निषेधाज्ञासँगै उद्योग र व्यवसायीको गोदाममा सामान थुप्रियो, अर्बौ रुपैयाँ उधारो फस्यो

बिजमाण्डू
२०७८ असार ३ गते १५:५६ | Jun 17, 2021
निषेधाज्ञासँगै उद्योग र व्यवसायीको गोदाममा सामान थुप्रियो, अर्बौ रुपैयाँ उधारो फस्यो

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले वीरगंजमा उत्पादित सामान थुप्रिएको छ। वीरगंज–पथलैया औद्योगिक करिडोरका करिब एक हजार उद्योग, हजारौ थोक बिक्रेता र पसलेको गोदाममा सामान थुप्रिएको उद्योगीले बताए।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता अनुसार निषेधाज्ञाका कारण सामान बेच्न नपाउँदा गोदाममा थन्क्याउनु परेको हो।
निषेधाज्ञाका कारण मालसमान एक जिल्लाबाट अर्को जिल्लामा पठाउन यातायातको अभाव, चर्को भाडा र  बजारमा न्यून माग रहेकाले समस्या भएको हो।

‘वीरगंजका एक हजार उद्योगमध्ये ७० प्रतिशत मात्र आंशिक रूपमा चलेका छन्। त्यो पनि चामल, दाल, तेल, औषधी लगायतका अत्यावश्यक मात्रै चलेको हो,’ उनले भने,‘करिब सात सय उद्योगले पनि दैनिक उत्पादन ६५ प्रतिशतले कटौती गरेका छन्।’ निषेधाज्ञाले कच्चा पदार्थको आयात, प्रशोधन तथा उत्पादन, ढुवानी, खरिद–बिक्री, भुक्तानी लगायतको चेन ब्रेक भएको उनले बताए। ब्रेकडाउन भएको उनको विश्लेषण छ।

‘व्यवसायको पूरै चेन ब्रेक भएको छ। अर्बौको समान उद्योग र व्यवसायीको गोदाममै थुप्रिएको छ। अर्बौ रुपैयाँ उधारो छ,’ उनले भने, ‘अब निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाउनुपर्छ।’ उद्योगी गुप्ताका अनुसार सबैभन्दा पहिले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी बजार र यातायात खुलाउनु पर्छ।