ग्लोबल आइएमईकाे अवकाश पाएका कर्मचारीका लागि खाता, निक्षेपमा उच्च प्रतिफल, कर्जामा सहुलियत

बिजमाण्डू
२०७८ असार ३ गते १८:०३ | Jun 17, 2021
ग्लोबल आइएमईकाे अवकाश पाएका कर्मचारीका लागि खाता, निक्षेपमा उच्च प्रतिफल, कर्जामा सहुलियत

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकाश पाएका कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकाश मुद्दती खाता सञ्चालनमा ल्याएको छ।

यस खाता अन्तर्गत बैंकले ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउने जनाएको छ।

उक्त खाताले निवृत्तीभरण पाइरहेका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रूपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने बैंकको भनाइ छ। यस्तै, स्वास्थ्योपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले यसले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

ग्लोबल समृद्ध अवकाश मुद्दती खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्ने छन्। पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्ने बैंकले जनाएको छ। यसरी थप गर्दै जाने रकममा समेत सुरूमा तोकिएको मुद्दती निक्षेपको ब्याज प्राप्त हुने बैंकले जनाएको छ। 

ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङमार्फत निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सस्तो ब्याजदरमा कर्जा लिन सकिने बैंकले जनाएको छ। 

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्न सक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र ब्याज रकम भुक्तानी दिने बैंकले जनाएको छ।

यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड र एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधालगायतका सुविधा उपलब्ध गराउने बताइएको छ।