उपाय सिटी कार्गोमा डोल्मा कोष-२ बाट १८ करोड लगानी गर्न प्रारम्भिक सम्झौता, प्रक्रिया सात हप्ते

बिजमाण्डू
२०७८ असार ४ गते १३:४० | Jun 18, 2021
उपाय सिटी कार्गोमा डोल्मा कोष-२ बाट १८ करोड लगानी गर्न प्रारम्भिक सम्झौता, प्रक्रिया सात हप्ते

काठमाडौं। डोल्मा इम्प्याक्ट कोष-२ ले उपाय सिटी कार्गोमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। डोल्मा कोष-२ र उपाय सिटी कार्गो प्रालिबीच लगानी सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर समेत भएको छ। 

Tata
GBIME
Nepal Life

उपाय सिटी कार्गोमा लगानी भित्र्याउन प्रारम्भिक प्रक्रियास्वरुप एमओयू गरिएको डोल्मा कोषले जनाएको छ। 

एमओयू पछि 'ड्यू रिजिलियन्स' को प्रक्रियामा प्रवेश गर्नेछ। ५ देखि ७ हप्ताको 'ड्यू रिजिलियन्स'अवधिमा कम्पनीको समग्र पाटो राम्रो देखिएको प्रतिवेदनसहित लगानी स्वीकृतिका लागि डोल्मा कोषको बोर्ड प्रस्ताव पेश हुने बताइएको छ।

बोर्डको स्वीकृतिपछि उद्योग विभाग र राष्ट्र बैंकबाट स्वीकृतिपछि मात्रै उपाय सिटी कार्गोमा डोल्मा कोषको लगानी प्रवेश गर्नेछ।  
 
उपाय सिटीले विभिन्न प्रकारका सामाग्री ढुवानीको सेवा दिँदै आएको छ। उपाय सिटी कार्गोले काठमाडौं उपत्यकासँगै बुटवल, भैरहवा र पोखरामा आफ्नो सेवा दिँदै आएको छ। 

कम्पनीले डोल्माबाट प्राप्त गर्ने लगानीबाट अन्य सहरहरुमा सेवा विस्तार गर्न खर्चिने जनाएको छ। साथै, कम्पनीले अन-डिमान्ड डेलिभरीका लागि आवश्यक लजिस्टिक पूर्वाधारमा खर्चिने जनाएको छ।

डोल्मा कोषले के सम्भावना देख्यो उपाय सिटीमा
नेपाल आयातमा निर्भर अर्थतन्त्र भएको र आयात भएका अधिकांश सामाग्री काठमाडौं केन्द्रित भएर झर्छन्। काठमाडौंमै बढी खपत हुन्छ। आयात भएका सामाग्रीको केन्द्रसमेत काठमाडौं रहेको र काठमाडौंबाटै अन्य सहरमा सामाग्री ढुवानी हुने ठहर डोल्मा कोषको छ। यो अवस्थामा उपाय सिटी जस्तो लजिस्टिक कम्पनीले ढुवानीमा बढी प्रभाव पार्ने देखेर डोल्मा कोषले लगानी गर्न खोजेको जनाएको छ। 

यस्तै, पछिल्लो समय इ-कमर्स कम्पनीहरुले संख्या बढिरहेका छन्। ती कम्पनीहरुलाई आफ्नो बजार बढ्दै गएपछि आफैंले ढुवानी गर्ने (इनहाउस) कि आउटसोर्स गर्ने भन्ने हुन्छ। यस्तो अवस्थामा उपाय सिटी कार्गो जस्तो कम्पनीले ढुवानी सेवामा प्रत्यक्ष भूमिका खेल्न सक्ने सम्भावना देखेरै डोल्मा कोषले लगानी गर्न खोजेको देखिन्छ। 

इ-कमर्स मात्रै नभएर साना व्यवसाय जोसँग आफ्नै ढुवानीका साधन छैनन् उनीहरुको व्यापार उपाय सिटीले गर्न सक्ने बुझाइ डोल्मा कोषको छ। 'एउटा सानो फर्निचरको पसल बुढानिलकण्ठमा छ त्यहाँबाट कुनै प्रडक्ट सानेपामा डेलिभरी गर्नुछ। त्यस्ता व्यवसायीले सहजै उपाय सिटीको एप प्रयोग गर्दै सामान ढुवानीमा सघाउँछ। भाडादेखि रुट सबै एपमै हेर्न सकिन्छ,' डोल्मा कोषका एक प्रतिनिधिले भने। 
 
कोरोना महामारीका कारण होम डेलिभरी गर्ने चलन बढ्दै गएको छ। त्यस्तो अवस्थामा पनि डिपार्टमेन्टल स्टोरदेखि अन्य सामाग्री ढुवानी गर्न उपाय सिटी कार्गो प्रभावकारी देखिएको प्रारम्भिक निष्कर्षको डोल्मा कोषको छ। त्यसैगरी, उपाय सिटीले आफ्नै सवारीसाधन खरिद नगरी भइरहेका चालक र गाडीलाई नै प्रयोग गरिरहेकाले रोजगारी सिर्जनामा ठूलो भूमिका खेलेको ठहर डोल्मा कोषको छ। 

अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)ले कोभिड महामारीबाट प्रभावित भएका साना तथा मझौला उद्योगलाई सहयोग पुर्‍याउन भन्दै डोल्मा कोष-२ मा एक अर्ब १६ करोड (१ करोड डलर) लगानीको निर्णय गरेको थियो।

सो लगानी अन्तर्गत साना र मध्यम आकारका उद्यमहरुलाई (एसएमई) स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा, प्रविधि र अन्य महत्वपूर्ण क्षेत्रमा पुग्नेछ। 

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबाकार एस फायेले डोल्मा जस्ता निजी इक्विटी कोषहरू नेपाली कम्पनीहरूका लागि पुँजी र विशेषज्ञताको महत्वपूर्ण स्रोत हुनसक्ने बताउँदै यस्ता लगानीबाट महामारीको प्रभावसँग संघर्ष गरिरहेका व्यवसायहरुलाई सहयोग पुग्ने बताएका थिए।