निषेधाज्ञा खुकुलो पार्दै लैजान नाडाको माग, ‘नत्र भोकले जनता सडकमा निस्कने संभावना रहन्छ’

बिजमाण्डू
२०७८ जेठ ३० गते ०९:२८ | Jun 13, 2021
निषेधाज्ञा खुकुलो पार्दै लैजान नाडाको माग, ‘नत्र भोकले जनता सडकमा निस्कने संभावना रहन्छ’


Tata
GBIME
Nepal Life

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले लकडाउन खुकुलो बनाउँदै लैजान माग गरेको छ।

सरकारबाट कोभिड १९ को दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा राजधानीलगायत विभिन्न जिल्लामा निषेधाज्ञा गर्दै आएको छ। 

केही जिल्लामा वैशाख १३ र राजधानीमा वैशाख १६ बाट निरन्तर निषेधाज्ञा जारी छ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले जनतालाई छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी लकडाउन खुकुलो पार्न आग्रह गरेका छन्।

संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्ने उनले बताए। 

नाडाका तर्फबाट एक विज्ञप्ति जारी गर्दै 'थपिँदो लकडाउन अवधिका कारण अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रबल हुँदै गएको' उनले बताएका छन्।

'यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जाँदा समस्या अरु भयावह हुने निश्चित नै छ,' विज्ञप्तिमा भनिएको छ।

असहज स्थिति आउनुअघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गरी लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान माग गरिएको छ।