदत तिमिल्सिनाले पनि आफ्नो सगरमाथा अक्सिजन उद्योग बिक्री गर्न लागेको बताए। 'प्लान्ट खरिद गर्ने ग्राहक आए लागत मूल्यमै दिन तयार छु,' उनी भन्छन्, 'अबका दिनमा अक्सिजन उद्योग संचालन गरेर बस्न सक्ने अवस्था छैन।' 

त्यस्तै, बारास्थित जय अम्बे र नेपालगंजमा रहेको अर्को एक अक्सिजन प्लान्ट पनि बिक्रीमा राखिएको छ। यसबाहेक विराटनगरमा एक नयाँ प्लान्ट स्थापना भएर पनि संचालन नभइ बन्द भएको छ। यीबाहेक अन्य अक्सिजन उद्योगीहरु पनि प्लान्ट बिक्री गर्ने निर्णयमा पुगेको व्यवसायी बताउँछन्।

आगामी दिनमा बजारकै मुख्य समस्या देख्दा अक्सिजन उद्योगीहरु प्लान्‍ट बन्‍दको निर्णयमा पुगेको तिमिल्सिनाको भनाइ छ। सामान्य अवस्थामा अहिले अक्सिजनको माग कम रहेकाले स्थापित उद्योगहरु क्षमताभन्दा कममा चल्दै आएका छन्। 

अहिले उपत्यकामा आठ र बाहिर १७ गरी नेपालभर कुल २५ वटा अक्सिजन उद्योग संचालन छन्। एउटा अक्सिजन उद्योग स्थापना गर्न कम्तीमा २० करोडदेखि ३० करोड रुपैयाँसम्म पर्ने उद्योगीहरुको भनाइ छ। यसअनुसार अहिले संचालमा रहेका उद्योगहरुमा कुल कम्तीमा ५ अर्बदेखि ७ अर्ब रुपैयाँसम्म लगानी रहेको देखिन्छ।

यी उद्योगहरुले उत्पादन गर्नेमध्ये ५० प्रतिशत अक्सिजन अस्पतालहरुले खपत गर्दै आएका छन्। बाँकी अन्य विभिन्न उद्योगहरुका साथै परियोजनाहरुमा प्रयोग हुने गरेको छ। आगामी दिनमा अस्पतालहरुले आफ्नै प्लान्ट राखेपछि निजी उद्योगसँग अक्सिजन नलिने हो भने यिनको झन्डै आधा बजार घट्नेछ। 

अहिले स्वदेशी उद्योगलाई बन्द उन्मुख स्थिती सिर्जना गर‍‍ेर सरकारले लिक्विड अक्सिजन आयातलाई भने प्रोत्साहन गरेको आरोप शारडाको छ। 'अहिले स्वदेशी अक्सिजनले बजार नपाउने र आवश्यक नै नभएको अक्सिजन आयात गरिरहेको अवस्था छ। यसले गर्दा हामीमध्यै धेरैजना प्लान्ट बिक्री गर्नुपर्ने अवस्थामा पुगेका हौं,' उनी भन्छन्। 

उद्योगको क्षमता अनुसार उत्पादन गरेर भर्नका लागि सिलिण्डर ठूलो संख्यामा चाहिने र त्यसको खरिदमा धेरै लगानी लाग्ने भएकाले सानो प्लान्ट मात्रै चलाएको शारडाले बताए। कोभिडका महामारी कम हुन थालेपछि पनि सिलिण्डर फिर्ता नआउँदा अक्सिजन उद्योगहरु समस्यामा छन्।