निषेधाज्ञा पछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत, आयात करिब एक टिबिपिएस हाराहारी

बिजमाण्डू
२०७८ बैशाख २१ गते १३:२३ | May 4, 2021
निषेधाज्ञा पछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत, आयात करिब एक टिबिपिएस हाराहारी

Tata
GBIME
Nepal Life

काठमाडौं। स्थानीय प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाएसँगै इन्टरनेट ब्यान्डविथ खपत दिउँसोको समयमा २५ देखि ३० प्रतिशत बढेको छ। 

सधैं रातको समयमा इन्टरनेटको पिक डिमान्ड हुने गरेकोमा निषेधाज्ञाका कारण दिउँसै खपत बढेको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। 

सामान्य समयमा साँझको समयमा इन्टरनेटको डिमान्ड बढी हुने भएपनि निषेधाज्ञाका कारण बिहान १० बजेबाटै पिक आवर सुरु हुने गरेको आइएसपीहरुको भनाइ छ। 

अहिले नेपाली आइएसपीहरुले आठ सय जिबिपिएसदेखि १ टिबिपिएससम्म ब्यान्डविथ भारतबाट आयात गरिरहेको पराजुलीले जानकारी दिए। नेपाली आइएसपीहरुले भारतीय दूरसञ्चार कम्पनी एयरटेल र टाटाबाट मात्रै इन्टरनेट ब्यान्डविथ नेपाल भित्र्याइरहेका छन्।

२०७६ चैतमा लगाएको देशव्यापी लकडाउन अघि कुल ब्यान्डविथ खपत चार सय जिबिपिएस थियो। झण्डै चार महिना लामो लकडाउन पछि नेपालमा इन्टरनेट ब्यान्डविथ खपत २५ प्रतिशतले बढेर पाँच सय जिबिपिएस पुगेको थियो।

गत भदौमा पुन: लोकप्रिय बनेको मोबाइल एप टिकटकको प्रयोग अत्याधिक बढ्दा ब्यान्डविथ खपत करिब सात सय जिबिपिएस पुगेको थियो। कोरोना महामारीका कारण धेरै क्रियाकलापहरु भर्चुअल माध्यममा सीमित भएसँगै आइएसपीहरुले भारतबाट आयात गर्ने ब्यान्डविथ संख्या बढ्दै गएको छ। 

कार्यालयहरु वर्क फ्रम होम, कक्षा, परीक्षा एवम् अन्य शैक्षिक गतिविधि, बैठक, छलफल, मनोरञ्जनलगायत सबै क्रियाकलापहरु इन्टरनेटबाटै भइरहेकाले इन्टरनेट ब्यान्डविथ खपत बढ्दै गएको सेवा प्रदायकहरुले जनाएका छन्।

तत्काल इन्टरनेट विना काम नहुने भएपछि आइएसपीको व्यापार बढेको भएपनि धेरै प्रयोगकर्ताहरु एकैसाथ सक्रिय बन्दा स्तरीय सेवा दिन भने चुनौती थपिएको छ। 

आइएसपीहरुले गत वर्षदेखि नै विभिन्न समयमा बन्दाबन्दी तथा निषेधाज्ञाका कारण आवश्यक ब्यान्डविथ खपत व्यवस्थापन गर्दै आएकाले चुनौती नथपिएको पराजुलीको दाबी छ। ब्यान्डविथ खपत पिक आवरमा पनि सामान्य समयभन्दा बढी नभएकाले आइएसपीहरुले सहजै लोड व्यवस्थापन गरिरहेको बताएका छन्।