छैटौं आइसिटी अवार्डका लागि अनलाइन आवेदन खुला, ११ विधामा साउन १६ सम्म आवेदन दिन मिल्ने

बिजमाण्डू
२०७८ असार ९ गते ११:४४ | Jun 23, 2021
छैटौं आइसिटी अवार्डका लागि अनलाइन आवेदन खुला, ११ विधामा साउन १६ सम्म आवेदन दिन मिल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन आवेदन मंगलबारबाट सुरु भएको छ। 

लिभिङ विथ आइसिटीले आयोजना गरेको र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ।  

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको बताइउको छ। गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनोट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० आयोजित कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो।  

आइसिटी अवार्डको छनोट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेको आयोजकले जनाएको छ। 

विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्ने छन्। अवार्डमा प्रतिस्पर्धीले दर्ता गर्न सक्ने बताइएको छ। अवार्डमा नोमिनेसन गर्न आइसिटी अवार्ड डटओआरजी (www.ictaward.org) वेबसाइटमा गएर विधा छनोट गरी फारम भरेर बुझाउनुपर्ने आयोजकले जनाएको छ।

यो वर्ष पनि विभिन्न ११ विधामा नोमिनेशन खुला गरिएको बताइएको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई सम्मान गरिने बताइएको छ। 

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेको आयोजकले जनाएको छ। 

यसैगरी, सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेको छ। 

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन्। अवार्डमा गतवर्षको ह्वावे आइसिटी अवार्ड २०२० मा ४०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ।