ऋणमा 'चुजी' बन्न थाले बैंक, हराउन थाल्यो तरलता, ८३% माथि गयो सीसीडी, निक्षेपको ब्याज बढ्ने




काठमाडौं। १५ दिन अघिसम्म बैंकहरुले आएजति (मापदण्ड पुर्‍याएर) ऋणीलाई पैसा दिएर पठाउँथे, त्यो पनि आधार ब्याज दरकै हाराहारीमा।

२/४ दिनदेखि अवस्था फेरिएको छ। अब आएजति ऋणीले पैसा पाउन छाडेका छन्। ब्याज दरमा पनि बैंकहरुले बिस्तारै कस्न थालेका छन्। हिजो ऋणीको मोलमोलाइ चल्थ्यो भने, अहिले बैंकहरुको मोलमोलाइ चल्न थालेको छ।

TATA
Safety
TVS

प्रणालीबाट बिस्तारै तरलता कम हुन थालेपछि ऋण बिस्तारमा बैंकहरु 'चुजी' देखिन थालेका हुन्। २०० अर्ब रुपैयाँसम्म अधिक तरलता रहेको प्रणालीमा पुनर्कर्जा ८३ अर्ब रुपैयाँ जाँदासमेत तरलता ७८ अर्ब रुपैयाँमा सीमित भएको छ।

यसबाहेक बैंकहरुको सीसीडी रेसियोमा दबाब पर्न थालेको छ। निक्षेपको तुलनामा उच्च दरले ऋण बिस्तार हुन थालेपछि कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) ७२ प्रतिशतको औसतबाट ७६.०१ प्रतिशतमा उक्लिसकेको छ।

चार बैंकको सीसीडी रेसियो त ८० प्रतिशतभन्दा माथि पुगिसकेको छ। कतिपय बैंकलाई पुँजी कोषले पनि थप लगानी गर्न रोक्न थालिसकेको छ। यही कारण बैंकहरुले ऋण बिस्तारमा नियन्त्रणमुखी नीति लिन थालेका हुन्। राष्ट्र बैंकले ८५ प्रतिशतसम्म सीसीडी कायम गर्न सकिने व्यवस्था गरेको छ।

'हिजो २०० अर्ब रुपैयाँको अधिक तरलता आज ७८ अर्बमा झरिसकेको छ,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले बिजमाण्डूसँग भने, 'कतिपय बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि उक्लिसकेको छ। यस हिसाबले पहिलाभन्दा बैंकहरु चुजी भएको यथार्थ हो।'

बैंकहरुमा तरलताको दबाब पर्न थालेपछि ब्याज दर पनि केही उक्लिन थालेको छ। हिजो आधार दरमै ऋण पाएर रमाइरहेका कर्पोरेटहरुले प्रिमियम तिर्न थालेका छन्। 

'हिजो आइडल फण्ड (निष्क्रिय कोष) राख्नुभन्दा कम दरमै ऋण दिउँ भन्ने थियो। अब भने ५ प्रतिशतमा निक्षेप लिएर सात प्रतिशतमा ऋण दिँद सकिँदैन, जुन हिजो सकिन्थ्यो,' दहालले भने, 'त्यसैले अलिकति 'सेलेक्टिभ' त भएको हो।' उनका अनुसार, तैपनि अहिले बजारमा भने पैसाको कमी भने छैन।

बैंक सीसीडी % बैंक सीसीडी %
सानिमा 83.24 सेञ्चुरी 76.20
एनआइसी एसिया 82.05 सिटिजन्स 75.46
मेगा 81.77 नेपाल बंगलादेश बैंक 74.92
प्राइम 81.37 ग्लोबल आइएमइ 74.82
बैंक अफ काठमाण्डू 79.71 एनसीसी 74.10
नबिल 79.60 कृषि विकास बैंक 74.09
माछापुच्छ्रे 79.27 नेपाल एसबीआइ 72.99
कुमारी 78.58 नेपाल बैंक 72.66
सिभिल 78.37 स्ट्यान्डर्ड चार्टर्ड 72.46
एनएमबि 77.93 हिमालयन 72.03
नेपाल इन्भेष्टमेन्ट 77.08 प्रभु 69.29
सनराइज 76.84 एभरेष्ट 68.77
लक्ष्मी 76.42 राष्ट्रिय बाणिज्य 65.74
सिद्धार्थ 76.42    

जस्तो, ७८ अर्ब रुपैयाँ अधिक तरलता नै छ। यसबाहेक औसत सीसीडी रेसियो ७६.०१ प्रतिशत छ। यस हिसाबले बैंकहरुले ८३ प्रतिशतसम्म सीसीडी कायम गर्छु भन्दा पनि ३ खर्ब रुपैयाँ ऋण दिन सक्ने अवस्था छ।

'पैसा उपलब्ध भएपनि बैंकपिच्छे अवस्था फरक छ। सीसीडी टाइट हुन थालेका बैंकहरुलाई अलिकति दबाब छ,' दहालले भने। 

तरलता र सीसीडीका कारण ऋण बिस्तारको जिम्मेवारी बोकेका शाखाका प्रबन्धकहरु हैरान देखिन्छन्। १५ दिनअघिसम्म अलिक ऋण बढाउनु पर्‍यो भनेर माथि (हेड अफिस) बाट 'सर्कुलर' आउँछ, अनि फेरि अहिले ऋण 'होल्ड' गर भनेर अर्को सर्कुलर आउँछ।

'१५ दिनअघिको कुरो पत्याएर ऋणको फाइल अगाडि बढायो तर पैसा दिने बेलामा नदेउ भनेर निर्देशन आउँछ,' एक शाखा प्रबन्धकले भने, 'ग्राहक पनि रिसाउने अवस्था छ।'

आयात बढेका कारण बैंकहरुलाई तरलताको दबाब परेको हो। हिजो आयात नबढ्दा पनि ऋण बिस्तार भएको थियो। त्यति बेला ऋण बिस्तार भएको पैसा देशभित्रै रहन्थ्यो। अहिले आयातका लागि पैसा बाहिरिने गरेको छ। यसले गर्दा ऋण बिस्तार हुँदा निक्षेप घट्ने गरेको छ।

राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षमा कुल निक्षेप ३ खर्ब १२ अर्ब रुपैयाँले बढ्दा ऋण ४ खर्ब ३२ अर्ब रुपैयाँले बढिसकेको छ। सातामा निक्षेप ४/५ अर्बले बढ्दा ऋण १८/२० अर्ब रुपैयाँले बढ्न थालेको छ। 

'आयातले गर्दा पैसा बाहिर गइरहेको छ। यसले पनि तरलतामा अलिकति दबाब परेको हो,' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, 'अलिकति चालु खातामा पनि यसले दबाब दिन थालेको छ।'

राष्ट्र बैंकका अनुसार, आयातले आर्थिक गतिविधि बढाउन सघाइरहेको छ। अहिले उपभोगका साथै विकास निर्माणसँग सम्बन्धित सामाग्रीका साथै औद्योगिक कच्चा पदार्थको पनि आयात बढेको छ। 

बैंकरका अनुसार, बैंकहरु ऋण बिस्तारमा चुजी हुनु भनेको ब्याज वृद्धि चाँडै हुँदैछ है भन्ने संकेत पनि हो। 

हिजोको जस्तो एकदमै सजिलै ऋण दिने भन्ने कुरो भएन। केही बैंक अलिकति टाइट हुनेबित्तिकै मान्छेहरु अर्को बैंकतिर जाने भए। अर्को बैंकले पनि अलिकति प्राइस कस्ने भयो,' दहालले भने, 'कन्ट्रोल गर्न खोज्ने भए। त्यो सम्भावना रहन्छ। हिजोको दिनभन्दा अहिले अलिकति कन्ट्रोल बढेको भन्न मिल्छ।'

ऋणको माग बढेजस्तो तरलता बढ्न नसकेमा बैंकहरुले चैतमा निक्षेपको ब्याज बढाउने अवस्था छ। यसले ऋणको ब्याज उक्लिने छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell