धौवादीको खानीबाट पिग आइरन बन्ने, छड र रेलको लिग बनाउन सकिने चिनियाँ कम्पनीको रिपोर्ट

बिजमाण्डू
२०७८ बैशाख ४ गते १५:११ | Apr 17, 2021
धौवादीको खानीबाट पिग आइरन बन्ने, छड र रेलको लिग बनाउन सकिने चिनियाँ कम्पनीको रिपोर्ट


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको खानीमा पाइने फलाम काम लाग्ने रहेको रिपोर्टले खुलाएको छ। सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चालन तयारी गरिएको खानीको फलाम काम लाग्ने चीनको जियोलजिकल सर्भेको रिपोर्टले देखाएको हो।

एक सय केजी कच्चा फलामबाट ३९ केजीसम्म पिग(क्रुड) आइरन बनाउन सकिने रिपोर्टमा उल्लेख छ। विभागले गत असारमा नमुना परीक्षणका लागि १३ सय टन कच्चा फलाम चीन पठाएको थियो। विभागले चीनको छेन्दुस्थित सिचुवान इन्स्टिट्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमुना पठाएको थियो। धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’ परीक्षणबाट औद्योगिक रूपमा फलामको उत्खनन गर्न सकिने प्रमाणित भएको हो। 

परीक्षणको नतिजा सकारात्मक आएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए। 'रिपोर्ट अनुसार एक सय केजी कच्चा पदार्थबाट ३९ केजीसम्म पिग आइरन निकाल्न सकिने देखिएको छ,' उनले भने। 

नेपालको खानी अझैसम्म उपयोगमा छैन। विस्तृत अनुसन्धान गरेर उपयोगमा ल्याउनुपर्ने आवाज उठ्दै आएको छ। यसका लागि सरकारले २०७६ पुसमा धौवादी फलाम कम्पनी लिमिटेड गठन पनि गरिसकेको छ। तर, नमुना झिकेर परीक्षणका लागि पठाउनेबाहेक खानीबाट कसरी झिक्ने र प्रशोधन गर्ने भन्नेबारे कार्ययोजना तयार पारिसकेको छैन। खानीको फलाम काम लाग्ने रिपोर्ट आएपछि भने सरकारी अधिकारीहरूमा चासो बढेको छ। 

प्राविधिकहरुका अनुसार हाल भारतले एक सय केजी कच्चा पदार्थबाट ५९ केजी फलाम निकाल्ने गरेको छ। यस्तै चीनले ३० देखि ३५ केजीसम्म मात्रै उत्पादन गर्दै आएको छ। फलामको सह-उत्पादनमा सिमेन्टमा प्रयोग हुने धुलोसमेत उत्पादन हुनेछ। यसैगरी सोही प्रकृतिको धुलोबाट इँटासमेत बनाउन सकिने कम्पनीका इन्जिनियर सुभाष महतले बताए। 

व्यवसायिक अध्ययन गरिँदै
फलामको व्यावसायिकरूपमा उत्पादन सफल हुन्छ या हुँदैन भन्ने विषयमा कम्पनीले थप अध्ययन गर्नेछ। कम्पनीले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र फिजिबिलिटी अध्ययनका लागि बोलपत्र आह्वान गरेको छ। यसबाट छनोटमा परेको कम्पनीले उद्योगको लागत, प्रतिकेजी उत्पादन लागत, विद्युत,  अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने/नसक्ने निर्क्योल गर्नेछ। यसका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ।

अहिलेकै अवस्थामा नेपाली उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउने सकिने कम्पनीका कर्मचारीहरुले विश्वास गरेका छन्। 'अहिले हामी यो लेबलको नै फलाम कति उत्पादन गर्न सक्छौं भन्न सक्ने अवस्थामा छैनौं। यद्यपि सकारात्मक नतिजा आउँछ भन्नेमा छौं,' इन्जिनियर महतले भने, 'तथ्यगतरूपमै केही समयपछि प्रतिवेदनले देखाउनेछ।' 

कम्पनीले अहिले दैनिक ८ सय टन फलाम उत्पादन गर्ने गरी तयारी अघि बढाएको छ। यसका लागि ४० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ। यद्यपि उद्योगको क्षमता बढेसँगै विद्युतको माग पनि वृद्धि भएर जानेछ। 

कति भयो प्रगति ?
सरकारले प्रत्येक वर्ष बजेट वक्तव्यमार्फत एकै आर्थिक वर्षभित्र फलाम उत्पादन गर्ने उल्लेख गरे पनि सोही गतिमा काम अघि बढ्न सकेको छैन। विशेषगरी उद्योगको अध्ययन नगरी बजेटमा राख्ने गरेकाले पनि कामले सफलता पाउन सकेको छैन। सरकारले मन्त्रिपरिषद् बैठकबाट नवलपरासीस्थित धौवादी फलाम खानी उपयोगमा ल्याएर कम्पनी स्थापना गरि काम अघि बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै कम्पनी स्थापना भएको हो।

हाल उक्त कम्पनीमा ११ जना कर्मचारी छन्। सहसचिवको नेतृत्व सञ्चालन हुनेगरी कम्पनीको गर्ने मोडालिटी तयार गरिएको छ। यस्तै निजी क्षेत्रको ४५ प्रतिशत केन्द्र सरकारको ५० प्रतिशत स्थानीय तहको २ र प्रदेश सरकारको ३ प्रतिशत सहभागिता रहनेछ। कम्पनीले धौवादीमा रहेको खानीको दुई पटकको परीक्षण गरिसकेको छ। 

सुरुमा स्पोन्ज फलाम उत्पादन हुने/नहुने अध्ययनको लागि परीक्षण गर्न कच्चा पदार्थको नमुना पठाएको थियो। स्पोन्ज फलाम उत्पादन हुने भए पनि आर्थिकरूपले सफल नहुने रिपोर्ट आएको थियो। यस्तै पछिल्लो पटकको नमुना परीक्षण रिपोर्टबाट पिग आइरन उत्पादन हुने र यो व्यवसायिकरूपमा सम्भव हुने अनुमान गरिएको छ। 

के हो पिग आइरन ?
पिग आइरन फलामजन्य कच्चा पदार्थबाट निस्किने क्रुड(कच्चा) फलाम हो। यसको प्रयोग फलामको विभिन्न सामाग्री बनाउनका लागि प्रयोग गरिन्छ। यो फलामबाट रेलको लिग, सडकमा ढल छोप्ने ढकनी निर्माणको लागि पनि प्रयोग गर्ने गरिन्छ। यस्तै छड बनाउनका लागि प्रयोग गरिन्छ। 

कहाँ कति छ फलाम
सरकारले देशका विभिन्न स्थानमा फलाम खानी रहेको जनाएको छ। प्रारम्भिकरूपमा ४ ब्लक छन्। जसमा दुर्लुङ्गा ब्लक, पोखरी ब्लक, राम्चे ब्लक र धौवादी ब्लक छन्। दुर्लुङ्गा हुप्सेकोटमा पर्छ, यो ब्लक २० हेक्टर क्षेत्रफलमा छ।

आर्थिक वर्ष २०७३/७४ मा गरिएको अध्ययन अनुसार उक्त क्षेत्रमा ५० लाख टन फलामको कच्चा पदार्थ रहेको प्रमाणित भइसकेको छ। यस्तै साबिकको नवलपरासी जिल्लामा पर्ने पोखरी ब्लकको सुरुमा एक सय हेक्टरमा फलाम खानीको अन्वेषण गरिएको थियो। यस क्षेत्रको जमिनमुनि दुई करोड टन फलाम कच्चा पदार्थ छ।

यसैगरी राम्चे ब्लकका लागि ४ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा अध्ययन गरिएको थियो। यो सबैभन्दा ठूलो ब्लक हो। यसमा ४ करोड २० टन लाखभन्दा बढी फलामको कच्चा पदार्थ छ। यस्तै हुप्सेकोट-५ को धौवादी ब्लकमा आर्थिक वर्ष २०७२/७३ मा अध्ययन गरिएको थियो। उक्त ब्लकमा २ करोड १० लाख टन भन्दा बढी फलाम कच्चा पदार्थ रहेको रिपोर्ट छ।

१ सय ८ वटा नमुनाको परीक्षणबाट उक्त क्षेत्रमा फलामको कच्चा पदार्थ रहेको प्रमाणित भएको हो। यो क्षेत्रको एक सय हेक्टर क्षेत्रफलमा अध्ययन गरिएको थियो।