फाइबर इन्टरनेटमा निजी सेवा प्रदायकको वर्चस्व, सरकारी कम्पनी एनटीसीसँग ग्राहक ३७ हजार मात्रै

बिजमाण्डू
२०७७ कात्तिक १ गते १३:०७ | Oct 17, 2020

https://bizmandu.com/assets/upload/images/HUpnp7MdDM7J.png

Tata
GBIME
Nepal Life

काठमाडौं। फाइबर इन्टरनेट विस्तारमा निजी क्षेत्रका सेवा प्रदायकको वर्चस्व कायमै रहेको छ। देशभर गत साउनसम्म फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या ८ लाख ९२ हजार कटेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ।

नेपाली बजारमा सक्रिय रहेका ४० इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)मध्ये ३९ निजी क्षेत्रका हुन् भने नेपाल टेलिकम मात्रै एक्लो सरकारी स्वामित्वको सेवा प्रदायक हो। फाइबर इन्टरनेट प्रयोगकर्ता ८ लाख ९२ हजार ४ सय २३ मध्ये निजी क्षेत्रको ग्राहक संख्या साढे आठ लाखभन्दा बढी छन्।

नेपाल टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ता जम्मा ३७ हजार हाराहारीमा सीमित रहेको प्राधिकरणले प्रकाशित गरेको पछिल्लो एमआइएस प्रतिवेदनमा उल्लेख छ। एक महिनाको अवधिमा देशभर फाइबर इन्टरनेट प्रयोगकर्ता साढे ३१ हजारभन्दा बढीले वृद्धि भएको छ।

वर्ल्डलिंकको ग्राहक संख्या ४ लाख पुग्दै
सबैभन्दा बढी फाइबर इन्टरनेट प्रयोगकर्ता निजी क्षेत्रको वर्ल्डलिंकसँग कायमै छ। वर्ल्डलिंकको फाइबर इन्टरनेट चलाउनेको संख्या ३ लाख ९१ हजार ५ सय ७ पुगेको प्राधिकरणले जनाएको छ।

असारमा उक्त संख्या ३ लाख ७३ हजार २ सय ३५ थियो। एक महिनामा वर्ल्डलिंकले १८ हजारभन्दा बढी नयाँ ग्राहक थपेको तथ्यांक प्राधिकरणसँग छ। दोस्रो बढी ग्राहक संख्या निजी क्षेत्रकै भायनेटसँग छ। भायनेटको फाइबर इन्टरनेट प्रयोगकर्ता झण्डै १ लाख १४ हजार पुग्न लागेको प्राधिकरणले जनाएको छ। असारमा भायनेटसँग १ लाख ११ हजार फाइबर इन्टरनेट प्रयोगकर्ता थिए। भायनेटलाई निजी क्षेत्रकै सुबिसुले पछ्याइरहेको छ।

सुबिसुसँग फाइबर इन्टरनेट चलाउने ग्राहक १ लाख ९ हजारभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ। असारमा सुबिसुसँग १ लाख ४ हजार ९९ जना ग्राहक थिए। साउनको तथ्यांक केलाउँदा सुबिसुले क्लासिक टेकलाई फाइबर इन्टरनेट प्रयोगकर्ता संख्यामा उछिनेर शीर्ष तीनमा उक्लिएको छ।

असारमा सुबिसुभन्दा बढी ग्राहक १ लाख ५ हजार ५ सय ७ रहेको क्लासिक टेकको साउनमा १ लाख ७ हजार कटेको प्राधिकरणले जनाएको छ। सुबिसुसँग क्लासिक टेकभन्दा १६ सय ६९ ग्राहक बढी छन्।

एनटीसीलाई पछि पार्दै चितवनको टेकमाइन्ड्स 
चितवन नारायणगढको टेकमाइन्ड्स नेटवर्क मोफसलमा स्थापित निजी क्षेत्रकै इन्टरनेट सेवा प्रदायकमा अग्रणी रहेको देखिन्छ। टेकमाइन्ड्स नेटवर्कले सरकारी स्वामित्वको एनटीसीलाई पछि पारेको छ।

टेकमाइन्ड्स नेटवर्कसँग गत साउनसम्म फाइबर इन्टरनेट ग्राहक संख्या साढे ४० हजार पुग्न लागेको प्राधिकरणले रिपोर्टमा उल्लेख गरेको छ।कम्पनीले एक महिने अवधिमा नयाँ ग्राहक भने थप्न सकेको छैन। यसैगरी, एनटीसीले गत साउनसम्म फाइबर इन्टरनेट ग्राहक संख्या ३८ हजार १ सय ३८ पुर्‍याएको छ। एनटीसीले पनि एक महिने अवधिमा नयाँ फाइबर इन्टरनेट ग्राहक थप्न नसकेको प्राधिकरणको तथ्यांकले देखाउँछ।

अन्य इन्टरनेट सेवा प्रदायकहरु काठमाडौं उपत्यकासहित पोखरा, धनगढी, विराटनगर र जनकपुर लगायतका स्थानहरुमा सक्रिय छन्। बाँकी ३४ वटा निजी कम्पनीहरुले देशका विभिन्न क्षेत्रमा ८९ हजारभन्दा बढी ग्राहकहरुलाई फाइबर इन्टरनेट उपलब्ध गराइरहेको प्राधिकरणले जनाएको छ।