काठमाडौंबाट गोलभेंडा बाहिरी जिल्लामा जान थालेपछि बढ्न थाल्यो मूल्य, खुद्रामा मनपरी

बिजमाण्डू
२०७७ असोज ४ गते १०:०१ | Sep 20, 2020
काठमाडौंबाट गोलभेंडा बाहिरी जिल्लामा जान थालेपछि बढ्न थाल्यो मूल्य, खुद्रामा मनपरी

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकामा टनेलमा फलाइने गोलभेडा बाहिरी जिल्लामा जान थालेपछि बजार भाउ बढेको छ। महंगिएको भाउमा आलु र प्याज किनिरहेका उपभोक्ताका लागि गोलभेंडा पनि महंगो भइरहेको छ। एकै सातामा गोलभेंडाको मूल्यमा ६ रूपैयाँदेखि ५० रूपैयाँसम्म बढेको छ।

टनेलमा फलाइएका गोलभेडाको सिजन जाँदैछ। भाउ प्रतिकेजी १२० रुपैयाँसम्म पुगेर घटेको थियो। उत्पादन कम हुन थालेपछि उपत्यकाको बजारमा भित्रिने गोलभेडाको मूल्य दैनिक घट-बढ भइरहेको छ। कालिमाटी तरकारी बजारमा शनिबार ठूलो नेपाली गोलभेंडा प्रतिकेजी १०० रुपैयाँ, सानो प्रतिकेजी ८५ र सानो टनेलको प्रतिकेजी ११० रुपैयाँ रह्यो। 

गत साताको शनिबार प्रतिकेजी ६१ रुपैयाँ रहेको गोलभेडा यतिबेला थोकमा १०० रुपैयाँ परे पनि खुद्रा मूल्यमा उपभोक्ताले १२० भन्दा बढीमा किन्नु परिरहेको छ। लकडाउनको समयमा बजारमा खपत नहुँदा भाउ प्रतिकेजी १८ रुपैयाँमा झरेको थियो। भाउ घट्दा किसानले गोलभेंडा उत्पादन कम गरेका थिए। उपत्यकामा उत्पादन भएका गोलभेडा यतिबेला बाहिरी जिल्लाका बजारमा जान थालेपछि मूल्य बढ्न थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए। 

'पहिले उपत्यका बाहिरबाट मात्रै आपूर्ति हुँदै आएको थियो भने यतिबेला उपत्यकाबाटै बाहिर जान थालेको छ। ठ्याक्कै उल्टो भएको छ,' उनले भने। दैनिक भान्छामा प्रयोग गरिने तरकारीमध्ये पर्ने भएकाले गोलभेडाको माग स्थिर रहने गरेको छ। गत बिहीबार कालिमाटी तरकारी बजारमा गोलभेंडाको मूल्य बढेर प्रतिकेजी १ सय २० रुपैयाँसम्म पुगेको थियो। लकडाउनपछिको यो सबैभन्दा उच्च मूल्य थियो। 

बर्खा लागेपछि बर्सेनि तरकारीको उत्पादन घट्दा बजारमा आपूर्ति परिमाण कम हुँदै जान्छ भने माग बढ्छ। मूल्य पनि ह्वातै बढ्छ। अघिल्लो आइतवार थोक बजारमा प्रतिकेजी ९८ रुपैयाँमा बिक्री भएको टनेल ठूलो गोलभेंडा बिहीबार प्रतिकेजी २२ रुपैयाँले बढेको थियो।  प्रतिकेजी ७२ रुपैयाँ रहेको सानो टनेलको गोलभेंडा शुक्रबार प्रतिकेजी एक सय १० रुपैयाँ पुगेको थियो। प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भएको लोकल गोलभेडाको मूल्य बढेर बिहीबार १००  रुपैयाँ  पुगेको थियो। 

अघिल्लो वर्षको तुलनामा ठूलो गोलभेडाको मूल्य ९६ प्रतिशतले बढेको छ। आर्थिक वर्षमा साढे तीन करोड केजी बराबरको गोलभेडा बजारमा भित्रिएको छ।  जसमा नेपाली उत्पादन ३ करोड ५३ लाख केजी र भारतबाट एक करोड ३३ लाख केजी गोलभेडा आयात भएको  तथ्यांक छ। 
आर्थिक वर्ष २०७५/७६ मा  ३ करोड केजीभन्दा बढीको खरिद-बिक्री भएको कालिमाटी बजारले जनाएको छ।  

काठमाडौं, भक्तपुर र ललितपुरमा उत्पादित गोलभेंडा बाहिर जान थालेपछि किसानले भाउ पाएका छन्। तर, उपत्यकाको बजारमा चाडबाडको मुखमा भाउ उच्च हुन थालेको छ।