दुई अर्ब रुपैयाँ लगानीमा राष्ट्रिय खाद्य बैंक खुल्यो, कृषिबाटै देशलाई आत्मनिर्भर बनाउने

बिजमाण्डू
२०७७ फागुन १० गते १५:४५ | Feb 22, 2021


 काठमाडौं । निजी क्षेत्रको २ अर्बको लगानीमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको छ ।

Tata
GBIME
Nepal Life

कृषि पेशालाई मर्यादित र सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउनका लागि बैंकको स्थापना भएको बताइएको छ।

१५० भन्दा बढी कृषिबिज्ञहरुको सहभागितामा चार महिना अघि स्थापना भएको उक्त बैंकले अर्गानिक उत्पादनलाई पहिलो प्राथमिकता दिने जनाएको छ । बैंकसँग २ सय जनाभन्दा बढी कृषि प्राविधिक संलग्न रहेको पनि बैंकले जानकारी दिएको छ।

कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सिप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन  गर्ने तथा दक्ष जनशक्ति विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने बैंकले जनाएको छ।

बैंक आफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दहि, माछा, मासु, चिया, जडिबुटी लगायतको उत्पादन तथा व्यवस्थापन  गर्ने बताएको छ । कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा गर्ने प्रोत्साहन गर्ने पनि बैंकले जनाएको छ ।

कृषि उत्पादन बढाएर देशमा सबै खालका सर्वसाधाणलाई  रोजगारी प्रदान गर्ने राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए।

यस बैंक मार्फत विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरुलाई कृषितर्फ ध्यान तान्ने उनको भनाइ छ ।  बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने पनि अध्यक्ष उप्रेतीले बताए।

कृषिलाई  औद्योगिकीरण गर्ने र आफ्नो खेतीमा आफैँ बाली लगाउने वातावरण बनाउनका लागि बैंकको स्थापना भएको उनले जानकारी दिए ।

उनले राष्ट्रिय बैंकमार्फत काम गर्दा बिचौलिया अन्त्य हुने दावी गरे । यसबाट किसानहरुले उत्पादन गरेको बालीहरु बैंकमा बिक्री गर्न सक्ने तथा बैंकले उत्पादन भण्डारन प्रशोधन गरी  सिधै उपभोक्तासँग बिक्री बितरण गर्ने बताए।

यसका लागि इको सिस्टमलाई संरक्षण गर्दै गुणस्तरको खाद्यान्न, तरकारी, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची लगायतको सामाग्रीहरुको उत्पादन बढाएर विदेशमा बिक्रीबितरण गर्ने  बैंकले जनाएको छ ।

गुणस्तरीय खाद्य सामाग्रीको सुरक्षित भण्डार गरी बैंक मार्फत सेल्फ, डिपो र होम डेलिभरीहरु इ कमर्शबाट बिक्री बितरण गर्ने अध्यक्ष उप्रेतीले बताए।

बैंकले आगामी बैशाखभित्र सबै प्रदेशमा कार्यालयको उद्घाटन गर्ने तयारी समेत गरिरहेको उनले जानकारी दिए।

कृषि क्षेत्रमा उत्पादन बढाउँदै व्यवसाय विस्तार गर्दै अघि बढ्ने लक्ष्यसहित  बैंकले देशका बिभिन्न क्षेत्रमा रहेको सरकारी जग्गा, सामुदायिक बनका खाली जग्गा,गुठी, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्ने समेत उनले बताए।

हाल बैंकले तराइका जिल्लाहरुमा कैलाली, कन्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्न गरिसकेको छ । किसानहरुसँग पनि सहकार्य गर्दै उत्पादन  बढाउने बैंकले जनाएको छ । 

बैंकले पहिलो प्राथमिकता अन्नबाली र दोस्रो चरणमा माछा, मासु, फलफूल, दुध, तरकारीको उत्पादनलाई दिने बताइएको छ।

उत्पादनमा लागेका कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजारहरु, प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य बस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी लिने पनि बैंकले जनाएको छ ।

बैंकमा हालसम्म ४ सय ९१ जना प्रमोटर शेयर सदस्य रहेका छन् । बैंकलाई थप बिस्तार गर्दै केही वर्षभित्रै साधारण सेयर समेत जारी गर्ने जानकारी दिएको छ ।

कृषि उत्पादनको लागि अल्पकालिन, दीर्घकालीन र मध्यकालीन योजना बनाएर अघि बढ्ने पनि बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए।