अनेरास्ववियु-अर्थमन्त्री भेट, प्रत्येक बैंक शाखाबाट २० जनालाई सर्टिफिकेट ऋणको माग

बिजमाण्डू
२०७७ चैत्र २५ गते १७:३७ | Apr 7, 2021
अनेरास्ववियु-अर्थमन्त्री भेट, प्रत्येक बैंक शाखाबाट २० जनालाई सर्टिफिकेट ऋणको माग

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन्। बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन्।

कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको पौडेलले बताए। उनले बजेटमा समावेस गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भएपनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको बताए। कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधि भित्रै रहेर बजेटको स्रोत निर्माण गर्नुपर्ने बाध्यता रहेको अर्थमन्त्री पौडेलले बताए।

अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन्। शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले  न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्थाको माग गरेको छ।

यस्तै सरकारी सेवा सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ।