सुन तोलामा २३ सय घट्यो, एक तोलाको ९३ हजार रुपैयाँमा कारोबार हुँदै, चाँदीमा पनि सामान्य गिरावट

बिजमाण्डू
२०७७ पुष २६ गते १०:४७ | Jan 10, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। अमेरिकी डलर र अमेरिकी केन्द्रिय बैंकको ब्याजदर (युएस ट्रेजरी प्रतिफल) मार्चयताकै बलियो हुँदा सुन-चाँदीको अन्तर्राष्ट्रिय मूल्य पछिल्लो साढे दुई महिनामा सर्वाधिक दरले सस्तिएको छ ।

गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन ४.५ प्रतिशतले घट्यो, जुन गत नोभेम्बरयताकै सर्वाधिक दरमा ओरालो लागेको हो । चाँदी पनि शुक्रबार ९.८ प्रतिशतले घटेको छ । 

सुनको मूल्यलाई अमेरिकी डलर र युएस ट्रेजरी प्रतिफलसँग जोडेर हेर्ने गरिन्छ । यी दुवै अघिल्लो वर्षको मार्चयताकै बलियो बनेकाले सुनमा लगानीकर्ताको आकर्षण घट्दा यो सस्तिएको विश्लेषण छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा परेको यो प्रभाव नेपालसम्म आइपुगेको छ । 

नेपाली बजारमा तीन दिनयता लगातार घटिरहेको सुनको कारोबार मूल्य शुक्रबारभन्दा तोलामा २३ सय रुपैयाँले घटेर आइतबार प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको छ।

गत साता बढ्ने क्रममा प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको थियो। शुक्रबार १३ सय रुपैयाँले घटेर प्रतितोला ९५  हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। चाँदी ६० रुपैयाँले घटेर प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा स्थिर थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहँदा यसको प्रभाव स्थानीय बजारमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५९.८२ डलरले गिरावट आएको छ।

सुन प्रतिऔंस १८४९.१५ डलर भएको छ। चाँदी प्रतिऔंस २७.०३ डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। शुक्रबार प्रतिऔंस १९०८.९७  डलर र चाँदी प्रतिऔंस  २७.०३ डलरमा कारोबार भएको थियो।