चार महिनापछि फेरि चालु खाता घाटामा, विदेशी मुद्राको सञ्चिति पनि घट्यो, रेमिटेन्स बढ्यो




काठमाडौं। चार महिनापछि चालु खाता फेरि घाटामा गएको छ। राष्ट्र बैंकले मंसिरसम्मको प्रतिवेदन सार्वजनिक गर्दै चालु खाता घाटा २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको जनाएको छ।

यद्यपि यो घाटा अघिल्लो वर्षको तुलनामा केही कम हो। तर पछिल्लो चार महिनायता चालु खाता बचतमा रहँदै आएको थियो। 

TaTa
Sunrise Bank
TVS

चालु खाता देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो। बढी भित्रिए चालु खाता बचतमा हुन्छ, बढी बाहिरिए घाटा हुन्छ। देश चार महिनापछि चालु खाता घाटाको अवस्थामा पुगेको हो।

विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ), रेमिटेन्सका कारण देशभित्र भित्रिरहेको हुन्छ। चालु खाता घाटा जीडीपीको ८ प्रतिशतसम्म पुगेको थियो। कोभिडका कारण भएको लकडाउनपछि आयात घट्दा चालु खाता घाटा हटेको थियो। पेट्रोलियम पदार्थ, यातायातका साधन र उपभोग्य सामाग्रीको आयातले घाटा भएको हो।

चालु खाता घाटा बढ्दा ठूलो चिन्ता लिनु पर्दैन, खासगरी आयात भएका बस्तु उत्पादन वृद्धि, औद्योगिक विस्तार र विकास निर्माणका लागि भएका हुन् भने। उपभोगका लागि मात्रै आयात उच्च छ र चालु खाता घाटा बढेको छ भने चिन्ता लिनुपर्ने हुन्छ।

चालु खाता घाटा बढ्दा विदेशी मुद्राको सञ्चितिमा दवाब पर्छ। अहिले विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ। चालु खाता घाटाका कारण कात्तिकमा १५ खर्ब ६ अर्ब ६ करोडको सञ्चिति १४ खर्ब ७४ अर्बमा आएको हो।

शोधनान्तर भने १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा छ। कात्तिकमा एक खर्ब १० अर्ब ६५ करोड बचतमा थियो। 

एक देशको अन्य देशबीच हुने वित्तीय लेन देनको हिसाब नै शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट) हो। यसमा एक देश र बाँकी सन्सारका बीच आयात निर्यातका लागि हुने वित्तीय लेनदेन समेटिन्छ। वस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पुँजी, वित्तीय हस्तान्तरणमा पर्छ। नेपालमा शोधनान्तर हरेक महिना मापन गरिन्छ।

ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ। शोधनान्तर बचतमा बिस्तारै दवाब देखिएको छ। 

रेमिटेन्स भने निरन्तर बढिरहेको छ। मंसिरमा १०.९ प्रतिशतले बढेर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। एक महिनामा ८० अर्ब रेमिटेन्स भित्रिएको हो।

निर्यात ब्यापार ५.१ प्रतिशतले बढेर पाँच महिनामा ५० अर्ब ६ करोड भित्रिएको छ। आयात ९.६ प्रतिशतले घटे पनि  ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ। राष्ट्र बैंकका अनुसार,  कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, कोइलालगायतको आयात ह्वात्तै बढेको छ। 

ब्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। देशले बिक्री गर्ने र खरिद गर्ने वस्तु तथा सेवा अन्तरलाई ब्यापार घाटा वा बचत भनिन्छ। देशबाट बाहिर बिक्री गरिने (निर्यात) भन्दा किन्ने दर (आयात) उच्च भएमा त्यो ब्यापार घाटा हो। औद्योगिक उत्पादनका कारण ब्यापार घाटा भएमा खासै चिन्ता लिनु पर्दैन। तर आन्तरिक उत्पादन नबढ्ने क्षेत्रका वस्तु आयात भएर बढेको ब्यापार घाटाबाट भने डराउनु पर्छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell