एफएनसीसीआई र डेभलपमेन्ट बैंकर्स एशोसिएसनबीच सम्झौता, साना उद्योगलाई कर्जा दिने

बिजमाण्डू
२०७७ चैत्र २२ गते २०:३७ | Apr 4, 2021
एफएनसीसीआई र डेभलपमेन्ट बैंकर्स एशोसिएसनबीच सम्झौता, साना उद्योगलाई कर्जा दिने

Tata
GBIME

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईज)को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्न सम्झौता भएको  छ।

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएसनका प्रथम उपाध्यक्ष प्रद्युम्न  पोखरेलको उपस्थितिमा भएको समझदारीमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरे। 

सम्झौता अनुसार लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन हुनेछन्।

महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले संवोधन गर्ने विश्वास व्यक्त गरे। उनले मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताए। 

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे। एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतका सेवा प्रवाहमा सहजीकरण गर्न सम्झौता भएको बताए।