एनसेलले ल्यायो अनलाइन कक्षाका लागि विशेष मासिक प्याकेज, एनप्याब्सन र प्याब्सनसँग सहकार्य

बिजमाण्डू
२०७७ साउन १८ गते १२:२६ | Aug 2, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक योजना ल्याएको छ । कम्पनीले निजी विद्यालयहरुका दुई संगठन प्याब्सन र एन-प्याब्सनसँगको सहकार्यमा अनलाइन कक्षाका लागि विशेष मासिक डेटा प्याकेज ल्याएको हो ।

यस योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्नेछन् । जसमा विद्यार्थीले अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, एक जीबी थ्रिजी/फोरजी डेटा, दुई जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । यो सम्पूर्ण प्याकेजका लागि करबाहेक जम्मा २५० रुपैयाँ मात्र लाग्ने बताइएको छ ।

कोरोना महामारीले विद्यालयहरु बन्द भइ अहिले अध्ययन अध्यापनमा असर परिरहेकाले अनलाइन कक्षा तथा सिकाइका लागि यस्तो आकर्षक योजना ल्याइएको एनसेलको विज्ञप्तिमा उल्लेख छ । 

अनलाइन कक्षाका लागि कम्पनीले यो योजना एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीमा ल्याएको हो । यसले सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडब्याण्डमा पहुँच सुनिश्चित गर्ने विश्वास कम्पनीको छ । 

कोभिड–१९ ले शिक्षा क्षेत्रमा समेत गम्भीर असर पर्दा अध्ययन अध्यापन जारी राख्न प्रविधि र अनलाइन शिक्षाको महत्त्व हेरेर देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्‍याउन एनप्याब्सन र प्याब्सनसँग सहकार्य गरेर यो योजना ल्याएको एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए । 

यो सहकार्यले विद्यार्थीहरुलाई इ–लर्निङमा सहयोग पुर्‍याउने एनप्याब्सन र प्याब्सन दुवै संस्थाले बताएका छन् । भौतिक पठनपाठन अनिश्चित भएकाले अनलाइनबाट अध्ययन अध्यापनमा विद्यार्थी र शिक्षक शिक्षिकालाई सहयोग पुर्‍याउने एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । 
यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक÷शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्नेछन् । यो प्याकेज चलाउने सीमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।