७ महिनापछि भारतमा खुल्यो सिनेमा हल, दर्शक नहुँदा कर्मचारी र गार्ड नै बसे फिल्म हेर्न

बिजमाण्डू
२०७७ असोज ३० गते ११:२१ | Oct 16, 2020

Tata
GBIME
Nepal Life

भारतमा कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएका सिनेमा हल खुलेका छन्। महामारीका कारण करिब ७ महिना बन्द रहेका सिनेमा हलहरु खोल्ने निर्णय सरकारले गरेसँगै पुराना फिल्महरु प्रदर्शन गरिएको छ। सिनेमा हल खोल्ने नखोल्ने निर्णय अवस्था हरेर सम्बन्धित राज्य सरकारले लिइरहेको छ।

कोरोनाका कारण महिनौंसम्म बलिउड क्षेत्र पनि ठप्प रहेको थियो।। सरकारले स्वीकृति दिएपछि हाल केही फिल्महरुको सुटिङ सुरु भइसकेको छ। केही फिल्महरु डिजिटल प्ल्याटफर्ममा प्रदर्शन भइसकेका छन्।

भारतमा करिब १० हजार सिनेमा हल मार्चदेखि बन्द गरिएका थिए। अब सिनेमा हलहरू खुलेसँगै बलिउडको फिल्म निर्माण व्यवसायले गति लिने अनुमान गरिएको छ।

सिनेमा हल खुले पनि सुरूवातमा निकै कम संख्यामा मात्रै दर्शक फिल्म हेर्न पुगेका छन्। हल खाली हुँदा सिनेमा हल रहेको मलका कर्मचारी, गार्ड नै कुर्सीमा बसेर फिल्म हेर्न बसे।

दर्शकलाई सिनेमा हल प्रवेश गर्दा र भित्र पनि मास्क अनिवार्य गरिएको छ। सिनेमा हल भित्र पहिला जस्तै सबै सिटमा दर्शकलाई राखिने छैन। एउटा सिट छोडेर टिकट बाँडिनेछ।

फिल्म हल प्रवेश गर्नु अघि कर्मचारीहरुले दर्शकको शरीरको तापक्रम नाप्नुका साथै सेनिटाइज गर्ने गरेका छन्। सबै कर्मचारीहरुलाई फेस मास्क अनिवार्य गरिएको छ।