औद्योगिक नगर वीरगंज पटके सवारी करको मारमा, १८ ठाउँमा ढाट राखेर शुल्क असुल्दै

बिजमाण्डू
२०७७ असोज ३० गते ०७:५५ | Oct 16, 2020
औद्योगिक नगर वीरगंज पटके सवारी करको मारमा, १८ ठाउँमा ढाट राखेर शुल्क असुल्दै

Tata
GBIME
Nepal Life

वीरगंज। महानगरको सम्झौता विपरीत पटके सवारी कर उठाएपछि ठेकेदार कम्पनीविरुद्ध उद्योगी व्यवसायीले मुद्दा दायर गर्ने भएका छन्।

चालु आर्थिक वर्ष २०७७/७८को पटके सवारी करको ठेक्का आर्यन कन्सट्रक्सनले पाएको थियो। वीरगंज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले आर्यनको ठेक्का खारेजीको माग गर्दै अदालतमा रिट हाल्ने बताए। ‘ठेकेदार कम्पनीले एक त सम्झौता विपरीत शुल्क लिइरहेको छ, अर्कोतर्फ राजमार्ग क्षेत्रमा शुल्क लिने ठाउँमा पनि ठेकेदार कम्पनीले शुल्क उठाइरहेको छ,’ उनले भने,‘ठेकेदारले बलपूर्वक शुल्क उठाएको बारेमा महानगरपालिकामा पटकपटक ध्यानकर्षण गराउँदा समेत खासै चासो दिइएको छैन।’

ठेकेदारले चालु आवको लागि ४ करोड ९० लाखमा पटके सवारी कर उठाउने ठेक्का लिएको छ । जितपुरको केरा ढोकादेखि परवानीपुर हुँदै ड्राइपोर्ट, आइसीपी चोक, रजतजयन्ती, बाइपास लगायतका १८ ठाउँमा ढाट लगाएर शुल्क उठाउने महानगरले ठेकेदार कम्पनीलाई अनुमति दिनु संघीय सरकारको नियम विपरित रहेको वीरगंजका अर्का व्यवसायी सुरेश रुगंटाले विश्लेषण गरेका छन्।

‘राजमार्गको क्षेत्र केन्द्र सरकारको अधीनमा हुन्छ, महानगरले आफनो बजेटबाट बनाएको सडकमा मात्र कर लिन पाउँछन्,’ व्यवसायी रुंगटाले भने,‘जितपुर जगदम्बा इन्टरप्राइजेजको गेट आर्थात केरा ढोका,परवानीपुर हिमाल आयरनको गेटमा,परवानीपुर–ड्राइपोर्ट–आइसीपी चोक(पद्यरोड मोडमा), वीरगंज भन्सारबाट सेकेन्ड बाइपासमा जाने इनर्वा चोक,बाइपास क्षेत्रमा गरी करिब ८ ठाउँमा गैरकानुनी किसिमले ठेकेदारले कर लिइरहेको छ,यसमा प्रशासनको ध्यान जानु पर्ने आवश्यक छ।’

ठेकेदारले महानगरसँग गरेको सम्झौतामा वार्षिक रुपमा पनि रसिद काटेर गाडी आवतजावत गर्न दिइने भनिए पटकपटक ओहोरदोहोर गर्ने गाडीसँग दिनमै चार-पाँच पटक कर असुल्ने काम भइरहेको छ। जब की सम्झौतापत्रमा स्पष्ट लेखिएको छ, सवारी व्यवस्थापन सेवा शुल्क वापत वार्षिक रूपमा बससँग ३ हजार, मिनी बससँग २ हजार, माइक्रो बससँग ५ सय, जिप–कार(निजी) ८ सय, जिप–कार भाडाको १ हजार, ट्रयाक्टर, टेम्पो, इ-रिक्सा ५ सय, पावर टेलर ३ सय, मोटरसाइकल ३ सय,रिक्सा ठेला सय, ६ चक्के ट्रक ३ हजार, १० चक्कासम्मको ट्रक ४५ सय र १० चक्काभन्दा माथिको ट्रकलाई ५ हजार लाग्छ।

तर ठेकेदार कम्पनीले वार्षिक रसिद नकाटी पटकेबाट बढी पैसा असुल्ने जुक्ति खोजेको छ। व्यवसायीले वार्षिक कर तिर्न तयार भए पनि ठेकेदारले रसिद काट्न आनकानी गरिरहेको छ। दिनकै पटकपटक ओहोरदोहोर गर्दा नेपाली ६ चक्का सम्मको गाडीसँग ५० रुपैयाँ, भारतीयसँग २ सय रुपैयाँ,१० चक्का सम्मको नेपाली गाडीसँग ७५ रुपैया, भारतीयसँग अढाई सय, त्यसैगरी,१० चक्काभन्दा बढी क्षमताको गाडीसँग १ सय रुपैयाँ र भारतीयको हकमा ३ सय कर तिर्नु पर्ने नियम छ। त्यसैगरी,भाडा लिएको मिनीबससँग पटके सय रुपैयाँ तिर्नु पर्ने नियम छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि वीरेन्द्रबहादुर क्षेत्रीले वार्षिक शुल्क लिन तयार रहेको बताए। उनले महँगोमा ठेक्का लिएको तर कोरोना महामारीको कारण दैनिक १ लाख रुपैयाँ घाटा ब्योहोर्नुपरेको दाबी गरे। महानगरले तोकेका १८ मध्ये कर्मचारीको अभावमा ११ ठाउँमा मात्र शुल्क उठाइरहेको उनले बताए।