२६७६ अंकसम्म पुगेको नेप्से सूचक घटेर २६०० को लाइनमा आइपुग्यो, निफ्राको सेयर होल्ड गर्न थाले

बिजमाण्डू
२०७७ फागुन १० गते १५:३७ | Feb 22, 2021
२६७६ अंकसम्म पुगेको नेप्से सूचक घटेर २६०० को लाइनमा आइपुग्यो, निफ्राको सेयर होल्ड गर्न थाले


Tata
GBIME
Nepal Life

काठमाडौं। सोमबार नेप्से परिसूचक ३२ अंकले घटेर २६०० को लाइनमा आइपुगेको छ।

सुरुवाती समय ३७ अंक सम्मले उचालिएको बजार २६७६ अंकसम्म पुगेको थियो। तर बजारले यो उचाइ धेरैबेर टिकाउन नसकेपछि त्यसपछि लगातार ओरालो लागेको थियो।

३२ अंकले बजार घट्दा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

माथिल्लो तामाकोशी, आँखुखोला, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स, शिवश्री हाइड्रो र खानीखोला हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।

सिभिल बैंक, सेन्चुरी बैंक, मेगा बैंक र माछापुच्छ्रे बैंकको सेयर मूल्य ५/५ प्रतिशतसम्म घटेको छ।

बजार बन्द हुने बेलासम्म चन्द्रागिरी हिल्सको १५ लाख कित्ता सेयर माग हुँदा निफ्राको १२ लाख कित्ता र ग्लोबल आइएमई बैंकको पाँच लाख कित्ता सेयर माग रहिरेको थियो।

निफ्राको सेयर होल्ड
सोमबार पहिलो एक घण्टा भित्रै निफ्राको २० करोड रुपैयाँको सेयर किनबेच भइसकेको थियो। निफ्राको सेयरमा संस्थागत लगानीकर्ताहरुको आकर्षण बढेपछि कम्पनीको सेयर माग १२ लाख कित्ता भन्दा तल आएन।

लगातार सर्किट लागेर कारोबार भएर कम्पनीको सेयरमा उच्च माग भएपछि बेच्नुको साटो सर्वसाधारणले निफ्राको सेयर होल्ड गरेका छन्।

निफ्राको गत हप्ता बुधबार ७० करोड र बिहीबार ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा आइतबार ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। सोमबार भने जम्मा ३२ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा सोमबार एनआइसी एसियाको सर्वाधिक ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। निफ्राको ३२ करोड, निर्धन उत्थान लघुवित्तको ३० करोड, शिखर इन्स्योरेन्स र नेपाल लाइफको समान २९/२९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

जलविद्युत र अन्य समुह बाहेक सबै रातै
सोमबार जलविद्युत समूह ४५ अंक र अन्य समूह २७ अंकले बढ्नु बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ।

जीवन बीमा समूह ३५१ अंकले घट्दा निर्जीवन बीमा समूह १०८ अंक, व्यापार समूह ९२ अंक, विकास बैंक ६४ अंक, लघुवित्त र उत्पादन समूह समान ५६ अंक, बैंकिङ समुह ५२ अंक र होटल समूह २१ अंकले घटेको छ।

सोमबार २०७ कम्पनीको दुई करोड १६ लाख कित्ता सेयर आठ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएका छन्। ३१ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।