कोभिडकै बीचमा यतीले पायो अन्तर्राष्ट्रिय उडान अनुमति, गौतम बुद्ध विमानस्थलबाट उडान थाल्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ भदौ २८ गते १५:५२ | Sep 13, 2020
कोभिडकै बीचमा यतीले पायो अन्तर्राष्ट्रिय उडान अनुमति, गौतम बुद्ध विमानस्थलबाट उडान थाल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुससेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर उडानका लागि इजाजतपत्र पाएको छ। पर्यटन मन्त्रालयले केही दिन अघि चार्टर उडानका लागि अनुमति दिएको हो।

इजाजत पाएपछि कम्पनीलाई सेवा अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया सुरु गरिसकेको जनाएको छ। ‘कम्पनीले अन्तर्राष्ट्रिय चार्टर उडानका लाग मन्त्रालयबाट इजाजत पत्र पाएको छ। अन्तर्राष्ट्रिय उडान अनुमति दिनु पूर्व हामीले टिम गठन गरेर अध्ययन गर्नुपर्ने हुन्छ। अध्ययनका लागि हामीले प्राधिकरण अन्तर्गत हवाई सेवा सुरक्षा विभागमा फाइल आइपुगिसकेको छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘कम्पनीले उडान गर्न लागेको गन्तब्यको रुट, जनशक्ति, प्राविधिक लगायतको अध्ययन पछि अनुमति दिइने छ।‘

कोभिड-१९ कारण उडान अनुमति दिने समयसीमा तोक्न नसकिने उनले बताए। ‘कम्पनी र अध्ययन समूहको समय व्यवस्थापनमा भर पर्ने कुरा हो। सामान्यतयाको तुलनामा अहिलेको अवस्थामा सहजै अध्ययन गर्ने सकिने अवस्था छैन,‘ ती कर्मचारीले भने। अन्तर्राष्ट्रिय उडानका लागि तीनदेखि ६ महिना समय लाग्छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएलगत्तै चार्टर उडान गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले बताए। ‘गौतमबुद्ध विमानस्थल छिट्टै संचालनमा आउँदै छ। हामीले यही विमानस्थलबाट सुरुमा भारतका विभिन्न क्षेत्रलाई मध्यनजर गर्दै चार्टर उडान संचालनमा ल्याउने योजना बनाएका छौं,‘ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिमालले भने,’अन्तर्राष्ट्रिय उडानतर्फ हाम्रै भगिनी कम्पनी हिमालयले नियमित उडान गर्दै आएको छ। इजाजत पाए लगत्तै यतिले तत्काल नियमित अन्तर्राष्ट्रिय उडान गर्ने छैन।’

चार्टर उडानमार्फत धार्मिक पर्यटन प्रवर्द्धनसँगै यात्रुको माग अनुसारको सेवा दिने उनले बताए। भारत हुँदै आउने बौद्ध धर्मावलम्बीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने योजना रहेको उनले जानकारी दिए।

उनका अनुसार कम्पनीले उडानका लागि ७२ सिट क्षमताको एटिआर-७२ प्रयोग गरिनेछ। १४ वर्ष अघि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको यतिले पुनः इजाजतका लागि आवेदन दिएको थियो। अन्तर्राष्ट्रिय उडान विस्तारका लागि फ्लाइ यतीको नाममा लिएको लाइसेन्स हिमालय एयरलाइन्सलाई प्रयोग गर्न दिएका कारण नयाँ अनुमतिका लागि आवेदन दिएको थियो।

मन्त्रालयले गत वैशाख १७ गते अन्तर्राष्ट्रिय उडानका लागि सार्वजनिक सूचना जारी गरे अनुसार यतीले गत जेठ २९ गते आवेदन दिएको थियो। कम्पनीको वित्तीय, उडान सुरक्षा, जनशक्ति क्षमतालगायत विभिन्न विषयको मूल्यांकनका आधारमा इजाजत दिइने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयले बनाएको नयाँ कार्यविधि अनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित उडान गर्ने कम्पनीलाई अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान रहेको छ।निजी वायुसेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान अनुमति पाइसकेको छ। लकडाउनअघि कम्पनीले काठमाडौं बनारस नियमित उडान गर्दै आएको थियो।