दिनदिनै नयाँ रेकर्ड बनाउँदै सेयर बजार, २३ सयको लाइनमा पुग्यो नेप्से, ३ दिनमै ७० अंकको उछाल

बिजमाण्डू
२०७७ पुष २१ गते १५:१७ | Jan 5, 2021
दिनदिनै नयाँ रेकर्ड बनाउँदै सेयर बजार, २३ सयको लाइनमा पुग्यो नेप्से, ३ दिनमै ७० अंकको उछाल

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको सुरुवातदेखि नै उकालो लागेको सेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ।

मंगलबार २८ अंकको वृद्धिसहित २२६८ बिन्दुमा पुगेको बजारको यो अहिलेसम्मकै उच्च बिन्दु हो। आइतबार ४१ र सोमबार ३ अंकले बढेको बजार मंगलबार थप २८ अंकले बढ्दै ३ दिनमै ७० अंकले बढिसकेको छ।

सेयर बजार अहिलेसम्मकै उच्च बिन्मा पुग्दा कारोबार रकममा भने कुनै कमी आएको छैन। दैनिक कम्तिमा पाँच अर्ब रुपैयाँको सेयर किनबेच भइरहेकाले बजारले थप उचाइ लिनेमा लगानीकर्ता विश्वस्त देखिन्छन्।

साताको सुरुवातदेखि नै बैंकिङ समूहले बजारलाई लीड गरिरहेको छ। मंगलबार पनि सर्वाधिक कारोबार हुनेमा धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु नै अघि छन्।

प्रिमियर इन्स्योरेन्सको मात्रै २९ करोडको कारोबार भएको बजारमा माथिल्लो तामाकोशी, प्रभु बैंक, नेशनल लाइफ र नेपाल लाइफको करिब १५/१५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

आइएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो तामाकोशी, प्रभु लाइफ र समृद्धि फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ।

ट्रेडिङ समूहबाहेक सबै उपसूचक हरियो भएको बजारमा जीवन बीमा समूह करिब ३७६ अंकले बढ्दा निर्जीवन बीमा समूह करिब २७३ अंकले बढेको छ। हाइड्रोपावरको सूचक ६० अंकले बढ्दा लघुवित्त समूहको सूचक पनि ५० अंकले बढेको छ।

दिनभरीमा २०२ कम्पनीका एक करोड ३५ लाख कित्ता सेयर चार अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएका छन्। ३२ कम्पनीको मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।