निषेधाज्ञायता डेढ महिनामा ९७ व्यवसायिक फर्ममाथि वाणिज्यको कारबाही, १४ लाख रुपैयाँ जरिवाना

बिजमाण्डू
२०७८ असार २ गते १४:४३ | Jun 16, 2021
निषेधाज्ञायता डेढ महिनामा ९७ व्यवसायिक फर्ममाथि वाणिज्यको कारबाही, १४ लाख रुपैयाँ जरिवाना


काठमाडौं। दर्ता नगरी कारोबार गर्ने, बढी मूल्यमा बेच्ने, बिलबिजक नराख्ने ९७ वटा व्यवसायिक फर्म कारबाहीमा परेका छन्। 

Tata
GBIME
Nepal Life

कारबाहीबाट वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डेढ महिनामा १३ लाख ९६ हजार रुपैयाँ जरिवाना असुली गरेको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा गत वैशाख १६ गतेदेखि जेठ अन्तिम सातासम्म २०३ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको विभागले जनाएको छ। 

६६ वटा फर्महरुलाई चेतावनीसहितका अन्य कारबाही गरेको विभागका प्रवक्ता शिवराज सेढाइँले बताए। एउटा फर्मको कारोबार रोक्का गरिएको छ। अनुगमनकै क्रममा  ३० हजार १ सय ५० रुपैयाँ बराबरको म्याद नाघेका वस्तुहरु नष्ट गरिएको जानकारी उनले दिए।  

विभागले जेठ महिनामा मात्र उपत्यका बाहिरका ५ जिल्लामा एक सय ६९ व्यवसायिक फर्म अनुगमन गरेको छ। १० वटा फर्मलाई करिब ३ लाख २० हजार रुपैयाँ जरिवाना गरेको छ भने ३ लाख ८ हजार ३ सय ६२ रुपैयाँ बराबरको म्याद नाघेको खानेकुरा नष्ट गरेको विभागले जनाएको छ। 

निषेधाज्ञामा दैनिक बजार अनुगमन गर्दा कोभिड संक्रमणको जोखिम हुने भएकाले विभागले उपभोक्ताको गुनासो र सूचनाका आधारमा बजार अनुगमन गर्दै आएको छ।

विभागले निषेधाज्ञाको समयमा खाद्यान्न र स्वास्थ्यलाई प्रमुख विषयगत क्षेत्र बनाएर अनुगमन गर्दै आएको थियो। पछिल्लो समय विभागमा मूल्यवृद्धिको गुनासो बढी आउने गरेको प्रवक्ता सेढाइँले बताए। उनका अनुसार स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुहरुमा बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएको छ।