माग घटेपछि औषधि उद्योगहरू बन्द हुँदै, बिरामीको जाँच घट्दा औषधिको मागमा ४०% ह्रास

बिजमाण्डू
२०७७ असोज ३ गते १०:२९ | Sep 19, 2020
माग घटेपछि औषधि उद्योगहरू बन्द हुँदै, बिरामीको जाँच घट्दा औषधिको मागमा ४०% ह्रास

Tata
GBIME
Nepal Life

काठमाडौं। बजारमा औषधिको माग घटेपछि सञ्चालकहरूले नेपाली औषधि उद्योगहरूले उत्पादन युनिटहरू बन्द गर्न थालेका छन्।  उनीहरूका अनुसार बजारमा ४० प्रतिशतसम्म माग घटेको छ। त्यसैले उद्योग बन्द हुन थालेका हुन्।

कोभिड संक्रमण सुरु हुँदा नेपाली औषधि उद्योगको उत्पादनले बजार माग नधान्ने चर्चा चलेको थियो। तर कोभिड संक्रमणबाट स्वास्थ्यकर्मी समेत समस्यामा परेपछि औषधि उद्योगलाई संकट बढेको हो। ३० जना बिरामी जाँच्ने डाक्टरले अहिले ५ जना पनि परीक्षण गरेका छैनन्। 

धेरै अस्पतालहरुले आउट पेसेन्ट डिपार्टमेन्ट (ओपिडी) सेवा बन्द गरेका छन्। औषधि उद्योग केही दिनदेखि बन्द गरेको देउराली जनता फर्मास्ट्युटिकल्सका सञ्चालक हरिभक्त शर्माले बताए। उनका अनुसार औषधिको माग घट्दा उद्योग बन्द भएको हो। 

व्यवसायी शर्माले भने 'समस्या दुवैतर्फ छ, सेवा लिने र  दिने धेरै मान्छे घरभित्रै छन्। सानातिना स्वास्थ्य समस्या मात्र होइन ठूलै समस्या स्वास्थ्य समस्या आए पनि बिरामी अस्पताल जाने गरेका छैनन्। सबै कुराको माग बजारमा घट्दा औषधीको मागमा पनि कमी आएको हो।' कोभिडका कारण अरू स्वास्थ्य समस्याको उपचार छायाँमा परेको छ। 

स्वास्थ्यकर्मीले बिरामी नजाँच्दा औषधिको खपत घटेको छ। 'स्वास्थ्यप्रति मानिसहरु पनि सजग बन्न थालेका छन्। हाम्रो जस्तो गरिब मुलुकमा मानिसहरुको मुभमेन्ट कम हुँदा इन्फेक्सनका बिरामीहरु पनि कम हुने गर्दछ। यो स्वभाविक  पनि हो,' उनले भने। 

औषधि उद्योगमा काम गर्ने कर्मचारी पनि स्वास्थ्यप्रति सचेत उद्योगी शर्माको भनाई छ। उनीहरु स्वास्थ्यको मापदण्ड पूरा नगरी काम गर्दैनन। धेरै कम्पनीलाई अहिले पारिश्रमिक दिन समेत कठिन भइरहेको छ। अहिले सरकारले ल्याएको राहत प्याकेज कार्यविधिले औषधि उद्योगलाई कुनै सुविधा नदिएको आरोप समेत उद्योगी शर्माको छ। 

औषधि व्यवसाय नेपालमा मात्रै नभएर भारतीय बजारमा पनि ओरालो लागेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले बताए। उनका अनुसार अहिले न्यून क्षमतामा मात्रै उद्योगहरु सञ्चालनमा आएका छन्। 

बजारमा औषधिको माग कम हुदाँ उद्योग राम्ररी उद्योग सञ्चालन हुन नसकेको क्वेष्ट फर्मास्युटिकलका सञ्चालक उमेशलाल श्रेष्ठले बताए। डाक्टरले बिरामी चेकजाँच गर्न नगर्दा एन्टीबायोटिक जस्ता औषधिकोमा माग घटेको छ।  

औषधि उत्पादनका लागि पनि उद्योगहरूलाई कच्चा पदार्थ आयातमा समस्या छ। 'हामी अहिले डबल मारमा छौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको छ। यता औषधीको माग घटेको छ। डलरको भाउ बढेको छ। यस्तै सरकारले औषधिको कच्चा पदार्थमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लिने गरेकोले थप मारमा परेका छौं,' उनले भने, 'उदाहरणका लागि जीवनजल बनाउने ग्लुकोज मुख्य कच्चा पदार्थ हो । यसमा भ्याट लाग्ने गरेको छ।'

सरकारले बजेटबाट कुनै पनि प्याकिङ कच्चा पदार्थमा भ्याट नलाग्ने भनिएको थियो। तर आर्थिक ऐनबाट थोरै मात्र कच्चा पदार्थमा भ्याट छुट दिने निर्णय गरियो। तयारी औषधी आयात ४ प्रतिशत कर र कच्चा पदार्थ आयातमा १३ प्रतिशत कर लाग्दा धेरै प्रकारका कच्चा पदार्थ आयात गर्न नसकिएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए।

बजारमा सेनिटाइजरको माग बढेपछि सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले पनि उत्पादन थालेको थियो। लकडाउन सुृरू हुँदाताका जस्तो सेनिटाइजरको बजार अब छैन। बिक्री घटेपछि कम्पनीले उत्पादन परिमाण घटाएको स्रोतले बताएको छ। 

कामदारमा कोरोना संक्रमण पाइएपछि मोरङको एउटा औषधि कारखाना बन्द भएको छ। धेरै उद्योगलाई आफ्ना कामदारलाई सुरक्षित राख्न नै चुनौती छ। बजारमा माग नहुनु नै उद्योग बन्द गर्नु या उत्पादन क्षमता घटाउनुको प्रमुख कारण भएको उद्योगीहरूको भनाइ छ।   

संक्रमण घटेर स्वास्थ्य संस्थाहरूमा सबै प्रकारका बिरामीको जाँच र उपचार सहज नभएसम्म औषधिको खपत नबढ्ने आकलन उद्योगीहरूको छ। त्यसैले उनीहरू अवस्थामा सुधार आउने दिन पर्खँदैछन्।