यात्रु नभएपछि आन्तरिक हवाई उडान ५० प्रतिशतले कटौती, धनगढी- काठमाडौंको भाडा २३ सय रुपैयाँ

बिजमाण्डू
२०७८ बैशाख १९ गते ११:३४ | May 2, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञाको चौथो दिन यात्रु कम भएपछि आन्तरिक हवाई कम्पनीले उडान ५० प्रतिशतले घटाएका छन्। यात्रु कम भएपछि काठमाडौं उपत्यका आउने हवाई भाडासमेत सस्तिएको छ।

अहिले काठमाडौबाट बाहिर जानेको संख्या भने बढी छ। आइतबार बुद्ध एयरले ३८ सय यात्रुले बुकिङ गरेको जनाएको छ। उडान संख्या घटे पनि काठमाडौंबाट बाहिरिने यात्रुको माग उल्लेख्य रहेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। 'यतिखेर काठमाडौं भित्रिनेभन्दा बाहिरिनेको संख्या बढी छ। आइतबार धनगढी, विराटनगर, जनकपुर लगायत गन्तब्यबाट काठमाडौं भित्रने यात्रु संख्या बढेको छ,' उनले भने।

 दैनिक ३८ वटा उडान गर्दै आएको यती एयरलाइन्सले पछिल्लो समय १८ वटा उडान गर्दै आएको जनाएको छ। यतिखेर काठमाडौंबाट तराई क्षेत्रमा हुँदै आएको अधिकांश उडानमा वैदेशिक रोजगारबाट स्वदेश फर्किने रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 'यात्रु माग धमाधम घटिरहेको छ।  यात्रुको माग र उडान संख्या घटेसँगै अहिले भाडादर धेरै नै सस्तिएको अवस्था छ,' उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आइतबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्स लगायत वायुसेवा कम्पनीले क्रमशः ४, ३६, १८, ४, १२, तीन गरी जम्मा ७७ वटा उडान गर्नेछन्। 

काठमाडौं आउने यात्रुको माग कम भएसँगै यतिखेर विभिन्न कम्पनीले सिमरा, धनगढी, विराटनगर, भरतपुर, नेपालगञ्ज, जनकपुरलगायत गन्तव्यको भाडा घटाएका छन्। अहिले सिमरा-काठमाडौं १३ सय ९५ रुपैयाँ, धनगढी-काठमाडौं २३ सय रुपैयाँ, विराटनगर-काठमाडौं १५ सय रुपैयाँ, भरतपुर-काठमाडौं दुई हजार रुपैयाँ र नेपालगंज-काठमाडौं १९ सय ९५ रुपैयाँ निर्धारण गरिएको वायुसेवा कम्पनीले जनाएका छन्।