२५ वर्षे दुई युवकको स्टार्टअप बिजनेस, जसले काठमाडौंबाट सुरु गर्दैछन् ‘बाह्रथरी मःमः’

बिजमाण्डू
२०७८ बैशाख ७ गते १३:५१ | Apr 20, 2021
२५ वर्षे दुई युवकको स्टार्टअप बिजनेस, जसले काठमाडौंबाट सुरु गर्दैछन् ‘बाह्रथरी मःमः’


Tata
GBIME
Nepal Life

काठमाडौं। पोखरामा होटल व्यवसाय गर्दै आएका सौराहाका आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छाडेका कपनका सुनिम मैनालीले काठमाडौंको डिल्लीबजारमा १२ थरी मःमः रेरष्टुरेन्ट सञ्चालनमा ल्याउने भएका छन्।

उमेरले २५ वर्ष नकाटेका अर्याल र मैनाली स्कुले साथी हुन्। उच्च शिक्षा अध्ययनपछि काठमाडौं लगायत विभिन्न शहरमा फस्टाउँदै गएको रेष्टुरेन्ट व्यवसाय देखेपछि उनीहरु एउटै व्यवसायमा आबद्ध हुने निधो गरे। र, रेष्टुरेण्ट खोल्दा मुलुकको लोकप्रिय परिकारका रूपमा रहेको मःमः लाई प्राथमिकतामा राखे। 

रेष्टुरेन्ट खोल्नु अगाडि मुलुकका विभिन्न शहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमःको स्वाद लिएका उनीहरुले आउँदो शनिबारदेखि आफ्नै आउटलेटमार्फत मःमःका पारखीलाई विभिन्न स्वाद पस्कने भएका छन्। मःमः का परिकार अन्तर्गतका '१२ थरीको स्वाद' एकै ठाउँमा पस्कने उद्देश्यले  रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको अर्याल बताउँछन्। 

१२ वर्षदेखि सम्पर्कमा रहेका दुवै युवाले मुलुकमा खाजाको रूपमा अत्यधिक रुचाइएको मःमःको मागलाई मौलिक रुपमा पस्कने रहरले यो व्यवसाय सुरु गर्न लागेको बताएका छन्। 'हामी १२ वर्षदेखि सम्पर्कमा छौं। पहिलेदेखि आफ्नै व्यवसाय सरु गर्ने योजना बनाएका थियौं। खाजाको रूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ। हामीले आफ्नो आउटलेटमार्फत विशेषगरी विभिन्न प्रकारका मःमः को स्वाद पस्कने छौं,' अर्यालले भने। 

डिल्लीबजारको पहलो आउटलेटबाट सुरु गर्न लागिएको व्यवसायलाई निकट भविष्यमा ग्राहकको माग अनुसार विस्तार गर्दै जाने व्यवसायिक योजना रहेको अर्यालले सुनाए। 'अहिले हामीले सुरुवात गरेका छौं। अबको ६ महिनाको अवधिलाई ट्रायल फेजका रूपमा लिएका छौं। ग्राहकको मागअनुसार हामी आउटलेट विस्तार गर्दै जानेछौं,' उनले भने।

१५० रुपैयाँमा १२ थरी    
डिल्लीबजारमा पाँच सय वर्गमिटर क्षेत्रफलको आउटलेटमा १२ थरी मःमःको आउटलेट तयार भइसकेको छ। एकपटकमा २६ जना ग्राहकले सहजै सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक सुनिम  मैनालीले बताए।

हालको  अवस्थालाई  मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उनले जानकारी दिए। 'सुरुवाती चरणमा हाम्रो रेष्टुरेन्टमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्,' उनले भने। ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ। 

रेष्टुरेन्टमा कोदो, फापर, झोल, ग्रीन, चिज लगायत विभिन्न थरीका मःमः पाइनेछ। 'अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ। हामीले यी दुई प्रकारका मःमःलाई अझै प्राथमिकतामा राखेका छौं,' उनले भने, 'ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं।' 

प्रत्येक परिकारमा तीन थरीको अचार 'चटनी' राखिएको उनले जानकारी दिए। ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्। रेष्टुरेन्टमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको उनले जानकारी दिए। पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ। रेष्टुरेन्टमा हाल ६ जना जनशक्ति छन्।