पुँजीबजार विकासका लागि पूर्णस्वचालित प्रणालीका त्रुटी कसरी सुधार्ने, ध्रुव अधिकारीको विचार


२० कात्तिक २०७५, नेपाली पुँजीबजारमा प्रविधिका दृष्टिले एउटा महत्वपूर्ण दिन । पुँजीबजारका सरोकारवालाहरुको लामो प्रतीक्षापछि नेपालमा पूर्णस्वचालित प्रणालीमार्फत धितोपत्र कारोबार गर्नेतर्फ कदम अगाडि बढाएको महत्वपूर्ण घोषणा सोही दिन भएको थियो । 

सुरुका केही दिन यस प्रविधिलाई लिएर सरोकारवालाहरुबीच अन्योलसँगै एकअर्कालाई दोषारोपण पनि चल्यो । भर्खरै प्रयोगमा ल्याइएको प्रविधि भएकाले पनि प्रयोगकर्ता र अन्य सरोकारवालाहरुले त्यससँग अभ्यस्त हुन सकेका थिएनन्, जुन स्वाभाविक हो । यसका बावजुद २०७५ कात्तिकबाट संचालनमा आएको उक्त प्रविधि समयसापेक्ष र लगानीकर्तामैत्री नै छ भन्ने ठाँउ केही घटना तथा हालको व्यवस्थाले दिँदैन ।

Sipradee
Sanima Bank
TVS

किनकि, नयाँ प्रविधि अवलम्बन गरेपछि पहिलेको तुलनामा अझ बढी सुविधा त्यसबाट अपेक्षित हुने भएपनि त्यसअघि प्रचलनमा रहेको अर्धस्वचालित प्रविधिले दिएका केही न्यूनतम सुविधा पनि अद्यावधिक प्रविधिबाट लगानीकर्ताले पाएनन् । जस्तै – कारोबार समयमा वेबसाइटमार्फत लाइभ कारोबार र मार्केट डेप्थ हेर्न पाउने । यो प्रविधि लागू भएपछि केही दिन लगानीकर्ता मात्र नभएर धितोपत्र दलालहरु समेतका सरोकारवालाहरु यो सुविधाबाट वञ्चित भए । यो नयाँ प्रविधिमा सुधार अपरिहार्यताको एउटा उदाहरण हो । 

अधिकांश सरोकारवालाहरुबीच स्वीकार्य भएर सम्पूर्ण पाटोको जाँचमा खरो उत्रिन सकेपछि मात्र अपनाइएको प्रविधि सुहाउने प्रणाली (सिस्टम) र  व्यवस्था विकास गरेर प्रयोगमा ल्याउनुपर्छ । अन्यथा प्रविधिमा कमजोरी  हुँदाहुँदै त्यसैमा आधारित प्रणालीको विकास तथा लागू गरिए त्यो प्रत्युत्पादक हुन जान्छ । र, त्यसले यस्तो प्रणाली लागूको निर्णय गर्ने संस्थाका सम्बन्धित व्यक्तिको छविसमेत धुमिल पार्न सक्छ । यसकारण यसतर्फ पनि निर्णयकर्ताले समयमा नै ध्यान दिनुपर्छ ।

प्रविधि, प्रणाली र व्यवस्था सरोकारवालाको अधिकतम सुविधामा आधारित हुनुपर्छ । त्यसले सबैलाई समान रुपले समेट्न सक्नुपर्छ । तर पछिल्ला दृष्टान्तहरु हेर्दा विद्यमान प्रविधि, प्रणाली र व्यवस्थाले सबैलाई एकनाशले सेवा दिएको देखिँदैन । 

विद्यमान प्रविधि र प्रणालीका समस्या

१) कारोबार समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट नचल्ने, प्रयोगकर्ता अलि बढी हुँदा कारोबारको डाटा, मार्केट डेप्थ आदि सूचनाबाट लगानीकर्ता बन्चित हुने जस्ता समस्या अहिलेको प्रणालीमा छन्। यो अवस्था रहिरहे एक त लगानीकर्ताबीच निराशा र आक्रोश दुवै बढ्छ भने अर्को, बजार घट्ने बेला सूचनाबाट बञ्चित हुँदा लगानी रकममा ह्रास आएको दोष एवं क्षतिपूर्ति दाबीको कुरा पनि उठ्न सक्छ ।

२) पछिल्लोपटक लकडाउनयता नै केही धितोपत्र दलाल र तीमार्फत् अनलाइन लग इन सुविधा लिएका लगानीकर्ताहरु केही दिनसम्मै कारोबारबाट बञ्चित भए । आजको युगमा प्रविधिभित्रको साधारण गडबडीले धितोपत्र दलालहरु कारोबारबाट बञ्चित हुनु भनेको लज्जाको विषय हो । अझ समाचारमा आएअनुसार यो प्रविधि विकास गर्नेको प्रष्टीकरण हेर्दा यो प्रविधिमा हुनुपर्ने न्यूनतम आन्तरिक नियन्त्रण प्रणाली पनि चुस्तदुरुस्त नभएको हो कि भन्ने प्रश्न जन्माउँछ । 

किनभने उक्त घटनापछि आएको सम्बन्धित व्यक्तिको गैरजिम्मेवार भनाइ आएको थियो, जसअनुसार सिस्टममा डिम्याट खाता नम्बर (बिओआईडी) लेखिने स्पेसमा अंकको ठाँउमा अक्षर र विशेष क्यारेक्टर प्रविष्ट हुँदा धितोपत्र दलालहरु त्यसदिन कारोबारबाट बन्चित हुनुपरेको हो । कुनै पनि सफ्टवेयरमा विभिन्न इनपुट तथा एप्लिकेसन कन्ट्रोलहरु लागू गरिएको हुन्छ । माथिको घटनाले यस प्रविधिमा हुनुपर्ने न्यूनतम इनपुट कन्ट्रोल नभएको पो हो कि भन्ने संशय बढाउँछ ।

३) लामो समयपछि हाल धितोपत्र बजार खुल्दा लकडाउनअघिको कारोबार प्रणाली र व्यवस्थामा केही परिवर्तन गरिएको छ । जस्तै, खातामा नभएको धितोपत्र कारोबार – ‘सर्ट सेल’ गर्न, बन्धक रखिएको धितोपत्र फुकुवा नभएसम्म कारोबार गर्न वा फुकुवा भएको केही दिनसम्म पनि बिक्री गर्न, एउटा डिम्याट खाता एकभन्दा बढी ब्रोकरकहाँ अनुबन्ध गरी कारोबार गर्न इत्यादि नमिल्ने बनाइएको छ । साथै, डिम्याट खातामा भएको सेयर पनि टिएमएसको डीपी होल्डिङमा नदेखाउने आदि । 

प्रणाली र व्यवस्थामा परिवर्तन विद्यमान विकृतिमा कमी ल्याउन वा हटाउन लागू गरिएको हो भन्नेमा दुई मत छैन । तर, प्रविधि यस प्रणाली र व्यवस्थामा खरो उत्रिन सक्छ सक्दैन भन्ने कुरामा थप अध्ययन हुनुपर्ने देखिन्छ । केही गरी यो प्रविधि प्रणाली र व्यवस्थासँग तालमेल गर्न सक्दैन भने परिमार्जन हुन आवश्यक छ । जस्तै, हालको व्यवस्थाले केही गरी हुनुपर्ने राफसाफ नभएकाले सजायस्वरुप केही कार्यदिनका लागि करोबार बन्द भएमा एक डिम्याट खाता एउटा ब्रोकरकहाँ मात्र अनुबन्ध भएकाले लगानीकर्ता नै मर्कामा पर्ने देखिन्छ । बन्द अवधिमा कारोबार गर्न नपाउँदा त्यस दलालबाट कारोबार गर्ने सयौं लगानीकर्तालाई आर्थिक क्षति पनि हुन सक्छ ।

हालको व्यवस्थामा हरेक दिनको बेलुका ५ देखि ६ बजेबीच नेप्सेको कारोबार संयन्त्र नेप्से अनलाइन ट्रेडिङ सिस्टम र कारोबारलाई अनुबन्ध गरिएको लगानीकर्ताको डिम्याट खाता सिंक्रोनाइज गरिन्छ । सोही आधारमा अर्को दिन कारोबार गर्न मिल्छ । तर, यसरी सिंक्रोनाइज कारोबार गर्न मिल्ने सेयर (फ्रि ब्यालेन्स) पनि सिंक्रोनाइज गर्दा नेप्सेको कारोबार संयन्त्रमा नदेखाएर फोन वा इमेलमार्फत गर्न लगाई कारोबार गर्नु परेको घटनाका उदाहरण धेरै लगानीकर्ताहरुसँग देखिइसकेको छ । 

खासमा यस्तो सिक्रोनाइज रियल टाइममा हुनुपर्छ । तर, सिंक्रोनाइजमा यस किसिमको समस्या पर्न गए लगानीकर्ताले कहाँ कसलाई भनेर म्यानुअल्ली नै खातामा ल्याउन सक्ने भन्ने सूचना नै जारी गरेको छ । यस्तो सूचना नहुँदा प्रणाली र व्यवस्थाले सबैलाई एकैनासले सेवा दिएको ठहर्दैन । र, यसरी म्यानुअल्ली नै खाता ल्याउनुपर्ने अवस्था आयो भने प्रविधिमा ढुक्कसँग भरपर्ने अवस्था रहँदैन । 

उदाहरणका लागि, मानौं तीनजना लगानीकर्ताले उही सेयर बेच्ने उद्देश्यले एकै दिन फुकुवा गरे र अर्को दिन कारोबार गर्दा एउटाको नेप्से अनलाइन ट्रेडिङ  सिस्टममा देखियो र कारोबार गर्‍यो, अर्काको देखिएन र फोनमार्फत म्यानुअल्ली नै खातामा ल्याई कारोबार गर्‍यो तर तेस्रो व्यक्तिले सो दिन केही गर्न सकेन र अर्को दिन उक्त कम्पनीको सेयर मूल्यमा भारी गिरावट आयो भने त्यसबाट पुगेको क्षतिको जिम्मा कसले लिने ? के कारोबार संचालन गर्ने वा नियमक निकायले यस्तो घटनाबाट सृजित क्षतिपूर्ति दाबीका लागि यस्तो किसिमको व्यवस्था लागू गर्ने निर्णय गर्दा सोचेको होला त ? 

हाल बजार बढ्ने क्रममा छ । यस्तोमा बेच्न नमिल्दा भोलिपल्ट उस्तै मूल्य वा बढी मूल्य पाएको भएर यस्तो कुरा सुनिएको छैन । तर, बजार घट्दा नि यस्तै कठिनाइको सामना लगानीकर्ताले गर्नुपर्‍यो भने त्यसबेलाको आक्रोश र क्षतिपूर्ति दाबी सायद सोचेभन्दा ठूलो हुनेछ । 
यी घटना हेर्दा केही लगानीकर्ताले शंका गरेजस्तो विशेष पहुँच भएका लगानीकर्ताले धितोबन्धक भएको धितोपत्रलाई फुकुवा नगरी बिक्री गर्न सके भन्ने बजारको कुरालाई थप पुष्टि गर्छ । किनकि प्रविधि, प्रणाली र व्यवस्था चुस्त दुरुस्त भएको ठाँउमा निर्णयात्मक काम गर्न सक्ने ठाउँ हुनु पनि एउटा ठूलो कमजोरी हो । 

बन्धक भएको धितोपत्र फुकुवा नगरी बिक्री भए नभएको सीडीएससीमा फुकुवा समय र सो धितोपत्रको कारोबार समयको सिस्टम अडिटबाट नियामक निकायले अध्ययन गर्दा पनि स्पष्ट हुन्छ । यसकारण केही गरी यस्तो कार्य भएको भए कसुर गर्ने र त्यसमा सहयोग गर्ने सबैलाई सजायको व्यवस्था समेत नियामकले गर्नुपर्छ । 
    
जसरी घरजग्गा कारोबारमा पनि मालपोत कार्यालयले खरिद बिक्री करार (बैना) धितो फुकुवा भएपछि मात्र गर्नुपर्छ भन्दैन । जग्गाको खरिद बिक्री करार धितो बन्धकको अवस्थामा पनि कानूनसम्मत गर्न सकिन्छ । तर, नामसारी चाहिँ फुकुवा भएपश्चात मात्र गर्ने गरिन्छ । त्यस्तै, सेयर पनि करोबार हुँदा खरिद बिक्री करार भएको हो र राफसाफ हुँदा मात्र नामसारी गरिने भएकाले राफसाफको बेला मात्र सेयर धितो फुकुवा भएको हुनुपर्ने व्यवस्था भएमा सबैलाई सहयोगी हुनेछ । 

समस्या सुल्झाउने उपायहरु

  • कारोबार समयमा नेप्सेको वेबसाइट नचल्ने, प्रयोगकर्ता बढ्दा विभिन्न सूचनाबाट लगानीकर्ता बन्चित हुने जस्ता समस्या समाधानका लागि नेप्सेले सरभर क्लस्टरिङ गर्ने वा धितोपत्र दलाल तथा नेप्सेको  क्षमता अभिवृद्धि गर्नुपर्छ । विज्ञहरुसँग यसको समाधानमा अन्य उपाय र सुझावहरु पनि हुन सक्छन् ।
  • प्रविधि लगानीकर्तामैत्री भए मात्र लगानीकर्ता प्रविधिमैत्री भएनन् भन्न मिल्छ । अन्यथा लगानीकर्ता प्रविधिमैत्री भएन भन्नु कारोबार संचालकले आफ्नो कमजोरी लुकाउन खोज्नु हो । आजको युगमा प्रविधिमार्फत् काम गर्ने हो भने प्रविधिमा लगानी बढाउनुपर्छ र समयअनुसार त्यसलाई अद्यावधिक गर्नै पर्छ । प्रविधि, प्रणाली र व्यवस्थासँगै नियामक निकायले सरोकारवालाहरुसँग सोको छलफल गरेर समयमै त्यसका कमी कमजोरी हल गर्नतर्फ लाग्नु पर्छ । साथै, नियामकले प्रणाली तथा कारोबार प्रक्रियाको स्वतन्त्र जाँच तथा अडिट लगायतका विषयमा कदम चाल्नुपर्छ । अन्यथा इनपुट नियन्त्रण वा सक्रिय नहुँदा केही ब्रोकरले कारोबार गर्न पाएनन्, भोलि कतैबाट सिस्टम ह्याक भएर केही दिन सम्पूर्ण कारोबार हुन सकेन भने लगानीकर्ताले सायदै क्षमा गर्छन् ।
  • नेप्सेले खातामा नभएको सेयर बिक्री नहोस् र सर्ट सेल गर्न नसकियोस् भनेर लकडाउनपछि नयाँ व्यवस्था लागू गरेको छ । तथापि, यसबीच समयमा डीआइएसरइडीआइएस जारी नगरेर सेयर राफसाफ नभएको (क्लोज आउट) धेरै उदाहरण देखिन्छ । यसका लागि नेप्से वा सीडीएससीले सेयर बिक्री आदेश कारोबारमा मेल खाँदा नै स्वतः इडीआइएस जारी हुने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । यसो गर्दा खातामा सेयर भएर पनि मूल्य वृद्धिका कारण डीआइएसरइडीआइएस जारी नगरी क्लोज आउटमा परि स्वच्छ कारोबार गर्न नखोज्ने लगानीकर्तालाई नियन्त्रण गर्ने प्रणाली विकास हुनेछ । 
  • हालको प्रणालीमा बिक्री आदेशमा सर्ट सेल अप्सन भन्ने दिएर बिक्री गर्न दिनसक्ने व्यवस्था पनि लागू गर्न सकिन्छ । यस्तो अप्सनले सेयर खरिदपछि राफसाफको अवधि (हाल ३ दिन) भित्र लगानीकर्ताले आफैं जोखिम लिएर खातामा सेयर नहुँदा पनि बिक्री आदेश दिन सक्छ । 
  • सर्ट सेल लागू गरिएको अवस्थामा राफसाफ नभएको/क्लोज आउट परेको दलालबाट नियमअनुसार जरिवाना संकलन गरी सेयर नपाउने व्यक्तिको बैंक खातामा आफैंले रकम हालिदिने व्यवस्था गर्नुपर्छ । हाल ब्रोकरहरुबीच आपसमा पछि सेयर खरिद बिक्री गर्ने नियममा नै नभएको प्रचलनको अन्त्य गरे सायद सेयर राफसाफ नहुने (क्लोज आउट) समस्यामा नयाँ आयाम देखिनेछ । 
  • धितोपत्रको दोस्रो बजार कारोबार पुँजीपति अर्थतन्त्रको एउटा अंग भएकाले यससम्बन्धी निर्णय गर्दा उदारवाद वा समाजवादको मानसिकताबाट निर्णय गरेर काम गर्न खोजियो भने भविष्यमा दुर्घटना ल्याउन सक्छ । जति ठूलो जोखिम त्यति नै बढी नाफा भन्ने पुँजीपति अर्थतन्त्रको मन्त्र लिएर काम गरेको पाइन्छ । त्यसैले कोही राफसाफको जोखिम लिएर सर्ट सेल गर्न खोज्छ भने नियम बनाएर गर्न दिनुपर्छ । विभिन्न देशमा अन्तरदिन (इन्ट्रा डे) कारोबार गर्न मिल्छ, यसैले नेपालमा सेल किन रोक्ने ? बरु राफसाफ नभएको/क्लोज आउटमा परेको अवस्थामा २५% जरिवाना लगाउने व्यवस्था गर्दा फरक पर्दैन । धितोबन्धक भएको समेत कारोबार गर्न मिल्ने बनाउनु उचित हो । राफसाफ नभएमा जरिवानाको व्यवस्था हुनुका साथै त्यसको जोखिम लगानीकर्ताको नै हुन्छ । 
  • नियमकले सबैलाई सम्मान अवसर दिनेगरी एपीआई पोलिसी खुला गरी धितोपत्रको दोस्रो बजारमा नयाँ युग शुरु गर्न सक्नेछ । यसरी एपीआई पोलिसी खुला गर्दा सक्षम तथा प्रविधिमा लगानी गर्न खोज्ने धितोपत्र दलालहरुले ब्लुमबर्ग, रोयटर्स जस्ता अन्तर्राष्ट्रिय संघसस्थाहरुसँग सहकार्य गरेर वा खुला प्रतिस्पर्धाले नेपाली सफ्टवेयर विकासकर्ताहरुबाटै अन्तर्राष्ट्रियस्तरको ट्रेड म्यानेज्मेन्ट सिस्टम विकास गर्न सक्नेछन् । 
  • हालको स्वचालित सेयर कारोबार प्रणाली ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम’ अन्तर्गत विद्यमान म्याचिङ इन्जिन  प्रयोगमा राखेर एपीआई पोलिसीमार्फत ट्रेड म्यानेज्मेन्ट सिस्टमको विकास गर्न दिइ नियमकले धितोपत्र बजारमा नयाँ युगमा लैजान सक्छ । र, हाल ट्रेड म्यानेजमेन्ट सिस्टममा आवश्यक विकासको वातावरण बनाउन सक्दा पनि समग्र धितोपत्र दोस्रो बजारको विकास हुने देखिन्छ ।  
  • केही गरी खातामा भएको सेयर मात्र कारोबार गर्न दिने हो भने नेप्सेको अनलाइन कारोबार प्रणाली र सीडीएससीको प्रणाली रियल टाइममा सिंक्रोनाइज हुने व्यवस्था मिलाउनु पर्छ । साथै, बिना अवरोध लगानीकर्ता आकर्षित हुने प्रविधि, प्रणाली र व्यवस्थाको विकास गर्नैपर्छ । 
  • नियामकले नेप्से, धितोपत्र दलाल र सीडीएससी लगायतलाई प्रणालीसँग सम्बन्धित समस्याको लगबुक राख्न र सोको मासिक रिपोर्ट आफूलाई बुझाउने व्यवस्था गर्न निर्देशन दिन पनि आवश्यक देखिन्छ । साथै, नियामकले नेप्से, धितोपत्र दलाल र सीडीएससी आदिको स्वतन्त्र अनुगमन समेत गर्नुपर्छ । महालेखा परीक्षकको कार्यलयको प्राविधिक टिमको सहयोगमा वा आफ्नै विज्ञ समूह गठन गरेर सिस्टम अडिटको प्रबन्ध गर्न सकियो भने लगानीकर्तामाझ यसले राम्रो सन्देश जानेछ ।

नेपालको धितोपत्र बजारमा विकास हुन बाँकी क्षेत्र तथा प्लेयरहरु थुप्रै छन् । नियामक निकाय र बजारको विकासमा संलग्न धितोपत्र बोर्ड, नेप्से र सीडीएससीको उच्च व्यवस्थापनले लगानीमैत्री प्राविधिक संयन्त्र तथा सहज कार्यप्रणाली विकास तथा अबलम्बनमार्फत यस क्षेत्रमा नयाँ आयाम कोर्नसक्ने बाटाहरु प्रशस्त छन् ।

(लेखक चार्टर्ड एकाउन्टेन्ट हुन् )


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell