‘ज्ञानेन्द्र दाइ हामीसँगै हुनुहुन्छ, तर ९०४ भोट नै महत्त्वपूर्ण छ,’ सौरभ ज्योतिको अन्तर्वार्ता

बिजमाण्डू
२०७७ मंसिर १२ गते १४:०४ | Nov 27, 2020

Tata
GBIME
NLIC

आरोपमा केही सत्यता पनि छ। मैले पहिलो दुई कार्यकाल जुन जोश जाँगरका साथ काम गरें, तेस्रो र चौथो कार्यकालमा त्यो अलिकति कम भयो। किन जोशजाँगर कम भयो भने – मिटिङमा जान्छु, कामको कुरै हुँदैन, राजनीति मात्र हुन्छ ! राजनीति मात्र हुन्छ कामको कुरै हुँदैन भने मैले किन आफ्नो समय बर्बाद गर्ने भनेर म त्यो मिटिङमा जानै छोडें।

सौरभ ज्योति नेपालको पुरानो औद्योगिक तथा व्यापारिक घराना ज्योति समूहका संचालक हुन्। पारिवारिक व्यवसायमा उनी डेढ दशकदेखि संलग्न छन्। 

नेपाल उद्योग वाणिज्य महासंघमा १२ वर्षदेखि सक्रिय रहेका ज्योति नेपाल अटोमोबाइल एशोसिएसन, नेपाल युवा उद्यमी मञ्च र सार्क युवा मञ्चका अध्यक्ष भइसकेका छन्। युवा उद्यमी मञ्चको अध्यक्ष रहँदा स्वदेशी अर्थतन्त्र सबल बनाउने ‘मेड इन नेपाल’ इन्नोभेटिभ क्याम्पेन उनले नै सुरु गरेका थिए।

उनी महासंघको उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रहँदा नेशनल एक्सिलेन्स अवार्ड समेत वितरण भएको थियो। ज्योति महासंघको बैंक तथा बीमा समितिका सभापति र राजस्व समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन्। युवा उद्यमी ज्योति महासंघको ५४औं साधारणसभामा एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनै ज्योतिलाई बिजमाण्डूले सोध्यो- चुनावको अन्तिम समयमा आइपुग्दा तपाईं कतिको कम्फर्टेबल पोजिसनमा हुनुहुन्छ ?
अघिल्लोपल्ट मैले चन्द्र ढकाल दाइलाई छोडेर निर्विरोध गरियो । त्योबेला टिमको हिसाबले उहाँलाई ल्याउने निर्णय गर्‍यौं । संस्थाको हितका लागि हामीले म अर्को कार्यकाल आउने भनेर उहाँलाई निर्विरोध गरेका थियौं। त्यो लगत्तै मेरो दाबी सुरु भइसकेको थियो। र, हाम्रो टिम फाइनल भइसकेको पनि डेढ वर्षभन्दा बढी भइसक्यो। त्यहाँदेखि हामीले तयारी गर्दै आएको हुनाले अहिले हाम्रो पोजिसन एकदमै राम्रो छ। तर त्यो राम्रो भएको पनि चुनावका लागि प्रचारप्रसार गरेकाले होइन, हामीले निजी क्षेत्रका व्यवसायीहरुको, महासंघका सदस्यहरुको विश्वास जित्न सकेकाले हो भन्ने मलाई लाग्छ। विश्वासको आधार आफ्नो काबिलियत, मेहनत र कामको आधार हो। म व्यक्तिगत रूपले पनि महासंघमा चार कार्यकालसहित विभिन्न संस्थामा आबद्ध भएको २० वर्ष भइसक्यो।

यसकारण अन्तिम समयमा आइपुग्दा हाम्रो पोजिसन एकदमै कम्फर्टेबल छ। किनभने यो व्यक्तिगत होइन, सौरभ ज्योति लडिरहेको होइन, पूरा टिम नै लडिरहेको हो । महासंघको हितमा लाग्ने महासंघकै टिम हो यो, कसैको प्यानल होइन।

एशोसिएट उपाध्यक्ष महासंघमा महत्त्वपूर्ण पद मानिन्छ। यसमा मतदाताले तपाईंलाई नै जिताउनुपर्ने किन ?
महासंघ भनेको राजनीतिक संस्था होइन, प्रोफेसनल बिजनेस अर्गनाइजेशन भएकाले यो व्यवसायिक ढंगले संचालन हुनुपर्छ, यसमा सचिवालयदेखि काम गर्ने शैलीसम्म सुधार हुनुपर्छ, नीतिगत सुधारका लागि थिंक ट्यांक लबी ग्रुपका रुपमा बलियोसँग लाग्नुपर्छ र १० वर्षे भिजनलाई सफल बनाउन बनाउन हामी लाग्नुपर्छ भन्ने सोचका साथ हाम्रो टिम लडिरहेको हो ।

चुनावको बेला धेरै जनाले धेरै कुरा गर्छ । तर त्यो कुरामै सीमित हुन्छ । यसकारण मैले कामको कुरा गरेको हो । नेपालमा कुरा जसले पनि गर्छ, काम गर्न पो गाह्रो ! यसकारण म लगायत मेरो जुन टिम छ, मेरो १२ वर्षको अनुभवमा मैले यति काम योगदान गरिसकेको छु, त्यसको मूल्यांकन गरेर नै मैले यो पदमा उम्मेदवारी दिएर दाबी गरेको हुँ। किनभने म काम गर्ने व्यक्ति हो। म त्यो पदका लागि योग्य हो र अझ बढी मेहनत गरेर मैले महासंघ र निजी क्षेत्रको हितमा म काम गर्नेछु।

मेरो टिममा भएका १९ जना सदस्यहरुमा सबै क्षेत्रको प्रतिनिधित्व गर्ने अनुभवी र महासंघमा योगदान गरेका व्यक्तिहरु हुनुहुन्छ। यसैले यो काम गर्ने टिम हो। त्यो योग्यताका आधारमा हामीले पदमा उम्मेदवारी दाबी गरेको हो र जित्ने आत्मविश्वास पनि त्‍यहीँबाट बढेको हो।

मलाई लाग्छ, एशोसिएटका सबै मतदाताहरु प्रोफेशनल हुनुहुन्छ र उहाँहरुले मतदाताहरुले पद र त्यो जिम्मेवारीका लागि उपयुक्त व्यक्तिलाई छनोट गर्नु हुनेछ। मतदातालाई म यो पनि भन्छु कि – सौरभ ज्योतिलाई भोटै दिने हैन। एशोसिएटको उपाध्यक्ष जो महासंघको सबैभन्दा महत्वपूर्ण पद हो। रोजगारदाता परिषद् हाँक्नुपर्ने, श्रम ऐनमा काम गर्नुपर्ने लगायतका जिम्मेवारी राम्ररी निभाउन सक्नेगरी यो पदलाई न्याय गर्ने सबैभन्दा योग्य व्यक्तिलाई तपाईं छनोट गर्नुस्।

यसअघि चन्द्र ढकाल र तपाईंहरु एउटै समूहमा हुनुहुन्थ्यो। तर अहिले उहाँ अलग प्यानलमा हुनुहुन्छ। चन्द्र ढकाल हुँदा र नहुँदा अहिले समीकरणका हिसाबले तपाईं लगायतको सहजता कम भएको हो ?
अवश्य पनि चन्द्र ढकाल दाइले मलाई सहयोग र समर्थन नगरेपछि कमजोर त भइहाल्छ नि। एकजुट भएको भए त म निर्विरोध भएरै आउँथे, यो चुनाव नै हुँदैनथ्यो एशोसिएट उपाध्यक्षमा। उहाँले मलाई प्रतिबद्धता पनि दिनुभएको थियो – तपाईं योग्य व्यक्ति हो, तपाईंले मलाई छोडिदिनुभएको हो, योपालि म तपाईंलाई सहयोग गर्छु भनेर। तर चुनावको विभिन्न समीकरणले गर्दा उहाँले त्यो गर्न सक्नुभएन। उहाँको आफ्नो बाध्यता केही होला।

फेरि यो चन्द्र ढकाल दाइको मात्र कुरा होइन। महासंघकै कुरा गर्दा हामी यति फुटेर गइरहेका छौं कि निजी क्षेत्र नै एकबद्ध हुन सकेन हामी एकआपसमा सँगै काम गर्न सकेनौं भने अरुले हाम्रो कुरा कसरी सुन्छ ? त्यही त मुख्य कुरा हो।

तर यो चुनावबाट निस्किएर अब कुरा गर्नुपर्छ हामीले । चुनावमा कसैको हारजित त भइहाल्छ । चुनाव प्रजातान्त्रिक प्रकिया भएकाले त्यसबाट सबैभन्दा योग्य व्यक्ति आउँछ जस्तो लाग्छ मलाई। मतदाताले आफ्नो र निजी क्षेत्रको हकहितको प्रतिनिधित्व गर्ने योग्य उम्मेदवार छनोट गर्ने चुनावबाटै हो। यसकारण यो चुनावबाट राम्रो र योग्य टिम आउँछ जसले महासंघलाई अझ बढि गरिमामय स्थानमा लैजानुपर्छ।

र, अर्को कुरा मलाई के लाग्छ भने चुनावको अन्तिम समयमा आइसकेकाे छ, तर हामी सबै व्यवसायी भएकाले अहिलेको चुनावी प्रक्रियामा पनि एकआपसमा यस्तो खराब माहोल छैन कि जसमा हामीमध्ये कसैले पनि एकले अर्कालाई गालीगलौज गरेको होस्। प्रतिस्पर्धीसँग एकदम सम्मानपूर्ण व्यवहार छ।

यसकारण चुनाव सकिएर जुनसुकै टिमको जोसुकै व्यक्ति कार्यसमितिमा आएपनि हामी  एकजुट भइकन मिलेर निजी क्षेत्रको एजेन्डा अघि बढाउनुपर्छ।

मलाई त ज्ञानेन्द्र दाइले मात्र किन, चन्द्र दाइले पनि सहयोग गर्नुहुन्छ। किनभने म उहाँसँग नजिक बसेर बैंकिङको समितिमा विभिन्न किसिमले काम गरेको छु। र, उहाँलाई थाहा छ कि – उहाँ वा जो जितेर आए पनि मैले महासंघको एजेन्डा लिएर अघि बढ्छु, म काम गर्छु, मेहनत गर्छु, महासंघका लागि।

नेपालको औद्योगिक व्यवसायिक विकासमा तपाईंको हजुरबुवा मणिहर्ष ज्योति मूर्द्धन्य व्यक्‍तित्व हुनुहुन्थ्यो । महासंघमा बुवा पद्म ज्योतिले अध्यक्षका रूपमा अलग्गै छाप बनाउनुभयो। तपाईंको हकमा, यो लिगेसीले चुनाव लड्न कत्तिको सघाउँदो रहेछ ?
प्लस-माइनस दुवै छ । मणिहर्ष ज्योति भनेपछि उहाँप्रति निजी क्षेत्रको छुट्टै सम्मान छ। बुवा आफैं पनि महासंघको पूर्वअध्यक्ष भएको। फेरि बुवाको पालामा त देशकै आर्थिक नीति महासंघको सुझाव नलिइकन यताउति हुँदैनथ्यो। महासंघले जे सुझाव दियो त्यो राष्ट्रको नीति हुन्थ्यो। महासंघको पूर्वअध्यक्ष हुँदा बुवाले भारत-नेपाल व्यापार सम्झौताको कुरा उठाउनुभयो। देशकै लागि त्यत्रो महत्त्वपूर्ण सम्झौतामा काम गर्नुभयो। त्यतिबेला महासंघको गरिमा त्यो थियो। यसको अर्थ उहाँले लगाएको जुत्तामा ठिक हुन खोज्नु ज्यादै ठूलो कुरा हो, ‘इट इज बिग सुज टु फिल !’

यसकारण मणिहर्ष, पद्म ज्योतिको नाम जोडिएपछि म सौरभ ज्योतिबाट पनि महासंघका सदस्य र व्यवसायी साथीहरुसँग एउटा अपेक्षा हुन्छ। त्यो अपेक्षाबमोजिम मैले काम गर्न सकिंन भने उहाँहरु अझ निराश हुनुहुनेछ। यसकारण मैले अझ बढी मेहनत र अझ बढी लगनशील भएर काम गर्नुपर्ने हुन्छ। त्यो स्थानमा पुगेर त्यस हिसाबले मैले सम्पूर्ण निजी क्षेत्रका लागि सेवा गर्न सक्नुपर्छ। यो चुनौतीका हिसाबले उहाँहरुको लिगेसी नेगेटिभ जस्‍तो हो। तर, अवश्य पनि लिगेसी भएपछि उहाँहरुले चिन्ने, पारिवारिक प्रतिष्ठा र सम्बन्धका हिसाबले गुडविल हुने सकारात्मक पक्ष हो। 

चुनावका लागि तपाईं कम्फर्टेबल अवस्थामा छु भन्नुहुन्छ, हुनुहुन्छ होला पनि। तर अहिले ज्ञानेन्द्रलाल प्रधान ‘किंगमेकर’ का रूपमा देखिनुभएको छ, उहाँसँग भएको भोट संख्याका दृष्टिले । उहाँले प्यानल होइन व्यक्ति हेरेर भोट हाल्छु भनिरहनुभएको छ। यसकारण ज्ञानेन्द्रलाल प्रधान तपाईंको जित-हारका लागि कति महत्त्व राख्नुहुन्छ ? 
हेर्नुस्, उहाँ महासंघ छोड्नुपर्दा पनि सत्य कुराको आवाज उठाएर हाम्रो लागि आफ्नो बलि दिनुभएको व्यक्ति हो। सत्य र महासंघको हकहितका लागि बोल्ने उहाँजस्तो मान्छे महासंघका लागि चाहिने व्यक्ति हो। तर दूर्भाग्यवस उहाँ बाहिर हुनुहुन्छ। हो, ज्ञानेन्द्र दाइसँग धेरै भोट छ। तर अब ज्ञानेन्द्र दाइ मात्र होइन त्यस्ता धेरै जना हुनुहुन्छ जसले गर्दा भोट ९२६ बाट ९०४ मा झरेको छ। यसैले ९०४ भोट नै महत्त्वपूर्ण छ । ज्ञानेन्द्र दाइले भने अनुसार नै मैले पनि आफ्नो लागि मात्र कसैसँग भोट मागेको छैन। आफूभन्दा पनि ‘हामी’ हो, मेरो टिम हो र त्यो टिम योग्य छ भने ल्याउनुस् भन्दै आएको छु।

तर हामीले सोधेको प्रश्नको उत्तर आएन । तपाईंलाई ज्ञानेन्द्रलाल प्रधानले सहयोग गर्नुहुन्छ ?
अवश्य पनि गर्नुहुन्छ । किनभने म उहाँसँग यत्रो नजिक भएर काम गरेको हो । मलाई त ज्ञानेन्द्र दाइले मात्र किन, चन्द्र दाइले पनि सहयोग गर्नुहुन्छ। किनभने म उहाँसँग नजिक बसेर बैंकिङको समितिमा विभिन्न किसिमले काम गरेको छु। र, उहाँलाई थाहा छ कि – उहाँ वा जो जितेर आए पनि मैले महासंघको एजेन्डा लिएर अघि बढ्छु, म काम गर्छु, मेहनत गर्छु, महासंघका लागि।

महासंघमा जहिले पनि तपाईं त युवा हुनुहुन्छ, उमेर छ, म ५० कटिसकें, उमेर ढल्किसक्यो, म पहिला आउँछु, तिमी छोडिदेउ भाइ … भन्ने प्रवृत्ति छ । यसरी मैले नै एकचोटी होइन, दुई-दुईपल्ट छोडिदिएको छु। यसपछि मैले के हो यो भनेर यसो विचार गरेँ। भविष्य युवाहरु  हुन् भनेर भन्ने तर युवाले नै  आफ्नो भविष्य निर्माण गर्न नेतृत्व गर्न नपाउने ? यसैले यो त भएन, अब युवाले नेतृत्व लिनुपर्छ भनेर पनि यसपालि जोसुकै आएपनि जेसुकै भएपनि अगाडि बढ्ने हो भनेर म आएको हो।

तपाईंले १२ वर्ष महासंघ कार्यसमितिमा बस्दा केही माइलस्टोन काम गरेको छु भन्दै गर्दा तपाईंलाई एउटा आरोप पनि छ। पछिल्लो समय सौरभ ज्योति महासंघको काममा चाहिँ कम सहभागिता जनाएर अरु फुर्सदिलो काममा बढी देखियो र त्यसैमा धेरै रमाइरह्यो भन्ने छ नि ?
सर्वप्रथम त चपाउने र देखाउने दाँत अलग हुन्छ भन्छन् । अब सोसल मिडियामा जे फोटो राखे पनि यो त रमाइमात्र रहेको छ काम गरेको छैन भन्ने विश्लेषण हुन्छ। किनकि त्यहाँ मैले खालि मिटिङ मिटिङको फोटो राख्यो भने कसैले रुचि देखाउँदैन। सोसल मिडियाहरु एउटा प्लेटफर्म हो, त्यसका टार्गेट ग्रुपहरु अलग्गै छन्। 

तर त्यो आरोपमा केही सत्यता पनि छ। मैले पहिलो दुई कार्यकाल जुन जोश जाँगरका साथ काम गरें तेस्रो र चौथो कार्यकालमा त्यो अलिकति कम भयो। किन जोशजाँगर कम भयो भने – मिटिङमा जान्छु, कामको कुरै हुँदैन, राजनीति मात्र हुन्छ ! राजनीति मात्र हुन्छ कामको कुरै हुँदैन भने मैले किन आफ्नो समय बर्बाद गर्ने भनेर म त्यो मिटिङमा जानै छोडें। तर मिटिङमा गए पनि वा नगएता पनि जुन पद र जिम्मेवारी मलाई दिइयो त्यसबाट एक कदम पछाडि नहटी त्यसलाई मैले निर्वाह गरेको छु। पूरा मेहनत गरेर पदलाई मैले न्याय गरेको छु। र केही नतिजा पनि ल्याएको छु।

तर कार्यसमिति सदस्यका रूपमा भने म डिस्करेज भएको हो। किनकि त्यो प्राय: एजेन्डाविहीन जस्तै हुन्थ्यो। अर्को निरुत्साहित पार्ने कुरा – महासंघमा जहिले पनि तपाईं त युवा हुनुहुन्छ, उमेर छ, म ५० कटिसकें, उमेर ढल्किसक्यो, म पहिला आउँछु, तिमी छोडिदेउ भाइ … भन्ने प्रवृत्ति छ । यसरी मैले नै एकचोटी होइन, दुई-दुईपल्ट छोडिदिएको छु। यसपछि मैले के हो यो भनेर यसो विचार गरेँ। भविष्य युवाहरु हुन् भनेर भन्ने तर युवाले नै आफ्नो भविष्य निर्माण गर्न नेतृत्व गर्न नपाउने ? उमेरमा म युवा भएपनि मेरो अनुभव त्यहाँ अरुभन्‍दा पनि धेरै छ। यसैले यो त भएन, अब युवाले नेतृत्व लिनुपर्छ भनेर पनि यसपालि जोसुकै आएपनि जेसुकै भएपनि अगाडि बढ्ने हो भनेर म आएको हो।

अन्यथा यस्तै  प्रवृत्ति रह्यो भने सबल सक्षम व्यक्ति वा उद्योग व्यवसायीहरु विस्तारै महासंघबाट टाढिन्छ। खासगरी युवा वर्ग, जसले काम गर्छु र नतिजा ल्याउँछु भन्ने सोच राखेको हुन्छ। त्यो नहोस् भन्नका लागि पनि हामीले अहिले यो अभियान चालेको हो। यो टिमसहितको नयाँ नेतृत्व हामीले खोजेको हो।

अहिलेको एसोसिएट उपाध्यक्षको दाबेदार भावी अध्यक्ष पनि हो । र, भावी अध्यक्षको उम्मेदवारलाई अहिले नै रोक्नुपर्छ भनेर निशानामा पनि पर्ने सम्भावना हुन्छ। तपाईंका लागि अहिले यो जोखिम कत्तिको देख्नुहुन्छ ?
साँच्चै भन्ने हो भने यदि अरुले मभन्दा राम्रो काम गर्न सक्छु भनेर अगाडि आउँछ भने त सबै समस्या उहाँकै नेतृत्वमा लगेर मलाई त यत्रो निर्वाचन र पदका लागि समय र मेहनत गर्न जरुरी नै थिएन। तर नेतृत्वमा  आफ्नो मेहनत, काबिलियत र योगदानले गरेर आउने हो। 

अब मलाई थाहा छैन कि म भविष्यको नेतृत्व हो कि होइन। त्यो अब उपाध्यक्ष भएर मैले रोजगारदाता, श्रमिक र सरकार तीनै पक्षको स्वार्थ सम्बोधन हुनेगरी रोजगारदाता परिषदको सभापतित्वलाई कति न्याय गर्न सक्छु भन्ने कुराले निर्धारण गर्छ। आफ्नो व्यवसायलाई पछाडि छोडेर समग्र निजीक्षेत्रको हकहितका लागि लड्नेगरी म त त्यहाँ सेवा गर्न जान लागेको हो। 
 

यो त भविष्यको नेतृत्व हो, यसलाई अहिले नै छाँट्नुपर्छ भन्यो भने त त्यो बेलासम्म महासंघ नै रहेन भने केको नेतृत्व गर्ने जो व्यक्ति आएपनि। त्यसैले आफ्नै खुट्टा काट्नु भएन। यस्तो सोचमा परिवर्तन हुनुपर्‍यो। तब मात्र महासंघ परिवर्तन हुनसक्छ। नेतृत्‍वले त्यो परिवर्तन ल्याउने हो। 

फेरि पनि हामीले सोधेको प्रश्नको उत्तर आएन। अहिले चुनावी निशानामा परेको त हो नि तपाईं ?
यसमा म व्यक्तिगत धारणा दिनसक्छु। कोही योग्य व्यक्ति छ भने त्यसलाई त झन् प्रोत्साहन गर्ने हो, निरुत्साहित गर्ने होइन नि ? न मैले केही खोजेको छु। यो प्रवृत्तिबाट हामी हट्नुपर्‍यो। अहिले सबै व्यवसायमा दुई प्रकारका व्यक्ति छन्। जसमा एक प्रकारका आफ्नो व्यवसाय भएपनि वा नभए पनि महासंघलाई आफ्नो व्यवसाय बनाउने छन्, अहिले उनीहरु नै हाबी छन् महासंघमा। त्यसको अन्त्य गर्नुपर्‍यो। र, जो प्रोफेशनल व्यवसायीहरु छन् र जसले निस्वार्थ आफ्नो व्यवसायलाई दोस्रो प्राथमिकतामा राखेर पहिलो प्राथमिकतामा सेवाभावले महासंघलाई राखेका छन्। उनीहरुलाई नेतृत्वमा ल्याउन सक्यो र त्यो सोचले अघि बढ्न  सक्यौं भने व्यवसायिक र योग्य व्यक्ति आउन सक्छ। 

होइन, यो त भविष्यको नेतृत्व हो, यसलाई अहिले नै छाँट्नुपर्छ भन्यो भने त त्यो बेलासम्म महासंघ नै रहेन भने केको नेतृत्व गर्ने जो व्यक्ति आएपनि? त्यसैले आफ्नै खुट्टा काट्नु भएन। यस्तो सोचमा परिवर्तन हुनुपर्‍यो। तब मात्र महासंघ परिवर्तन हुनसक्छ। नेतृत्‍वले त्यो परिवर्तन ल्याउने हो। 

महासंघमा अनुभवी र योगदान गर्नसक्ने व्यक्ति आउनुपर्छ भन्ने कुरामा तपाईंको जोड देखियो। तपाईंका प्रतिस्पर्धी पनि उद्योग व्यवसायमा लामो अनुभव भएका व्यक्ति हुनुहुन्छ। यस हिसाबले महासंघमा अनुभव र तपाईंको जस्तो युवा ऊर्जामा केले बढी महत्त्व राख्छ जस्तो लाग्छ ?
दुइटै चाहिन्छ – अनुभव र जोश पनि। तर मलाई सबै कुरा थाहा छैन। मसँग अनुभव छैन होला, मानौं। अथवा अटो, स्टिल, स्वास्थ्य क्षेत्रमा मेरो अलिकति अनुभव बढी होला किनकि प्रत्यक्षरुपमा म ती व्यवसायमा आबद्ध छु। अरुमा मेरो कम अनुभव होला वा छैन भन्ने मान्नुस्। तर हेर्नुस्, एकजना मान्छे भनेको एउटा टाउको लिएर आएको हुन्छ, सबै कुरा थाहा हुँदैन। यसैले त मेरो टिम छ, जसमा हरेक क्षेत्रको विज्ञता र त्यहाँ काम गरेका अनुभवी व्यक्तित्वहरु हुनुहुन्छ। टिमबाहिर पनि मेरो ९२६ जना एशोसिएट सदस्य छन्। म उहाँहरुसँग पनि तीन महिनामा कम्तिमा एकचोटी भेला गरेर उहाँहरुका समस्या समाधानका लागि हरेकसँग सल्लाह सुझाव संकलन गरेर अघि बढ्नेछु। 

यसकारण लिडरलाई सबै कुरा थाहा हुँदैन, ऊ सबै कुरा थाहा नहुने व्यक्ति हो। अरुहरुको सीप, ज्ञान, अनुभव, जोशलाई च्यानल गरेर अघि बढ्ने हो। जस्तो कि, टेनिस र फुटबल खेल । यी दुईमध्ये कुनै एउटा मात्र राम्रो वा नराम्रो भन्ने होइन, दुवै आ-आफ्नो ठाउँमा राम्रा हुन्। तर टेनिस व्यक्तिगत वा सोलो व्यवसाय जस्तो हो भने महासंघ फुटबलजस्तो हो – हार वा जित दुवै टिम गेममा निर्भर हुन्छ। यसैले अब हामीले महासंघलाई अगाडि लैजाने सवालमा टेनिस हैन फुटबल जसरी सोच्नुपर्छ। त्यसकारण सबैलाई एउटा टिम बनाएर लैजान सक्ने क्षमता र सोच भएको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ।