खाने तेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो, अन्तर्राष्ट्रिय बजारमा निर्भर तेलको भाउ अझै घट्ने

बिजमाण्डू
२०७८ असार १ गते १३:२४ | Jun 15, 2021
खाने तेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो, अन्तर्राष्ट्रिय बजारमा निर्भर तेलको भाउ अझै घट्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। कच्चा पदार्थको मूल्यमा भारी गिरावट आएपछि खाने तेलको मूल्य लिटरमै १० रुपैयाँ घटेको छ।

कच्चा सोया तेल र कच्चा सूर्यमुखीको तेलमा एक हप्तामा प्रति टन ३ सय डलर हाराहारीमा मूल्यमा ह्रास आएपछि नेपालका तेल उद्योगले मूल्य घटाएका हुन्। मूल्य घटाएर तेल बेच्ने प्रतिस्पर्धा सुरु भएको छ।

अमृत सनफ्लावर तेलको मूल्य लिटरमै १० रुपैयाँ घटेको छ। काठमाडौंका एक थोक बिक्रेताका अनुसार २४ सय रुपैयाँ कार्टुनमा अमृत सनफ्लावर तेल बिक्री गर्न थालिएको छ। केही दिन अघि यो तेलको मूल्य कार्टुनको २५ सय रुपैयाँ थियो। एउटा कार्टुनमा १० लिटर हुन्छ।

केएल दुगड समूहका प्रवन्ध निर्देशक कुमुद दुगडले सनफ्लावर तेलको मूल्य लिटरमा पाँच रुपैयाँ घटेको बताए। दुगडको स्वस्तिक आयलले धारा सनफ्लो, धारा हेल्थ र धारा तोरीको तेल उत्पादन गर्छ। ‘मूल्य घट्न थालेपछि डिमान्ड पनि कम हुन्छ। डिलर र बिक्रेताले तत्कालै सामान उठाउँदैनन्। त्यही भएर मूल्य घट्ने होड सुरु हुन्छ,’ उनले बिजमाण्डूसँग भने, ‘अन्तर्राष्ट्रिय बजारसँग निर्भर हुने भएकाले तेलको मूल्य घटबढ हुन्छ। केही दिन अघिसम्म मूल्य बढेको बढ्यै थियो। अब घट्न थाल्छ।’

अर्जेन्टिना र ब्राजिलबाट आयात गरिने भटमासको कच्चा तेलको मूल्य सात दिनअघिसम्म १ हजार ४ सय ७५ डलर थियो। उक्त मूल्य सोमबार राति १ हजार २ सय अमेरिकी डलरमा झरेको छ। गत वर्ष यही बेला यसको मूल्य ६ सय ६० अमेरिकी डलर मात्र थियो।