उत्पादनै कम हुँदा बजारमा स्मार्टफोनको अभाव, फागुनमा घट्यो आयात, चैत लागेपछि व्यापार सुस्त

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ चैत्र ११ गते ०९:०६ | Mar 24, 2021
उत्पादनै कम हुँदा बजारमा स्मार्टफोनको अभाव, फागुनमा घट्यो आयात, चैत लागेपछि व्यापार सुस्त

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा स्मार्टफोन आयात फागुनमा घटेको भने चैतमा व्यापार नै सुस्ताएको छ। उत्पादक कम्पनीहरुले पर्याप्त मात्रामा स्मार्टफोन बजार पठाउन नसक्दा यसको असर बजारमा देखिएको छ।

कोरोना महामारीको प्रत्यक्ष प्रभाव फोनका चिप्स उत्पादनमा परेसँगै स्मार्टफोनको उत्पादनमै ह्रास आएको व्यापारीहरुले जनाएका छन्।

'स्मार्टफोनको आयात घट्दो क्रममा देखिनुको मुख्य कारण सर्ट-सप्लाइ नै हो। फोन उत्पादनलाई चाहिने पर्याप्त उपकरणहरु समयमै उत्पादन नहुँदा कम्पनीहरुले आवश्यक संख्यामा स्मार्टफोन बजार पठाउन सकेका छैनन्,' मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन एवम् आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले भने।

बजारमा यसअघि खोजेका मोडलहरु सहजै भेटिने गरेको भए पनि अहिले भने अभाव चुलिँदै गएको उनले बताए। 'चैत लागेदेखि मोबाइल फोनको व्यापार नै सुस्त भएको व्यापारीहरुले बताइरहेका छन्,' उनले बिजमाण्डूसँग भने। केही महिनादेखि शैक्षिक संस्था, कार्यालयहरु अनलाइनभन्दा भौतिक उपस्थितिमै सञ्चालन हुने क्रम बढेपछि स्मार्टफोनको माग केही घटेको उनले बताए। नयाँ फोन किन्नेदेखि अपग्रेड गर्नेहरुले सेट खरिद गरिसकेकाले पनि बजार सुस्त बनेको हो।

मुलुकमा माघमा तीन अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ बराबरको सात लाख चार सय थान मोबाइल आयात भएकोमा फागुनमा भने ओरालो लागेको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार फागुनमा करिब ७६ हजार थान कम स्मार्टफोन भित्रिएको छ।

फागुनमा दुई अर्ब २३ करोड ७३ लाख २५ हजार रुपैयाँबराबरको ६ लाख २४ हजार पाँच सय ७९ थान स्मार्टफोन आयात भएको विभागले जनाएको छ। फागुनमा भित्रिएको मोबाइल फोनबाट सरकारले ३५ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ।

फोन उत्पादन कम भए पनि मूल्य भने नबढेको मल्होत्राको भनाइ छ। भारतसँगको सीमा सहज भएपछि ग्रे मार्केट सल्बलाउन थालेको थियो। चिनियाँ स्मार्टफोन अवैध रुपमा भित्रिने संख्या बढ्दै गएको उनले बताए। तर, भारत र नेपालमा सामसङको स्मार्टफोनहरुको मूल्य समान नै रहेकाले अहिले कम मात्रामा अवैध तरिकाले भित्रिरहेको उनले जानकारी दिए।

सेयर बजार, घरजग्गा कारोबार हुँदै अन्य व्यवसायिक क्षेत्र पनि पुरानै अवस्थामा फर्किन थालेपछि गएको माघमा २० हजार रुपैयाँभन्दा महँगा स्मार्टफोनमा उपभोक्ताहरु झुम्मिएका थिए। तर, फागुनमा भने यो क्रममा ब्रेक लागेको छ।

चालु आवको आठ महिनामा कुल २६ अर्ब ३१ करोड रुपैयाँबराबरका झण्डै ५० लाख थान स्मार्टफोन नेपाल भित्रिएको विभागलले जनाएको छ। जसबाट सरकारले चार अर्ब रुपैयाँभन्दा बढी भन्सार असुलेको छ।