माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित, अन्तरिम नगद लाभांश वितरणको प्रस्ताव, बोनस सेयरपछि

बिजमाण्डू
२०७७ कात्तिक १ गते ०६:४३ | Oct 17, 2020
माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित, अन्तरिम नगद लाभांश वितरणको प्रस्ताव, बोनस सेयरपछि

Tata
GBIME

काठमाडौं । माछापुच्छ्रे बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ।

कोभिड कहरको संक्रमणमा भइरहेको वृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा भाग लिन कठिनाइ हुने परिस्थितिलाई ध्यानमा राखी साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको २२ औं साधारण सभा कात्तिक ६ गते बिहीबारका दिन पोखरामा गर्ने तय भएको थियो ।

साधारणसभा स्थगित भए पनि कोभिड कहरको कारण आम सेयरधनीलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकको २२ औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी बैंकले अन्तरिम लाभांश दिने प्रस्ताव गरेको छ।

हाललाई  २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले अन्तरिम नगद लाभांश वितरण गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो।