सुनको मौज्दात बढाउँदै बैंकहरु, स्टकमा १५० किलो, थप १०० किलो सुन आयात गरिँदै

बिजमाण्डू
२०७७ भदौ ३१ गते १०:५६ | Sep 16, 2020

Tata
GBIME

काठमाडौं। सुनको माग आउन थालेपछि बैंकहरुले विदेशबाट आयात गर्न थालेका छन्। बैंकहरुले थप एक सय किलो सुन आयात गर्ने तयारी गरिरहेका छन्।

गत साता मात्रै बैंकहरुले ५० किलो सुन आयात गरेका थिए। अहिले बैंकहरुसँग कुल १५० किलो सुन मौज्दात छ। 

'लकडाउनका बेला साता-१० दिनमै १५० किलो हाराहारी सुन बिक्री भयो। कुन बेला कति सुन जान्छ भन्ने नै अनुमान गर्न नसकिने भएको छ,' बैंकर्स संघका प्रमुख कार्यकारी अनिल शर्माले बिजमाण्डूसँग भने, 'त्यही भएर थप सुन आयात गर्दैछौं।'

सुनको मौज्दात २५० किलो हाराहारी राख्ने योजना बैंकहरुको हो। यसो हुँदा माग ह्वात्तै आयो भने पनि हाहाकार हुँदैन भन्ने बुझाइ बैंकहरुको छ।

नेपालमा सुन जोसुकैले आयात गर्न पाउँदैनन्। वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन्। सुन ब्यवसायीले बैंकमार्फत सुन खरिद गर्नु पर्छ।