काठमाडौं। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले 'कर्पोरेट पे' को औपचारिक सुरुवात गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्यवसायिक ग्राहकले विद्युतीय भुक्तानी गर्न पाउने सेवाको उद्घाटन गरेका छन्।
डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगइ आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाट सजिलै गर्न सकिन्छ।
आज औपचारिक उद्घाटन भए पनि केही बैंकहरुबाट यसको सुरुवात भइसकेकोछ । यो प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल-आइपिएसमा रियल टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबार गर्न सकिन्छ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमान सिंह प्रधानले सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई 'कर्पोरेट पे' को सुविधा दिने र उनीहरुले आफ्नो ग्राहकहरुलाई यसमा आबद्ध गराउँदै जानु पर्ने बताए।
उनले करिव १० महिना लगाएर तयार पारिएको यो प्रणालीबाट आफ्नै बैंक वा अन्तर बैंकमा पनि कारोबार गर्न सकिने बताए। यसमा १० लाखदेखि २० करोड रुपैयाँसम्म कारोबार सीमा रहेको उनले जानकारी दिए।
अब चेक होइन डिजिटल भुक्तानी: गभर्नर
राष्ट्र बैंकका गभर्नर अधिकारीले डिजिटल पेमेन्टको इकोसिस्टम बनाउने नीतिलाई अगाडि बढाउन 'कर्पोरेट पे' महत्वपूर्ण खुड्किलो भएको बताउँदै आगामी दिनमा नगद कारोबार कम गर्दै डिजिटललाई गुणात्मक रुपमा बढाउन राष्ट्र बैंक पनि लागि परेको बताए।
'एनसीएचएल खोल्दाताकाको हामीसँग तितो अनुभव छ। त्यो बेला कतिपय बैंककै साथीहरुबाट पनि ब्यवधानहरु भोग्नु पर्यो। तैपनि यसको सुरुवात गरिएको थियो,' उनले भने, 'त्यसबेला दैनिक ४/५ हजार चेकको कारोबार हुन्थ्यो। अहिले यो बढेर औसत ४० हजार पुगेको छ।'
उनले सन्सारबाट म्यानुअल्ली गरिने चेकको क्लियरिङ हटिरहेका बेला नेपालमा पनि यसलाई हटाएर विद्युतीय बनाउनु पर्छ भनेर लागेको बताए। 'त्यसैका कारण आज औसत ४० हजार चेकको कारोबार हुन्छ,' उनले भने।
गभर्नरले विगतमा नगदको कारोबार कम गर्दै चेकको कारोबार बढाउन एनसीएचएल खोलिएको बताउँदै अब चेकको कारोबार पनि कम गरेर डिजिटल भुक्तानीमा जोड दिनु पर्ने बताए।
'अब चेक पनि होइन डिजिटल कारोबार बढाउनु पर्छ,' गभर्नरले भने, 'यसको नेतृत्व एनसीएचएलले नै लिनु पर्छ।' एनसीएचएलमा राष्ट्र बैकको १० प्रतिशत लगानी छ। बाँकी लगानी बैंक तथा वित्तीय संस्थाहरुको छ।
बिहीबार भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दहाल र वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले डिजिटल इकोनोमी बढाउन कर्पोरेट पेजस्ता प्रडक्टहरु कोसेढुंगा हुने बताए।