ओली क्याबिनेटसँग खर्च गर्ने क्षमतामा ह्रास, अर्थ मन्त्रालयको खर्च प्रगति ३६%, रक्षाको उच्च

बिजमाण्डू
२०७८ असार ४ गते ०८:४९ | Jun 18, 2021
ओली क्याबिनेटसँग खर्च गर्ने क्षमतामा ह्रास, अर्थ मन्त्रालयको खर्च प्रगति ३६%, रक्षाको उच्च


Tata
GBIME
Nepal Life

काठमाडौं। संघीय मन्त्रालयहरुको खर्च गर्ने क्षमता घट्दै गएको छ। चालु वर्ष सकिन केही दिनमात्रै बाँकी रहँदा कुनै पनि मन्त्रालयले सन्तोषजनक खर्च गर्न सकेका छैनन्। 

एकै आर्थिक वर्षमा कोभिड संक्रमणको असर दुईपटक भोग्नु परेपछि पनि मन्त्रालयहरुले खर्च क्षमता बढाउन सकेका छैनन्।

विकास खर्च गर्ने मुख्य मन्त्रालयहरुको खर्च सन्तोषजनक छैन। सबैभन्दा धेरै खर्च गर्ने जिम्मा लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ महिनामा खर्च लक्ष्यको ४५.१४ प्रतिशत मात्रै गरेको छ। 

यो मन्त्रालयले चालु वर्षमा १ खर्ब ४९ अर्ब ४४ करोड खर्च लक्ष्य लिएको मन्त्रालयले ६७ अर्ब ६४ करोड मात्रै खर्च गरेको छ। मन्त्रालयले १० अर्ब ४० करोड चालु शीर्षक बजेटमा ८ अर्ब ५७ करोड खर्च गरेको छ। यो समग्र प्रगतिको ८२.४६ प्रतिशत हो।

पुँजीगत खर्चतर्फ सन्तोजनक प्रगति छैन। १ खर्ब ३९ अर्ब ४४ लाख विकास गर्नुपर्ने भौतिकले ५९ अर्ब ६ करोड मात्रै खर्च गरेको छ। 

मन्त्रालयतर्फ सबैभन्दा राम्रो खर्च प्रगति रक्षा मन्त्रालयले गरेको छ। यो मन्त्रालयले ११ महिनामा कुल खर्च प्रगतिको ८४.६८ प्रतिशत प्रगति गरेको छ। 

रक्षाले चालु वर्षमा ५४ अर्ब २२ करोड खर्च लिएको थियो। ११ महिनामा ४५ अर्ब ९१ करोड खर्च गरिसकेको छ। यो मन्त्रालय अन्तर्गत नेपाली सेनाको मसलन्द, तालिम खर्च, तलब लगायत हुने भएकाले खर्च प्रगति देखिएको हो। 

यस्तै अर्को विकासे मन्त्रालय ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयले ११ महिनामा करिब ३९ प्रतिशत मात्रै खर्च गरेको छ। यो मन्त्रालयका लागि चालु वर्षमा ४१ अर्ब ८८ करोड बजेट विनियोजन भएको छ।

११ महिना सकिदा ऊर्जाले १६ अर्ब २३ करोड मात्रै खर्च गरेको छ। कोभिडका कारण देशभर जलविद्युत आयोजनाहरुको प्रगति हुन सकेको छैन।

यस्तै विमानस्थलको निर्माण गरिरहेको नागरिक संस्कृति पर्यटन तथा नागरिक उड्ययन  मन्त्रालयले ५४ प्रतिशत मात्रै खर्च प्रगति गरेको छ। यो मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणसँगै निजगढ विमानस्थलको सम्भाव्यता अध्ययन लगायतमा खर्च गरिरहेको छ। तर चालु वर्षमा यो मन्त्रालयले उल्लेख्य प्रगति गर्न सकेको छैन। 

यसैगरी अर्थ मन्त्रालयले नै खर्च प्रगतिमा उल्लेख्य प्रगति गर्न सकेको छैन। चालु वर्षमा अर्थमन्त्रालयले खर्च लक्ष्यको ३६.३१ प्रतिशत मात्रै खर्च गरेको छ । यो मन्त्रालयले चालु वर्षमा ३० अर्ब ८७ करोड बजेट राखेको थियो। ११ महिनामा यो मन्त्रालयले ११ अर्ब ५६ करोड मात्रै खर्च गरेको छ। यस्तै अन्य ६ शीर्षकमा रहेको रकमको पनि सन्तोषजनक खर्च रहेको छैन। 

असारे खर्चमा भर

प्रत्येक मन्त्रालयमा असारे खर्चको तयारी भइरहेको छ। महालेखा नियन्त्रक कार्यालय तथ्यांक अनुसार ११ महिनासम्म ९ खर्ब १६ अर्ब मात्रै खर्च गरेको छ।

यो वर्ष १४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्य छ। प्रत्येक आर्थिक वर्ष जस्तै यो वर्ष पनि असारमा खर्चको चाप देखिने भएको छ।

यो महिना डेढ खर्बभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यो महिना सरकारी कर्मचारीहरु सकेसम्म विनियोजन भएको बजेटको खर्च गर्ने प्रयास गर्नेछन्। अहिले प्रत्येक मन्त्रालयका कर्मचारीहरु कसरी धेरै बिल बनाउने प्रयास गरिरहेका छन्।