भरतपुरमा चारतारे स्तरको होटल सिराइचुली खुल्यो, उमेश श्रेष्ठसहित स्थानीय व्यापारीको लगानी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ बैशाख ३ गते ११:४८ | Apr 16, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। चितवन भरतपुरमा झण्डै ८५ करोड लगानीमा चारतारे स्तरको सिराइचुली होटल सञ्चालनमा आएको छ।

कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठसहित चितवनका २१ जना व्यवसायीको संयुक्त लगानीमा १२ कट्ठा जग्गामा होटल निर्माण भएको छ। शहरीकरणसँगै चितवनमा ठूलो लगानीमा होटल खुल्ने क्रम बढ्दो छ।

बुधबारदेखि सफ्ट ओपनिङ भएको यो होटलमा ७१ वटा कोठा छन्। होटलका सञ्चालक एवं चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कल्याण जोशीले कोभिडका कारण होटल सञ्चालनमा आउन एक वर्ष ढिला भएको बताए।

‘हामीले गत वर्ष नै होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेका थियौं। तर कोभिडका कारण निर्माणमा ढिलाई हुँदा यो वर्ष सञ्चालनमा आएको हो,’ उनले बिजमाण्डूसँग भने। आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको होटलमा इन्फिनिटी स्वीमीङ पुल, एक सय जना क्षमताको रुफटप रेष्टुरेण्ट एण्ड बार, ६ सय जना क्षमताको ब्यांकेट हल, १० वटा सेमिनार हल, डाइनिङ हल, फिजिकल फिटनेस हल, स्पा लगायत सुविधा रहेको जोशीले बताए। उनका अनुसार यो होटलको आर्किटेक्ट क्रिएटिभ डिजाइनले गरेको हो।

विशेषगरी कर्पोरेट इभेन्टलाई प्राथमिकता दिँदै आंशिक सेवा सुरु गरेको होटलले सुरुवाती चरणमा आकर्षक अफर ल्याएको उनले बताए। 'चितवनमा प्राय जसो कर्पोरेट, सोसियल इभेन्टको माग रहेको छ। त्यही भएर हामीले सफ्ट ओपनिङ गरेर सेवा दिन थालेका हौं,' उनले भने। जोशीका अनुसार कोभिडका कारण स्वास्थ्य सुरक्षा अवलम्बन गरेर होटल सञ्चालनमा ल्याइएको छ।

नेपालीसँगै कन्टिनेन्टल परिकारको सेवा दिन सुरु गरेको होटलले पाहुनाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हाइजिनलाई विशेष प्राथमिकता दिएको उनले बताए। चारतारे स्तरको सेवा सुरु गरेको होटलले तीन महिनाभित्र पर्यटन विभागबाट स्टार रेटिङ लिने योजना रहेको उनले जानकारी दिए। 'हामीले सरकारको सबै मापदण्ड पूरा गरेर होटल सञ्चालनमा ल्याएका छौं। तीन महिनाभित्र पर्यटन विभागबाट स्टार रेटिङ लिनेछौं,' जोशीले भने। यो होटलको प्रतिस्पर्धा भरतपुर गार्डेन रिसोर्टसँग हुनेछ।

पछिल्लो समयमा चितवनमा हुने ठूला विवाहका समारोह चितवन गार्डेन रिसोर्टमा हुने गर्छ। त्यही विवाह लगायतका सामाजिक कार्यलाई समेत लक्षित गर्दै सिराइचुलीले समेत ब्यांकेट तयार पारेको छ। अहिले भरतपुरमा सञ्चालनमा रहेका होटलमध्ये सिराइचुली राम्रो भएकाले उपभोक्ता भने आकर्षित गर्ने देखिन्छ। तर कोभिडका कारण आन्तरिक पर्यटक समेत घटेकाले केही समस्या भने ब्योहोर्नु पर्नेछ। होटलको अध्यक्षमा चुडामणी खनाल छन्।

अर्को वैशाखमा तीन होटल

अर्को वैशाखभित्र तीन वटा नयाँ होटल सञ्चालनमा आउने जोशीले जानकारी दिए। सामूहिक लगानीमै चितवनमा पटिहानी रिसोर्ट, रिभर बैंक फन पार्क र ललितपुरमा गोदावरी फरेष्ट होटल सञ्चालनमा आउने उनले बताए।

'कोभिड-१९ का कारण हाम्रो विभिन्न परियोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ। अबको एक वर्षमा पाइपलाइनमा रहेका तीनवटै परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं। सबै परियोजनामा हाम्रो आफ्नै व्यवस्थापन रहनेछ,' जोशीले भने।