नागढुंगा-नौबिसे सुरुङमार्ग चाँडै सक्न अब २४ घन्टा काम गरिने, दिन-रात गरेर दुई सिफ्ट र ओभरटाइम




काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणलाई गति दिन र रातमा गरेर अब दुई सिफ्टमा काम हुने भएको छ।

तोकिएकै समयमा सक्न भन्दै जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बिहीबारबाट चौबिसै घण्टा गर्ने गरी ताालिका बनाएर काम गर्न लागेको हो। यसका लागि ८/८ घण्टाको दुईवटा सिफ्ट र ४/४ घण्टाको ओभरटाइम सहितको कार्य तालिका बनाइएको छ।

TaTa
Sunrise Bank
TVS

अहिले एउटा सिफ्टमा दैनिक एक मिटर सुरुङ खन्ने काम भइरहेको छ। यस्तै, 'स्केप टनेल' पनि करिब १८ मिटर खनिसकिएको छ। अब रातमा पनि काम हुँदा तीन मिटरको काम हुने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए।

स्केप टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरि निर्माण गरिने सुरुङ हो। मुख्य सुरुङबाट ३० मिटरको दुरी (चौडाई) मा हुनेगरि स्केप टनेल खनिन्छ। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३ सय ७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ। यो टनेल मूल सुरुङको एकतिहाइ ब्यास (डायमिटर) को हुनेछ। अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ।

मुख्य सुरुङमार्गको काम पनि यही टनेलबाट भित्र गएर खनिने बताइएको छ। ‘हामी स्केप टनेलबाटै भित्र खन्दै जान्छौं। एउटा क्रस प्यासेज आएपछि  हामी गएकै बाट मुख्य सुरुङ पनि खन्छौ,’ थापाले भने।

अहिले धादिङतिरको पोर्टलबाट सुरुङ खन्ने काम थालिएको छ। पानीको सिपेज व्यवस्थापन गर्न र अन्य प्राविधिक कारणले धादिङतिरबाट सुरु गरिएको हो। सुरुङ निर्माणमा एक-दुई दिनमै विष्फोटक पदार्थ प्रयोग गरिने बताइएको छ।

यो सुरुङको थोरै हिस्सा चालु रहेको पृथ्वी राजमार्गमुनिको भागमा समेत पर्ने भएकाले यसअघि उक्त सडकलाई असर नपरोस् भनेर सुरुङ खन्ने काम विस्तारै गरिएको थियो। तर अब भने सडक पार गरिसकिएकाले तीव्र गतिमा काम गर्न सकिने आयोजनाका इन्जिनियरहरुको भनाइ छ।

काठमाडौंतिरको पोर्टलमा पनि यतिबेला धमाधम काम भइरहेको छ। सहायक कामहरुले गति लिएसँगै अब केही दिनमै मुख्य सुरुङको काम थाल्ने योजना रहेको नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले बताए।  

अहिले त्यहाँ पोर्टल तयार पार्ने काम भइरहेको छ। करिब ८० मिटर खारेर पोर्टलको आकार निकालिएको छ। सुरुङभित्र छिर्ने मुख (टनेल इन्ट्रान्स) लाई पोर्टल भनिन्छ ।

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरि यस सुरुङमार्गको डिजाइन गरिएको छ।

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ। काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका-१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ। टनेलमा मुख्य दुई वटा लेन हुनेछ। बीचमा थप एउटा सानो साइड लेन छ। सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ।
 

१४ महिना यसरी छेडिँदै छ सुरुङ
यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ। परामर्शदाता कम्पनीका इन्जिनियर रमेश कोइराला भन्छन्, ‘काम सुरु भयो, अब  घर बनाएजस्तै हो । घर बनाउन समय लाग्दैन तर फिनिसिङका लागि कति समय लाग्छ।’ यसमा सुरुङ छेड्नभन्दा पछि गर्ने फिनिसिङका कामका लागि समय लाग्नेछ।

सुरुङमार्गमा लाइटिङ, अक्सिजन, पानी, फायर हाइड्रेन्टदेखि अन्य विभिन्न काम गर्नुपर्ने भएकाले त्यसका लागि समय लाग्ने उनले बताए।

यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन को-इ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो। यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको छ भने आयोजना पूरा गर्दासम्म यसको सुपेरिवेक्षणको काम पनि गर्नेछ।

समयमै सक्न रातको सिफ्टमा पनि काम गरिने 
सुरुङमार्ग खन्न थाल्नेदेखि यसको फिनिसिङ गरेर पूर्णरूपमा सम्पन्न गर्नेसम्म सबै गरेर ४४ महिनामा यो आयोजना पूरा गर्ने योजना छ। सोही अनुसार १५ महिनाअघि (२०७६ असोजमा) प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर औपचारिक रूपमा सुरुङमार्गको निर्माणको काम थालिएको हो।

काम थालिएको भएपनि स्थानीय विवाद, मुआब्जा, निर्माण सामाग्री आयात लगायतका विभिन्न तयारीमै एक वर्ष बित्यो। तयारी सकेर मुख्य काम थाल्नै लाग्दा कोरोना भाइरसको महामारी सुरु भएपछि गत चैतमा सरकारले लगाएको लकडाउन लगायका कारण  पुनः यसको काम रोकिएको थियो।

कोभिडले सबै किसिमका अन्तर्राष्ट्रिय सम्पर्क (यातायात तथा ढुवानी) का  माध्यमहरु अवरुद्ध भएपछि सुरुङ खन्न प्रयोग हुने सामान र प्राविधिकहरु जापानबाट आउन पाएनन्। अर्कोतिर यहीँ भएकाले पनि काम गर्न सक्ने वातावरण पनि कोभिडकै कारण लामो समय भएन। गत असोजबाट भने विस्तारै कामले गति लिन लागेको हो। 
 

९० प्रतिशत मेसिन-उपकरण र २० प्रतिशत निर्माण सामग्री साइटमा
आयोजनाका अनुसार ९० प्रतिशत इक्विपमेन्ट (मेसिन तथा उपकरण) हरु साइटमा आइसकेको छ। मेसिन-बेस भएर निर्माण हुने यो सुरुङमार्गका लागि आवश्यक पर्ने जम्बो ड्रिलर लगायतका मेसिनहरु जापानबाट ल्याइएको छ। यसबाहेक पनि अधिकांश मेसिन जापानी र केही इटालियन तथा स्वीस छन्।

जापानी कम्पनीले डिजाइन गरेकाले ल्याइएका सबै मेसिनहरु जापानीज स्ट्याण्डर्डकै छन्। सुरुङमार्गभित्रै स्थायी रूपमा राखिने सामानहरु भने ल्याउन बाँकी नै छ। त्यस्तै, आयोजनाका लागि चाहिने बालुवा, सिमेन्ट लगायतका २० प्रतिशत निर्माण सामाग्री समेत ल्याएर साइटमा थुपारिएको छ।
 

ड्रिलिङ र ब्लास्टिङ विधिबाट निर्माण हुँदै,  प्रयोग भएन टीबीएम
यो सुरुङमार्ग ड्रिलिङ एण्ड ब्लास्टिङ विधिबाट निर्माण गरिँदै छ। सुरुङ छेड्ने यो नयाँ अष्ट्रियन विधि हो, यद्यपि यसलाई सुरुङमार्ग निर्माण गर्ने पुरानो विधि नै भनिन्छ।

सुरुङमार्ग निर्माण गर्ने धेरै वटा विधिहरुमध्ये सबैभन्‍दा पछिल्लो टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग हो। अन्य विधिभन्दा चाँडै सुरुङ खन्न सकिने टीबीएम साधरणतया ६ किलोमीटरभन्दा लामो टनेल निर्माणमा प्रयोग हुन्छ। र, टनेलको डिजाइन अनुसार टीबीएम कस्टमाइज गरेर तयार पारिने भएकाले यसको प्रयोग गरेर टनेन खन्न अन्य विधिभन्दा खर्चिलो पनि हुन्छ। यसैले ६ किमीभन्दा छोटो सुरुङमार्ग प्राविधिक र वित्तीय रूपमा उपयुक्त मानिँदैन। 

‘यस्तो छोटो सुरुङमार्गहरुमा ड्रिल एण्ड ब्लाष्ट्रिङ मेथड नै प्रयोग गर्दा राम्रो मानिन्छ तर यसमा काम ढिलो हुन्छ। आर्थिक पाटो पनि हेर्नुपर्ने हुन्छ,’ परामर्शदाता कम्पनीका प्रतिनिधि कोइरालाले भने। करिब २५ मिटर खनेपछि कडा चट्टान आउन सुरु भएपछि ब्लास्टिङ थालिनेछ।
 

परीक्षणमा उपयुक्त देखिए नेपाली सेनाको विस्फोटक पदार्थ प्रयोग गरिने
आयोजनाले परीक्षणका क्रममा उपयुक्त देखिए नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेको छ।

अहिलेसम्म सेनाले उत्पादन गरेको विस्फोटक बाहिर अन्य उद्देश्यका लागि प्रयोग गरिने गरेको भए पनि टनलेहरुमा प्रयोग गरिएको छैन। 'विस्फोटक पदार्थले विभिन्न खालका विषाक्त ग्यासहरु उत्पादन गर्नुका साथै सुरक्षाको सवाल पनि भएकाले मानिसलाई असर नगर्ने ग्यास भएको रेकर्ड माग्दा सेनाले दिन सकेन,’ परामर्शदाता कम्पनीका एक अधिकारीले भने, ‘टेस्ट गरिरहनु भएको छ। उपयुक्त देखिए प्रयोग गरिनेछ।'

आयोजनाका लागि नौ सय टन विस्फोटक पदार्थ चाहिन्छ। अहिले एक तिहाई अर्थात् तीन सय टन मात्र भारतबाट आयात गरिएको छ। ‘परीक्षणबाट नतिजा राम्रो आए बाँकी सबै विस्फोटक सेनाकै प्रयोग हुन्छ,’ महाशाखा प्रमुख थापाले भने, 'ग्यास इमिसन, सेफ्टी लगायत चार वटा इन्डिकेटर हेरेर यसबारे निर्णय हुनेछ। हामी यही सुरुङमा पनि सेना र निर्माण कम्पनी  राखेर परीक्षण गर्छौं। उपयुक्त दखिए प्रयोग गर्न निर्माण कम्पनी राजी छ।’

डिजाइन अनुसार सुरुङमार्गको सर्फेसमा असफाल्ट प्रयोग हुने छैन। आगो टिप्ने भएका कारण यसमा कंक्रिटिङ गर्न लागिएको छ। कंक्रिटिङ ३० सेन्टिमिटरको गरिने बताइएको छ। कंक्रिटको एउटा प्यानलको लम्बाई तीन सय मिटरको हुने गरि डिजाइन तयार गरिएको छ। यसकारण एक दिनमा कम्तीमा तीन सय मिटर कंक्रिटिङ गर्नै पर्छ। विदेशी ठुला एयरपोर्टहरुमा प्रयोग गर्ने जस्तै कंक्रिटिङ यस सुरुङमार्गमा गर्न लागिएको हो।

आयोजनाका लागि आवश्यक सिमेन्ट समेत बोरामा आउने प्रयोग गरिएको छैन। सिधै कम्पनीबाट गाडीमा अलग किसिमले आउने आयोजनाले जानकारी दिएको छ। ‘बोरामा ल्याउँदा लोटामा ल्याए जस्तो मात्रै हुन्छ भने गाडीमा त्यसरी ल्याउँदा  गाग्रोमै आएजस्तो हुनेछ। बल्कमा ल्याउँदा फ्रेस सिमेन्ट पनि आउने भयो,’ कोइरालाले भने, 'उद्योगले यहाँ राखिएका सर्किटमा सिधै गाडीबाट ल्याएर सिमेन्ट भरिदिन्छ।'
 

पाँच सय मिटर तल रोड साइट सर्भिस स्टेशन 
यो आयोजनाअन्तर्गत सुरुङमार्ग मात्रै बन्दै छैन, त्यसको पाँच सय मिटर तल धुनीबेसी नगरपालिकामा रोड साइट सर्भिस स्टेशन पनि बन्दै छ।जहाँ पार्किङ, सर्भिसिङ सेन्टर, फ्युल स्टेशन, होटल, प्रदर्शनीस्थल र शौचालय लगायतका संरचनाहरु बन्नेछन्। निर्माण सकेपछि यसको संचालनको जिम्मा धुनिबेंसी नगरपालिकालाई दिने सडक विभागको योजना रहेको महाशाखा प्रमुख थापाले बताए।

उनका अनुसार निर्माण पछि मेन्टेन गरेर राख्नेगरी नगरपालिकालाई नै दिने सोच बनाइएको हो।

‘यसबाट सानो बजार बन्छ। स्थानीय उत्पादनले बजार पाउँछ। मानिसहरुले रोजागारीको अवसर पाउनेछन्। यसले स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्नेछ भनेरै नगरपालिकालाई दिन लागेका हौं,’ थापाले भने, 'विदेशतिर प्रत्येक ४०-५० किमी दुरीमा यस्ता स्टेशन निर्माण भएको हुन्छ। नेपालमा भने यो पहिलोपटक हो ।’ 

छैन स्थानीयको अवरोध

धुनिबेंसी नगरपालिकाका वडाध्यक्षसहितको टोलीले दर्जनौं माग राखेर सुरुङमार्ग खन्न नदिने चेतावनी दिएको थियो। तर चौतर्फी दबाबपछि उनीहरु पछि हटे। उनीहरुलगायत स्थानीयले काम नै रोक्ने चेतावनी दिएपनि अहिलेसम्म कुनै अवरोध नभएको  महाशाखा प्रमुख थापा बताउँछन्। उनले स्थानीयबाट गौरवको आयोजनालाई साथ र सहयोग हुने अपेक्षा रहेको बताए।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell